आइतबार, १ नोभेम्बर, २०२६
15:15 | २१:००

बेलायतमा रास्वपा नेता झाले भने- एनआरएन नागरिकताको टुंगो तीन महिनाभित्रै

नेपाली लिङ्क नोभेम्बर १, २०२६

लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा सांसद मनिष झाले गैरआवासीय नेपालीहरुको नागरिकतासम्बन्धि माग अबको तीन महिनाभित्र सम्बोधन हुने बताएका छन्।

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेले आइतबार मिडल्यान्डको वुल्भरह्याम्पटनमा गरेको अन्तरक्रियामा नेता झाले संसदको आगामी अधिवेशनभित्रै एनआरएनए नागरिकताको मुद्धा टुंगो लाग्ने आश्वासन दिए । परराष्ट्र मन्त्रालयमा अहिले मस्यौदा बनिरहेको र कानून बन्ने प्रक्रियामा रहेको उनको भनाइ थियो।

एनआरएनहरुको मागमा रास्वपाबाट पनि धोका हुन्छ कि भन्ने अन्त्रक्रियाका सहभागीहरुको जिज्ञासामा आश्वस्त पार्दै उनले भने, ‘विगतमा अरु पार्टीहरुले के गरे, त्यो हामी जिम्मा लिंदैनौं । तर रास्वपा र हाम्रो नेतृत्व तपाईंहरुका एजेन्डामा सकारात्मक र स्पष्ट छौं । तपाईंहरुलाई धोका दिएर छोडेर भाग्दैनौं ।’

गैरआवासीय नेपालीहरुका लागि शेयरबजारमा पहुंच बढाउने, राष्ट्रिय परिचयपत्रबिना बैंक खाता खोल्न मिल्नेजस्ता आधारभूत कामहरु भइसकेको भन्दै नेता झाले एनआरएनए नागरिकताका मुद्धामा सरकारले काम गरिरहेको जानकारी र प्रगति भइरहेको जानकारी दिए । अब राजनीतिक शक्ति केन्द्र धाएर ज्ञापनपत्र बुझाउनुभन्दा सरोकारवाला निकायहरुलाई सुसूचित गर्नेतर्फ ध्यान दिन उनले एनआरएनएलाई सुझाव दिए ।

गैरआवासीय नेपालीहरु देशको विकास र समृद्धिका लागि महत्वपूर्ण आधार हुन सक्ने भन्दै उनले उनीहरुको लागि उचित प्लेटफर्म प्रदान गर्नुपर्नेमा आफूहरु सचेत रहेको बताए ।

रास्वपा सरकारको पाँच वर्षे कार्यकालको दश प्रतिशत समय पनि पूरा नभएको भन्दै उनले सुशासनको जगमा बसाल्ने काम शुरु भएको तर पूरा उपलब्धि हासिल हुन केही समय लाग्ने बताए ।हालै सरकारबाट सिफारिश राजदूतहरु अस्वीकृत गरिदिएको प्रसंग उल्लेख गर्दै उनले सरकारले गरेका सबै निर्णय सत्तारुढ दलका सांसदहरुले आँखा चिम्लेर स्वीकार्ने परम्परा रास्वपाले परिवर्तन गरेको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष डा हेमराज शर्माले नागरिकता निरन्तरता नै गैरआवासीय नेपालीहरुको प्रमुख एजेन्डा रहेको बताउंदै लामो समयदेखि थाती यो मुद्धामा व्यवहारिक समाधान खोजिनुपर्ने धारणा राखे ।

‘वंशजको नागरिकता निरन्तरताका लागि संविधान संशोधन नै आवश्यक छ भने त्यसलाई प्राथमिकतामा राखेर संशोधनको प्रक्रियामा लैजाऔं’, अध्यक्ष डा शर्माले भने, ‘तर संविधानले व्यवस्था गरिसकेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र सम्पत्तिको अधिकारको सुनिश्चितता तत्काल हुनुपर्छ भन्ने हाम्रो माग छ ।’

एनआरएनका मुद्धामा राजनीतिक तहबाट हालसम्म आश्वासन मात्र पाइएको भन्दै उनले भने विदेशका नेपालीका मागहरुमा नेता र पार्टीहरु स्पष्ट तथा इमान्दार बन्नुपर्ने बताए ।

प्रवास नेपाली सम्पर्क विभाग यूकेका सभापति पवन शर्माले गैरआवासीय नेपालीका एजेन्डा नेपालका नीति निर्माताहरुसम्म पुर्याउने उद्धेश्यले अन्तरक्रिया आयोजना गरिएको बताए।

गैरआवासीय नेपालीका मागहरुप्रति स्पष्ट र उदार रुपमा प्रस्तुत हुंदै आएको रास्वपाकै नेतृत्वमा नागरिकतालगायतका सबै मुद्धाको समाधान निस्किने विश्वास दिलाए ।

रास्वपा यूकेका उपसभापति कोश्लेश्वर ढकालले स्वागत मन्तव्य राख्दै बेलायतका नेपालीका चासो र सरोकारका मुद्धा पार्टीको केन्द्रीय नेतृत्वसम्म सञ्चार गर्न आफूहरु प्रयासरत रहेको जनाए ।

कार्यक्रममा कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति यूके सल्लाहकार दयानिधि सापकोटा, एमालेनिकट प्रवासी नेपाली मञ्च यूके अध्यक्ष पशुपति पोखरेल, नेकपानिकट जनप्रगतिशिल मञ्चका नेता रणबहादुर खाती क्षेत्री, रास्वपा यूके प्रशिक्षण विभाग प्रमुख राजु कंडेल, सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष शिव पराजुली, शान्ति नेपाली समाज बेलायतका उपाध्यक्ष निशेन्तमान बज्राचार्यलगायतले वंशजको नागरिकता निरन्तरता, सम्पतिको अधिकार, विदेशबाटै मत हाल्न पाउने अधिकारलगायतका गैरआवासीय नेपालीका चासोका विविध विषयमा जिज्ञासाहरु राखेका थिए।

मिडल्यान्डभरबाट उल्लेख्य संख्याका नेपालीहरु सहभागी कार्यक्रमको सञ्चालन रास्वपा यूके महामन्त्री कृष्ण लुईंटेलले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू