गैरआवासीय नेपाली नागरिकता सम्बन्धि कानुनी अडचन हटाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता


काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि कानुनी अडचन हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले उपलब्ध गराएको डीएनए किट हस्तान्तरण समारोहमा बोल्दै उनले एनआरएन नागरिकता सम्बन्धि कानुनी अडचन हटाउने प्रतिबद्धता दोहोराए ।
‘मैंले यसअघि अष्ट्रेलियामा आयोजित कार्यक्रममा पनि चालु आर्थिक बर्षभित्र एनआरएन नागरिकतामा देखिएको कानुनी वाधा हटाउने र आर्थिक बर्षभित्र वा अगावै पनि समस्या सुल्झाउने बताइसकेको छु । यो काममा हामी सबै लागिरहेका छौं,’ उनले अगाडि भने,‘सरकारमा आइसकेपछि हामीले एनआरएनसंग सम्बन्धित विषयलाई रणनीतिक महत्वका साथ हेरेका छौं । विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्नुपर्छ भनेर गम्भीर भएर काम गरिरहेका छौं । एनआरएन नागरिकता लिइसकेकाहरुलाई पनि आधारभूत अधिकारहरु प्रयोग गर्न असहज नहोस भनेर मिहिन ढंगले काम भइरहेको छ । यी सबै कामका लागि एक बर्षको समय तोकेका हौं ।
उनले सरकारको मूल मुद्दा नै आर्थिक समृद्धि भएकाले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न कानुनी बाधा हटाउने प्रयासमा कुनै कमी नहुने प्रतिबद्धता जनाए ।
परराष्ट्र सचिव अमृत राईले गैरआवासीय नेपाली नागरिकताको व्यवहारिक प्रयोगमा देखिएको समस्याहरुबारे सरकार जानकार रहेको जनाउंदै केही नेपाल ऐन संशोधनमार्फत समस्याको समाधान गर्ने प्रयास भैरहेको बताए । ‘नागरिकताका सन्दर्भमा हामी आफैंलाई छटपटी छ । करिब सात हजार पाँचसय जनाले एनआरएन नागरिकता लिनु भएको छ तर पछि एनआरएनए कार्डमै फर्किनुपर्यो । सरकारले इस्यू गरिसकेको विषयबाट पछाडि फर्किनुपर्दा असहज भएको छ । अब मन्त्रीज्यूबाट नागरिकताको विषय टुंगोमा पुर्याउने प्रयास भइरहेको छ । कानुनी आधार तयार गर्ने प्रयास जारी छ,” सचिव राईले भने।
कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले विदेशमा भएका नेपालीहरु नेपालको समृद्धि र विकासमा निरन्तर क्रियाशील रहेको बताए ।
एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप एनआरएन नागरिकता तत्काल कार्यान्वयन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे। उनले संसारभरि रहेका नेपालीहरु नेपाल र नेपालीको सुखदुखमा सधैँ साथमा रहेको दोहोराए ।
सो अवसरमा लन्डनस्थित युमी इन्टरन्याशनल लिमिटेडका निर्देशक उत्तम नेपालले प्रधानमंत्री उद्धार कोषमा रु एक करोड जम्मा गरेको जनाउंदै प्रतिलिपि चेक मन्त्री खनाललाई प्रदान गरेका थिए।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्म राज उप्रेती तथा एनआरएन अभियन्ताहरुको उपस्थिति थियो।



