मंगलबार, २० अक्टोबर, २०२६
19:26 | ००:११

बेलायतका विभिन्न शहरमा सामूहिक टीका कार्यक्रम तय

नेपाली लिङ्क अक्टोबर २०, २०२६

लन्डन । बुधबार बडा दसैँको १० औं दिन अर्थात विजया दशमी । मान्यजनबाट टीका र आशीर्वाद थाप्ने यस महत्वपूर्ण दिनमा तपाईं बेलायतमा एक्लै हुनुहुन्छ? दसैँमा टीका लगाउने मान्यजन नहुँदा कसरी दसैँ मनाउने भनेर सोचिरहनुभएको छ? चिन्ता नगर्नुहोस्, बेलायतका विभिन्न ठाउँमा नेपाली समुदायले सामूहिक टीका कार्यक्रम आयोजना गर्दैछन्। तपाईं पनि नजिकैको मन्दिर पुगेर टीका लगाउन, जमरा ग्रहण गर्न र आशीर्वाद लिन सक्नुहुन्छ।

त्यति मात्र होइन, तपाईं आफ्नै घरमा परिवार र आफन्तसँग बसेर दसैँ मनाउने तयारीमा हुनुहुन्छ, तर जमरा चाहिएको छ वा मन्दिरमा पूजा गरिएको अक्षता ल्याएर घरमै टीका लगाउन चाहनुहुन्छ भने पनि यी मन्दिरहरूमा पुगेर जमरा र अक्षता लैजान सक्नुहुन्छ।

कुन–कुन ठाउँका कुन–कुन मन्दिरमा कति बजेदेखि कति बजेसम्म सामूहिक टीका कार्यक्रम हुँदैछ? साथै, घरमै टीका लगाउन चाहनेहरूले जमरा र पूजाको अक्षता कहाँबाट लैजान सक्नुहुन्छ? यहां केही जानकारी प्रस्तुत छ ।

लन्डनको प्लमस्टेडस्थित पशुपतिनाथ मन्दिर बडा दसैँको दिन बिहान ७ बजेदेखि खुला रहनेछ। बिहान ८ः४५ बजे टीकाको शुभसाइत छ। त्यसपछि दिउँसो १ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म पण्डितहरूबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सकिनेछ।

धेरै नेपालीको बसोबास रहेको अल्डरसटमा शिव कल्चरल सेन्टरद्वारा सञ्चालित शिव मन्दिरमा बिहान ८ बजेदेखि जमरा वितरण सुरु हुनेछ। शुभसाइतदेखि सुरु हुने टीका कार्यक्रम बेलुका ८ बजेसम्म जारी रहनेछ।

मिडल्यान्डको बर्मिङ्घमस्थित पशुपतिनाथ मन्दिरमा बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सकिनेछ। त्यस्तै, स्कटल्यान्डको ग्लास्गोस्थित पशुपतिनाथ मन्दिरमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म टीका तथा जमरा वितरण गरिनेछ।

यी मन्दिरहरूमा टीका लगाउन र आशीर्वाद लिन मात्र होइन, घरमै दसैँ मनाउने तयारीमा हुनुहुन्छ भने जमरा तथा पूजाको अक्षता लिन पनि जान सक्नुहुनेछ।

बेलायतमा भर्खर आएका, परिवारजनबाट टाढा वा दसैँमा एक्लै भएका नेपालीका लागि यस्ता सामूहिक कार्यक्रम आफ्नो समुदायसँग जोडिने र दसैँको खुसी साटासाट गर्ने अवसर पनि हुन्।

यहाँ उल्लेखित स्थानहरू प्रतिनिधिमूलक हुन्। बेलायतका अन्य क्षेत्रमा पनि सामूहिक टीका कार्यक्रम आयोजना हुन सक्छन्।

त्यसैले, दसैँको दिन एक्लै परिन्छ कि भनेर चिन्ता नगर्नुहोस्। नजिकैको नेपाली मन्दिरमा पुग्नुहोस्, टीका लगाउनुहोस्, जमरा ग्रहण गर्नुहोस् र आशीर्वादसँगै दसैँको खुसी बाँड्नुहोस्। नेपाली समुदायका अन्य सदस्यहरूसँग मिलेर सामूहिक रूपमा दसैँ मनाउनुहोस् र विदेशमा पनि आफ्नो संस्कृति, परम्परा र आत्मीयतालाई जीवन्त राख्नुहोस्।

तपाईंहरू सबैजनामा यस वर्षको विजया दशमीको हार्दिक मंगलमय शुभकामना!

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू