सोमबार, १९ अक्टोबर, २०२६
15:51 | २०:३६

हार्लोमा सांस्कृतिक कार्यक्रमका साथ बडा दशैं

नेपाली लिङ्क अक्टोबर १९, २०२६

लन्डन – बेलायतस्थित हार्लो नेपाली कम्युनिटीले आइतबार (१८ अक्टोबर २०२६) सफोक/एसेक्स नजिकै रहेको सब्रिजवर्थ कम्युनिटी हलमा सांस्कृतिक कार्यक्रमका साथ बडा दशैं मनाएको छ।

हार्लो तथा वरपरका क्षेत्रबाट भेला भएका नेपाली परिवार तथा समुदायका सदस्यहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुति, समुदायको ऐक्यबद्धता र स्थानीय जनप्रतिनिधिसँगको अन्तर्क्रिया समेटिएको थियो।

सुनिता केसीले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व हार्लो नेपाली कम्युनिटीका अध्यक्ष प्रमोद भण्डारीले गरेका थिए ।

कार्यक्रम सुरुमा स्थानीय समुदायका बालबालिका तथा युवाहरूले हार्लोबाट प्रतिनिधित्व गर्ने सांसद क्रिस भिन्ससमक्ष युकेमा शिक्षकहरूको सेवा-सुविधा, पारिश्रमिक र शिक्षक अभावका विषयमा आफ्ना चासो र चिन्ता व्यक्त गरेका थिए । युवाहरूले देशको भविष्य निर्माण गर्ने शिक्षकहरूको भूमिकाको कदर गर्दै उनीहरूलाई उचित सम्मान प्रदान गर्न सांसद भिन्सलाई आग्रह गरे।

राजनीतिमा आउनुअघि स्वयं शिक्षण पेशामै आबद्ध रहेका सांसद भिन्सले शिक्षकहरूले भोगिरहेका चुनौतीहरूबारे आफू पूर्ण रूपमा परिचित रहेको बताए । उनले युवा पुस्ताको चासो र चिन्तालाई सम्बोधन गर्न प्रधानमंत्री एन्डी बर्नहाम र लेबर सरकार गम्भीर रहेको पनि जनाए।

समारोहलाई सम्बोधन गर्दै ‘चिफ गेष्ट’ सांसद क्रिस भिन्सले हार्लोमा नेपाली समुदायको उपस्थिति फराकिलो बन्दै गएको र स्थानीय समाजमा सकारात्मक योगदान पुर्‍याइरहेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय समाजका लागि नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाली वासिन्दाका समस्या तथा चासोमा सधैँ सहयोग गर्न तत्पर रहेको जनाए ।

यसैगरी, जलवायु परिवर्तन र यसले पार्ने नकारात्मक असरहरूबारे बोल्दै सांसद भिन्सले नेपालजस्ता मुलुकमा जलवायुजन्य विपद्का कारण हुने क्षतिबारे ब्रिटिश संसद् तथा अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपालका बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सङ्कलन

यसै बीच, हार्लो नेपाली समाजले नेपालका बाढीपीडितहरूका लागि ५,००० पाउण्ड (करिब ८ लाख रुपैयाँभन्दा बढी) सहयोग सङ्कलन गरेको छ ।


हजारौँ माइल टाढा रहे तापनि विपद्को घडीमा जन्मभूमिलाई सहयोग गर्ने उद्देश्यले हार्लो तथा आसपासका नेपालीहरूले उक्त रकम सङ्कलन गरेका हुन्। समाजका अध्यक्ष प्रमोद भण्डारीले बाढीपीडितको सहयोगका लागि अहोरात्र खट्ने तथा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद ज्ञापन गरे । उनले समुदायको एकता, उदारता र सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै एकजुट भएर अघि बढ्न सबैलाई आग्रह गरे।

उत्सवमा स्थानीय नेपाली कलाकार, बालबालिका तथा युवाहरूले विविध सांस्कृतिक नृत्य तथा कला प्रदर्शन गरेका थिए। नेपालको समृद्ध बहुसांस्कृतिक पहिचान र परम्परा झल्किने प्रस्तुतिहरूले कार्यक्रम स्थललाई उत्सवमय बनाएको थियो।

परिवारको पुनर्मिलन, आशीर्वाद, सद्भाव र असत्यमाथि सत्यको विजयको सन्देश दिने चाड दशैंले विदेशमा बस्ने नेपाली समुदायमा आफ्ना परम्परा र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

हर्लो नेपाली कम्युनिटीले बेलायती समाजमा सक्रियसँगै घुलमिल हुँदै गर्दा नेपालको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

संयोजक, स्वयंसेवक, कलाकार, दाता तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै समापन गरिएको उक्त कार्यक्रमले बडादसैँको खुसी साट्नुका साथै नेपाली समुदायको संगठनात्मक शक्ति, सामाजिक उत्तरदायित्व र बेलायती समाजमा पुर्‍याएको सकारात्मक योगदानलाई पुन: उजागर गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू