नयाँ नेतृत्व चयन तयारीमा तमुधीं यूके, डिसेम्बर १२ मा अधिवेशन (निर्वाचन तालिका)

लन्डन- बेलायतस्थित नेपाली समुदायको प्रमुख संस्था तमुधीं यूके नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ। संस्थाको साधारणसभा तथा अधिवेशन आगामी १२ डिसेम्बरमा हुने भएको छ। अधिवेशनसँगै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरिएको छ।
निर्वाचन समिति प्रमुख एकेन्द्र गुरुङको नेतृत्वमा रहेको समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार ३ डिसेम्बरमा साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। ४ डिसेम्बरमा बिहान ११ बजेसम्म मतदाता नामावलीमाथि दाबीविरोध गर्न सकिनेछ भने ५ डिसेम्बरमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
५ डिसेम्बरमा बिहान १० बजे उम्मेदवारी मनोनयनपत्र दर्ता, दिउँसो १२ बजे उम्मेदवारको नामावली प्रकाशन र दिउँसो २ः३० बजे उम्मेदवारीमाथि दाबीविरोधको कार्यक्रम तय गरिएको छ। सोही दिन साँझ ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदानको कार्यक्रम भने १२ डिसेम्बरमा दिउँसो ४ बजे तय गरिएको छ।
निर्वाचन समितिमा प्रमुख एकेन्द्र गुरुङसहित लेफ्टिनेन्ट रिटायर्ड कृष्ण गुरुङ र धनबहादुर गुरुङ सदस्य छन्।
निर्वाचन समितिले विभिन्न पदका लागि उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ। अध्यक्ष पदका लागि २०० पाउन्ड तथा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका लागि १५० पाउन्ड शुल्क तोकिएको छ। त्यसैगरी, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र खेलकुद विभाग प्रमुखका लागि १०० पाउन्ड शुल्क निर्धारण गरिएको छ। अन्य सदस्यका लागि भने १० पाउन्ड शुल्क तोकिएको छ।
उम्मेदवार बन्न चाहने व्यक्तिले एक जना प्रस्तावक र एक जना समर्थकको हस्ताक्षरसहित मनोनयनपत्र बुझाउनुपर्नेछ। उम्मेदवारीसम्बन्धी फाराम दर्ता तथा फिर्ता गर्ने प्रक्रिया निर्वाचन समितिको सम्पर्क कार्यालयमा उपस्थित भएर पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ। निर्वाचनसम्बन्धी विवाद वा अस्पष्टता उत्पन्न भएमा निर्वाचन समितिको निर्णय अन्तिम हुने जनाइएको छ।
सन् २००० मा स्थापित तमुधीं यूकेमा हालसम्म अपवादबाहेक सहमतिमै नेतृत्व चयन हुँदै आएकाले यसपटक पनि सर्वसम्मत कार्यसमिति बन्ने अपेक्षा छ।
साधारणसभा तथा अधिवेशन १२ डिसेम्बरमा बिहान ११ बजे मिचेटस्थित तमुधिँ भवनमा आयोजना हुनेछ। अधिवेशन तथा निर्वाचनमा सहभागी भई संस्थालाई अझ सुदृढ र समृद्ध बनाउन योगदान दिन सम्पूर्ण सदस्यलाई आग्रह गरिएको छ।
वर्तमान अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल आगामी २७ डिसेम्बरमा आयोजना हुने तमुधीं यूकेको ल्होछार कार्यक्रमका अवसरमा औपचारिक रूपमा समापन हुनेछ। सोही अवसरमा आसन्न अधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ।




