बेलायत भ्रमणमा रास्वपा नेता झाको व्यस्त तालिका


लन्डन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद तथा प्रवास नेपाली सम्पर्क विभागका प्रमुख मनिष झा अक्टोबर ३० तारिख बेलायत आउने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग, बेलायतको निमन्त्रणामा उनको बेलायत भ्रमण तय भएको हो । नेपालको संसदमा बेलायत मामिला हेर्ने समितिको नेतृत्व गरिरहेका झा ६ नोभेम्बरमा फर्कनु अघि बेलायतमा उनका विभिन्न कार्यक्रम तय भएका छन् ।
बेलायतका राजनीतिज्ञसंग भेट, संसद भ्रमण, नेपाली समुदायमाझ अन्तरक्रिया, बेलायती विश्वविद्यालयमा भ्रमण आदि कार्यक्रम तय गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग, बेलायतका सभापति पवन शर्माले नेपालीलिंकलाई जानकारी दिएका छन्।
विभागले झाको उपस्थितिमा नोभेम्बर १ तारिख आइतबार एक अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
उलवीच कलेज हल, उलवीचमा बिहान ११ बजेदेखि हुने उक्त अन्तरक्रियामा वंशजको नेपाली नागरिकता, भूतपूर्व गोर्खाहरूका समस्या तथा प्रवासी नेपालीसँग सम्बन्धित अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।
उता, सोसाइटी अफ नेपलिज प्रोफेसनल्सले नेता झासंग ३१ अक्टोबर र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सले ३ नोभेम्बरमा नेपाली राजदूतावासमा अन्तरक्रिया राखेका छन् ।
झाले नेपाली समुदायसंग अन्तरक्रियाबाहेक बेलायती सांसद अलेक्स बेकरसहित अन्य राजनीतिज्ञहरुसंग भेटघाट समेत गर्ने भएका छन् ।



