सोमबार, १९ अक्टोबर, २०२६
21:52 | ०२:३७

मेरो बलि चढाएर दशैं मनाउने रे…

नेपाली लिङ्क अक्टोबर १९, २०२६

कवयित्री तारा पौडेल

आफ्ना देवीदेवता खुसी पार्न
आज मेरो बलि चढाउने रे
इष्टमित्र बोलाएर भोज खुवाउने रे
मलाई मारेर उनीहरू खुसी बांड्ने रे ।।

नौ महिना भए छ जन्मिएको पनि,
त्यो पनि जुम्ल्याहा दिदी भाइ हामी।
आमाको दूधले पुग्दैनथ्यो पेट भर्नलाई
पिठो घोलेर खुवाउँथे,
पालैपालो हामीलाई।
आफ्नै सन्तानसरह माया गर्थे,
समयको ख्याल गरी खाना दिन्थे।
त्यतिले मात्र कहां हो र
बोरैबोराको ओछ्यान बनाइ
न्यानो पारी राख्थे हामीलाई ।।

कहिलेकाहीं त
काखमा राखी सुम्सुमाउथे
हामी पनि उनीहरूसँगै लुटुपुटु हुन्थ्यौं
कति धेरै माया गर्थे
आफ्नै सन्तान बस्ने गुन्द्रीमा बसाउँथे,
हामी नबोले पनि बुझ्थ्ये हाम्रो भावना ।।

एक दिन कसैले लग्यो मेरी दिदीलाई
कहाँ गइन् भन्ने खबर भएन मलाई ।
मनभित्र निकै नरमाइलो लाग्यो,
दिदीबिनाको संसार सुनसान भयो ।।
थाहा पाएं
दिदीलाई बेचिदिएछन्,
पक्कै राम्रै घरमा पुगि होलिन्….।
किनकी हामीलाई हुर्काएका थिए
आफ्नै छोराछोरी सरी
आफ्नो गास काटेर,
खुवाउंथे हामीलाई सधैंभरी ।।

अब त म पनि ठूलो भएं
अरूले झैं घांस पात खान सक्ने।
दुई हप्ता भयो मिठो पिठो
खान पाएको छैन,
किन यस्तो भयो,
केही बुझ्न सकेको छैन ।।
खासखुस गर्दै कुरा गर्थे
मेरो शरीरतिर हेर्दै भन्थे
मासु राम्रो छ
तर
बोसो अलिक धेरै
मलाई लाग्यो,
मेरो स्वास्थ्यका लागि
सोच्दै थिए ।।

आज घरमा निकै चहलपहल थियो,
सधैं भन्दा फरक,
सधैं भन्दा विशेष
म पनि खुसी थिएं त्यो माहोल देखेर,
सबैको माया पाए थिए
ठूलो ताउलोमा पानी उमाल्दै थिए
घरका सबै जना यताउता भाग दौड गर्दै
सबैले मलाई पालैपालो उचाल्थे,
माया गरे झै गरी शरीर मुसार्थे।
कोही भन्थे,
राम्रो रहेछ।
कोही भन्थे,
मासु पनि राम्रै पर्छ।
मलाई के थाहा,
त्यो प्रशंसा मेरो शरीरको थिएन,
थियो त केबल मेरो मासुको।।

तर, मेरी आमाको मुहार चिन्तित थियो,
उनको आंखामा अनौठो पीडा।
मेरी आमाको
म पहिलो सन्तान त थिइन्,
बलिका लागि छानिएको
उनले एकै वर्षमा दुई, तीन, चार सन्तान जन्माउंथिइन्।
कोही वलि चढाइन्थे
त कोही कहिल्यै भेट नहुने गरी बेचिन्थे
न त मेरी आमा मलाई सम्झाउन सकिन्
न त मैले उनको भाव बुझ्न सकें।।

मलाई आफ्नै घरको आगनमा काटे
टुक्राटुक्रा पारी भाग लगाए,
सायद म अलि धेरै नै भएछु क्यारे,
मेरो मासु छिमेकीका घरसम्म पुरयाए।
मैले उनीहरुको
नियति बल्ल बुझें
मलाई मिठोपिठो खुवाउनुको सार बुझें ।।

गलत हो कि सही
थाहा छैन् मलाई
आज म बलि चढें
देवीको नाममा ।।
मेरो रगत बग्यो
धर्मको नाममा ।।

मलाई के थाहा थियो र
मेरै रगतले उनीहरूको चाड रङ्गिने छ भनेर ।।
मलाई के थाहा
मेरो मृत्युमा उनीहरूको खुसी फुल्ने छ भनेर।।
बरु मलाई बेचिदिएको भए हुन्थ्यो।
अरु कसैको हातबाट कटाइएको भए हुन्थ्यो,
आफ्नै घरमा पकाएर नखाएको भए हुन्थ्यो ।।

लन्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू