आइतबार, २५ अक्टोबर, २०२६
17:00 | २२:४५

विशेष सांस्कृतिक कार्यक्रमसहित बर्न्टओक नेपाली समाजले मनायो बडा दशैं

नेपाली लिङ्क अक्टोबर २५, २०२६

लन्डन— बर्न्टओक नेपाली समाजले विशेष सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा बडा दशैं मनाएको छ।

नेपाल र बेलायतको राष्ट्रिय गानका साथै मङ्गल धुन र दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा समाजका अध्यक्ष खमिरजङ गुरुङले गत अगष्ट महिनामा नेपालमा गएको विपत्तिको खबरले संसारभरका नेपालीलाई दुःखी बनाएको उल्लेख गरे।

उनले समाजले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरोका पीडितहरूका लागि सङ्कलन गरिएको १० हजार ७० पाउण्ड ५० पेन्स (नेरु २० लाख बढी) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकिएको जानकारी गराए।

उनले कोषमा योगदान पुर्‍याउने सम्पूर्ण दाताहरूलाई धन्यवाद व्यक्त गरे। उनले बेलायतमा हुर्किरहेका नेपाली बालबालिकाहरूलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्न समाजले नेपाली भाषा कक्षा लगायतका गतिविधि निरन्तर सञ्चालन गरिरहेको बताए।

स्वागत मन्तव्य व्यक्त गर्दै समाजका उपाध्यक्ष मुरारी थापाले दशैं प्रेम, एकता, आशीर्वाद र सद्भावको पर्व भएको बताए। “हामी आफ्नो मातृभूमि नेपालबाट धेरै टाढा रहे पनि, यस्ता चाडपर्वहरूले हामीलाई हाम्रा जराहरूसँग नजिक ल्याउँछन् र हाम्रो समृद्ध संस्कृति, परम्परा, भाषा तथा पहिचानलाई भावी पुस्ताका लागि जोगाइराख्न मद्दत गर्छन्। यो भव्य चाड मनाउँदै गर्दा, आउनुहोस् हामी एक-अर्कालाई सहयोग गरिरहौं, एक-अर्काको सम्मान गरौं र अझ बलियो, सुखी तथा एकताबद्ध समुदाय निर्माण गर्न सँगै मिलेर काम गरौं,” उनले भने।

कार्यक्रममा हेन्डन क्षेत्रका सांसद डेभिड पिन्टो-डसचिन्स्कीले दसैँ असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गर्दै नेपाली समुदायको एकता र योगदानको प्रशंसा गरे। उनले आगामी दिनमा नेपाली समुदायसंग निकट रहेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

त्यसैगरी, बार्नेट काउन्सिलका उपमेयर काउन्सिलर हुमायुँ खालिकले बार्नेट र समग्र बेलायतमा बर्न्टओक नेपाली समाजले पुर्‍याएको योगदानको सराहना गर्दै नेपालका बाढीपहिरो पीडितहरूप्रति समानुभूति व्यक्त गरे।

लेफ्टिनेन्ट कर्नल (रिटायर्ड) मार्टिन रसेलले बर्न्टओक नेपाली समाजले नेपाली परम्परालाई निरन्तरता दिंदै बृहत् समुदायप्रति पुराइ रहेको सेवाको सराहना गरे। त्यस्तै तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङले नयाँ पुस्तालाई आफ्नै भाषा र संस्कृति सिकाउनुपर्नेमा जोड दिँदै बर्न्टओक नेपाली समाजले समुदायलाई एकताबद्ध बनाउन खेलेको भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु उदय गुरुङ, पूर्व उपमेयर तथा काउन्सिलर लक्ष गुरुङ, विष्णु गुरुङ, काउन्सिलर कमल गुरुङ लगायतको उपस्थिति थियो।

वृत्तचित्र प्रदर्शन तथा सम्मान

कार्यक्रममा ‘गोर्खा बाइ रुट्स: अ बर्न्ट ओक स्टोरी’ (Gurkha by Roots: A Burnt Oak story) नामक वृत्तचित्र प्रदर्शन गरिएको थियो। अध्यक्ष गुरुङले वृत्तचित्रकी निर्माता दिव्या सत्कानीलाई सम्मान गरे।

त्यस्तै, वर्ल्ड युनियन अफ मार्शल आर्ट्स फेडरेसन (WUMAF) द्वारा बेलायतमा आयोजित चौथो विश्व च्याम्पियनसिपमा फरक फरक विधामा रजत पदक जित्न सफल इन्जिनियर ज्ञानेन्द्र क्षेत्री र उनका छोरा एड्रियन क्षेत्रीलाई विशेष सम्मान गरिएको थियो ।

यसै गरी समुदायमा पुर्‍याएको नि:स्वार्थ सेवाको कदर गर्दै वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्की र वरिष्ठ नर्स सुष्मा गुरुङलाई ‘उत्कृष्ट समुदाय सेवा पुरस्कार’ बाट सम्मानित गरियो। सोही अवसरमा अध्यक्ष गुरुङले समाजका नयाँ सदस्यहरूलाई स्वागत गर्दै सदस्यता प्रमाण-पत्र वितरण गरेका थिए।

कार्यक्रमको पहिलो चरण समाजकी महासचिव हेलिशा गुरुङ र सांस्कृतिक चरण सांस्कृतिक सचिव उमेश खड्काले सञ्चालन गरेका थिए।

सांस्कृतिक कार्यक्रममा बालकलाकार सतीश श्रेष्ठ र मोनिमा खड्काले ‘रेलीमाई रेलीमाई’ गीत प्रस्तुत गरेका थिए भने बीओएनसी किड्स र आमा समूहले सारङ्गी तथा मादलको धुन प्रस्तुत गरे।

यसैगरी, बीओएनसी आमा समूह, आयशा गुरुङ, तारा गुरुङ, आर्लिन श्रेष्ठ, प्राप्ति न्यौपाने, प्राज्ञा न्यौपाने, सानय शाह, आरुषि पन्त र यशस्वी गौतमले विविध नृत्य प्रस्तुत गरे। प्रसन्न न्यौपाने, रूपक पन्त, बीओएनसी युथ, अल्बर्ट र ब्यान्डका साथै अतिथि कलाकार प्रिया गुरुङले लोकप्रिय गीतहरू गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए।

सांस्कृतिक कार्यक्रम संयोजन संगीतकार केयर जंग गुरुङले गरेका थिए।

सन् २००४ मा स्थापना भएको समाजले आफ्ना सदस्यहरुका लागि विभिन्न कार्यक्रम संचालन गर्नुका साथै नेपालमा महाभूकम्प, कोभिड महामारी जस्ता विपदका बेला सक्दो सहयोग गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू