टनब्रिजमा दशैँ साँझ, बाढीपीडितका लागि ७ हजार ५०० पाउन्ड संकलन

लन्डन। नेपाली समाज टनब्रिजले दशैँ साँझ कार्यक्रममार्फत नेपालका बाढीपीडितको सहयोगार्थ ७ हजार ५०० पाउन्ड संकलन गरेको छ।
समाजका अध्यक्ष यम गुरुङको सभापतित्वमा शनिबार, १७ अक्टोबरमा आयोजित कार्यक्रममा नेपालीज लेडिज कम्युनिटीकी अध्यक्ष गीता शाही प्रमुख अतिथि थिइन्।
नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यस वर्षको दशैँ साँझलाई आर्थिक सहयोग संकलन अभियानसँग जोडिएको आयोजकले जनाएको छ।
अभियानअन्तर्गत नेपालीज लेडिज कम्युनिटी टनब्रिजले पाँच लाख नेपाली रुपैयाँ सहयोग गरेको थियो। त्यस्तै, प्रमुख अतिथि गीता शाही र उनका श्रीमान् रामचन्द्र शाहीले न्युज प्लस स्टोर, क्रोबरो हिल, इस्ट ससेक्सका तर्फबाट ५०५ पाउन्ड योगदान गरेका थिए।
संकलित रकम हाल नेपालमा रहेका समाजका उपाध्यक्ष नूतन सिरिस थापा पुन, पूर्वउपाध्यक्ष प्रेम सिंह राना तथा नेपाली महिला समुदाय टोनब्रिजकी संस्थापक अध्यक्ष शीला रानाको पहलमा यथाशीघ्र नेपाल सरकारसमक्ष पुर्याइने जानकारी कार्यक्रममा दिइएको थियो।
कार्यक्रमको सुरुवातमा समाजकी प्रथम उपाध्यक्ष तारा राना कार्कीले सहभागीहरूलाई स्वागत गर्दै विजयादशमीको शुभकामना व्यक्त गरेकी थिइन्।
कार्यक्रमको मुख्य सांगीतिक आकर्षण हाल बेलायत भ्रमणमा रहेका चर्चित राष्ट्रिय गायक एवं ‘कौडा किङ’ का रूपमा परिचित दुर्गा गुरुङको प्रस्तुति थियो। स्थानीय बालबालिका तथा युवायुवतीले पनि गीत, नृत्य र विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाएका थिए।
समाजकी महासचिव ज्योति गुरुङले सञ्चालन गरेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिने कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
समापनमा अध्यक्ष यम गुरुङले कार्यक्रम सफल बनाउन योगदान गर्ने प्रमुख अतिथि, अतिथिगण, सल्लाहकार, दाता, प्रायोजक, कलाकार, स्वयंसेवक तथा सहभागीहरूलाई धन्यवाद दिँदै विजयादशमीको शुभकामना व्यक्त गरे।
कार्यक्रमको अन्तिम चरणमा डिजे टंक शेर्चनको संगीतमा सहभागीहरूले नृत्य गरेका थिए। गोर्खा भिल्ला, एशफोर्डले सहभागीहरूका लागि नेपाली परिकार उपलब्ध गराएको थियो।
आयोजकका अनुसार कार्यक्रमले बेलायतस्थित नेपाली समुदायबीच आपसी सद्भाव र सांस्कृतिक सम्बन्ध सुदृढ गर्नुका साथै नेपालका विपद्पीडितप्रति प्रवासी नेपालीहरूको ऐक्यबद्धता प्रदर्शन गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




