मंगलबार, २८ जुलाइ, २०२६
14:02 | १८:४७

नेप्लिज डक्टर्स एसोसिएसन यूकेको ४१औँ वार्षिक साधारणसभा

नेपाली लिङ्क जुलाइ २८, २०२६


लण्डन – बेलायतस्थित नेपाली चिकित्सकहरूको साझा संस्था नेप्लिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) को ४१औँ वार्षिक साधारणसभा ब्र्याकनेल, बर्कसायरस्थित भिलेज होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

विगत ४१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो वार्षिक कार्यक्रम यस वर्ष तीन दिनसम्म सञ्चालन गरिएको थियो। कार्यक्रमको स्थानीय आयोजक समितिको नेतृत्व एनडीए यूकेकी अध्यक्ष डा. आरती थापाले गरेकी थिइन्।

सदस्य, उनीहरूका परिवार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको साधारणसभाको पहिलो दिन शुक्रबार सांस्कृतिक कार्यक्रम तथा सामाजिक भेटघाट आयोजना गरिएको थियो।

शनिबार वैज्ञानिक सत्रबाट सुरु भएको कार्यक्रमपछि सदस्यहरूका लागि मात्र वार्षिक साधारणसभा, विभिन्न विशेषज्ञता तथा क्षेत्रगत नेटवर्किङ बैठक सम्पन्न भएको थियो। साँझ भव्य गाला डिनरसँगै दिनको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।

यस वर्षको वार्षिक साधारणसभाको मुख्य विषय “महिला स्वास्थ्यमा रहेको अन्तरलाई कसरी कम गर्ने” (Bridging the Gap in Women’s Health) भन्ने थियो।

साधारणसभामा सदस्यहरूले संस्थाको विधान संशोधनका विषयमा छलफल गर्नुका साथै कार्यसमितिका पदाधिकारीहरूले प्रस्तुत गरेका वार्षिक प्रतिवेदनको समीक्षा गरेका थिए। अध्यक्ष डा. आरती थापा, उपाध्यक्ष डा. आशिष श्रेष्ठ, महासचिव डा. पारुल श्रेष्ठ, कोषाध्यक्ष डा. रवि पन्त, शिक्षा संयोजक डा. गकुल भट्ट, सहसचिव डा. आइस्ता सुब्बा, मेन्टरसिप संयोजक डा. सासा शाक्य तथा मास्टरक्लास संयोजक डा. अभिषेक ताम्राकारले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

वैज्ञानिक सत्रमा प्रस्तुत छवटा अनुसन्धानपत्रको मूल्याङ्कन परामर्शदाताको जिम्मा डा. आशिष श्रेष्ठ, डा. लक्ष्मण पौडेल र डा. शम्भु शाहलाई दिइएको थियो। उत्कृष्ट अनुसन्धान प्रस्तुत गरेबापत डा. दीपिका थापा र डा. सुयश आचार्यलाई कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी तथा प्राध्यापक माला राव सीबीईले जनही १५० पाउण्ड नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए। उक्त वैज्ञानिक सत्रको अध्यक्षता डा. प्रव हमालले गरेका थिए।

यस वर्षको चेयर्स अवार्ड संस्थाकी सहसचिव डा. आइस्ता सुब्बालाई प्रदान गरिएको छ ।

गाला डिनर कार्यक्रममा अध्यक्ष डा. आरती थापाले सहभागीहरूलाई स्वागत गर्दै महिला स्वास्थ्य सुधारको आवश्यकता र त्यसका लागि सामूहिक प्रयासको महत्वमाथि जोड दिइन्। उनले मातृ स्वास्थ्य सेवा, सुत्केरी सेवा तथा धाइआमा (मिडवाइफ) तालिम, बर्थिङ सेन्टर स्थापना, मानव बेचबिखनबाट प्रभावित महिलाहरूलाई सहयोग, विपन्न महिलाको स्वास्थ्य सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण, स्वास्थ्य अनुसन्धान तथा अन्य सामुदायिक स्वास्थ्य कार्यक्रममार्फत एनडीए यूकेले निरन्तर सामाजिक सेवा गर्दै आएको जानकारी दिइन्। साथै उनले सदस्यहरू, आमन्त्रित पाहुनाहरू, स्थानीय आयोजक समिति तथा कार्यसमितिप्रति आभार व्यक्त गरिन्।

कार्यक्रम सञ्चालन संस्थाकी महासचिव डा. पारुल श्रेष्ठले गरेकी थिइन्।

कार्यक्रमका चिफ गेष्ट बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली समुदाय र नेपालका लागि एनडीए यूकेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि नेपाली दूतावासको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

मुख्य वक्ताका रूपमा प्राध्यापक माला राव सीबीईले नेपाली महिलाले भोगिरहेका स्वास्थ्य असमानताबारे चर्चा गर्दै ती चुनौतीहरू समाधान गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन्।

सो अवसरमा संस्थाकी सहसचिव तथा सम्पादक डा. आइस्ता सुब्बाले एनडीए यूकेको वार्षिक प्रकाशन ‘चौतारी’ विशिष्ट पाहुनाहरूलाई हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा नेपाली दूतावासका रक्षा सहचारी अनुप शाह, नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रश्मिता दर्लामी, हिमालयन यति एसोसिएसनका अध्यक्ष पुष्प श्रेष्ठ, ब्राङ्गो हेल्थकी हेल्थ लिड लिसा फोस्केटलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सबै पाहुनाहरुलाई सम्मानस्वरूप मायाको चिनो, ‘चौतारी’ पत्रिका तथा पुष्पगुच्छा प्रदान गरिएको थियो।


करिब १५० जना सहभागी रहेको गाला डिनरमा सांगीतिक मनोरञ्जन, राफल ड्र तथा च्यारिटी लिलामीसमेत आयोजना गरिएको थियो। उक्त कार्यक्रमबाट संकलित रकम एनडीए यूकेका परोपकारी तथा शैक्षिक परियोजनामार्फत बेलायतस्थित नेपाली समुदाय र नेपालका समुदायहरूको हितमा खर्च गरिने संस्थाले जनाएको छ।

कार्यक्रमको समापनतर्फ कोषाध्यक्ष डा. रवि पन्तले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजकहरूप्रति विशेष आभार व्यक्त गरे।

वार्षिक साधारणसभाको अन्तिम दिन आइतबार संस्थाको परोपकारी कार्यलाई केन्द्रमा राखेर विशेष प्रस्तुति गरिएको थियो। अध्यक्ष डा. आरती थापा, डा. कमल अर्याल, डा. देव हमाल, डा. शबिन जोशी, डा. आशिष श्रेष्ठ तथा डा. रवि पन्तले विगत १२ महिनामा संस्थाले सञ्चालन गरेका स्वास्थ्य तथा सामाजिक सेवाका परियोजना, सहयोग, दान तथा उपलब्धिहरूबारे जानकारी गराएका थिए।

तीनदिने कार्यक्रमको समापन प्रख्यात नेपाली शेफ राजु बोहोराले तयार पारेको विशेष नेपाली भोजनसँगै गरिएको थियो। यससँगै एनडीए यूकेको ४१औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू