बेलायतमा देवकोटा जयन्ती मनाइयो


लन्डन- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके च्याप्टरको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमसहित शनिबार सम्पन्न भएको छ।
बेलायतबाट जुम प्रविधिमार्फत आयोजित समारोहमा नेपाल, जर्मनी, अमेरिका, बेल्जियमलगायत विभिन्न मुलुकहरूबाट करिब तीन दर्जन साहित्यकारहरूको उस्थिति रह्यो।
महाकवि देवकोटाकी नातिनी, अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिलको प्रमुख आतिथ्यमा सम्पन्न समारोह महासचिव मञ्जु भण्डारी खरेलले संचालन गरेकी थिइन्।
खड्ग न्यौपाने (जर्मनी) द्वारा महाकवि देवकोटाको “ईश्वर! तैँले रचेर फेरि कसरी बिगारिस्?” भन्ने मुनामदनको अंश गायनबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो।
कार्यक्रम संयोजक, अनेसासका युरोप महाद्वीपीय उपाध्यक्ष तथा अनेसास यूकेका निवर्तमान अध्यक्ष राज श्रेष्ठले महाकवि देवकोटाको चर्चित कविता ‘पागल’का केही पङ्क्तिहरू वाचन गर्दै स्वागत मन्तव्य राखेका थिए।
विशिष्ट अतिथि, गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ले देवकोटाको व्यक्तित्व र कृतित्वका बहुआयामिक पक्षबारे चर्चा गरे।
अनेसासका केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदीले महाकविलाई नेपाली साहित्यका महामानवका रूपमा चित्रण गरे।
नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेले देवकोटाको अद्भुत साहित्यिक प्रतिभालाई स्मरण गर्दै उनलाई ‘लक्ष्मीप्रसाद’ मात्र नभई ज्ञान र सिर्जनाका दृष्टिले ‘सरस्वतीप्रसाद’का रूपमा समेत सम्झनुपर्ने धारणा राखे।
बेलायतका वरिष्ठ साहित्यकार सुमलकुमार गुरुङले देवकोटाको छोटो तर बहुआयामीक सक्रिय जीवनयात्राको चर्चा गरे।
महासचिव प्रा. यादव भट्टराईले महाकवि देवकोटाका कृतिहरूमाथि वर्षौँसम्म अनुसन्धान चलिरहने तथा उनी नेपाली कविता र निबन्धका सर्वोच्च प्रतिभा भएको विचार व्यक्त बिचार गर्दै आफ्नो छोटो कविता ‘प्रेम’ प्रस्तुत गरे।
केन्द्रीय महासचिव राजु सिटौलाले देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै “एउटा पागलले धेरै पागलहरू खोजिरहेछ” शीर्षकको कविता वाचन गरेका थिए।
नेपाल प्रतिभा प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसले देवकोटा जयन्ती मनाउनुका साथै साहित्य र कलाको दीर्घकालीन विकासका लागि स्रष्टाहरूको आर्थिक सुरक्षा तथा उनीहरूका सिर्जनाबाट आयआर्जनका अवसर सुनिश्चित गर्नुपर्ने विचार व्यक्त गरे। उनले महाकवि देवकोटासँग सम्बन्धित “दाल भात डुकु” रचना पनि वाचन गरे।
नेपालबाट असफल गौतम, कमला ओली, रामकाजी कोने, बेल्जियम बाट बिमल गिरी ब्रम्हदत्त वाग्ले , नर्वेबाट बिष्णु माया बिभू साथै बेलायतबाट बिदेह मणि उपाध्याय, सेमन्त राई, मोहन जलद, प्रतिमा केसी, हरिसिंह थापा, शशिकला थापा सुब्बा, अहिल्या सुवाल, सुमल कुमार गुरुङ, सारा गुरुङले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए।
प्रमुख अतिथि मञ्जिला अनिलले देवकोटाले साहित्य, शिक्षा, संस्कृति तथा प्राज्ञिक क्षेत्रको विकासमा पुर्याएको योगदानबारे चर्चा गरिन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्थागत विकास, त्रिभुवन विश्वविद्यालयको स्थापना प्रक्रियासँग सम्बन्धित योगदान तथा देवकोटाको बहुभाषिक ज्ञान र साहित्यिक क्षमताका विभिन्न पक्षमाथि उनले प्रकाश पारिन्।
डा. रूपक श्रेष्ठले सहजीकरण गरेको अन्तरक्रियामा मञ्जिला अनिलले महाकविका महाकाव्य, खण्डकाव्य, कविता, कथा, उपन्यासलगायत विभिन्न विधामा प्रकाशित तथा अप्रकाशित सिर्जनाहरूबारे जानकारी दिइन्।
उनले देवकोटाका करिब ५० वटा कृति प्रकाशित तथा चार थान अप्रकाशित अवस्थामा रहेको चर्चा गर्दै तिनको वास्तविक अवस्था र सङ्ख्याबारे थप अध्ययन तथा खोज आवश्यक रहेको बताइन्।
अन्तरक्रियामा उनले शून्यमा शून्यसरि बिलाएँ, कुन मन्दिरमा जान्छौ यात्री, पागल, मुनामदन तथा सुलोचना महाकाव्य उनलाई बढि मन परेका रचना भएका उल्लेख गरिन्।
सहजकर्ता डा. श्रेष्ठले बेलायतमा विलियम शेक्सपियरको घर हेर्न वार्षिक २५-३० लाख साहित्यिक पर्यटकको उदाहरण प्रस्तुत गर्दै महाकवि देवकोटाको ‘कविकुञ्ज’ को विकास अवधारणाबारे जिज्ञासा राखिएकोमा मञ्जिलाले काठमाडौँको मैतीदेवीस्थित देवकोटाले स्वआर्जन गरेको निवास ‘कविकुञ्ज’ को रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानको संरक्षणमा सङ्ग्रहालय स्थापित भएको बताउंदै देवकोटाको जन्मघर पनि संरक्षण गरि साहित्यिक सम्पदाका रुपमा संरक्षण गर्न सके अझ राम्रो हुने विचार व्यक्त गरिन्।
अन्तरक्रियाले देवकोटाका अप्रकाशित कृतिहरूको खोज, अभिलेखीकरण, संरक्षण, अनुवाद तथा प्रकाशनका लागि सम्बन्धित निकाय र साहित्यिक संस्थाहरू बिच सहकार्यको आवश्यकता उजागर गरेको थियो।
सभाध्यक्ष माया गुरुङले प्रमुख अतिथि, विशिष्ट अतिथि, सहभागी साहित्यकारहरू तथा समारोह सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन्।
-राज श्रेष्ठ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



