बेलायतको अर्थतन्त्र ०.७ प्रतिशतले बढ्यो, महँगीको दबाब कायमै

लन्डन- महँगो तेल, ग्यास र बढ्दो जीवनयापन खर्चका बीच बेलायतको अर्थतन्त्र विस्तार भएको छ। सन् २०२६ को तेस्रो त्रैमासिक अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म बेलायतको अर्थतन्त्र ०.७ प्रतिशतले बढेको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार यो वृद्धि दोस्रो त्रैमासिकको तुलनामा बढी हो । अप्रिलदेखि जुनसम्मको तीन महिनामा बेलायतको अर्थतन्त्र ०.५ प्रतिशतले विस्तार भएको थियो ।
तेस्रो त्रैमासिकमा अर्थतन्त्र बढ्नुमा मुख्य योगदान सेवा क्षेत्रको देखिएको छ । यो अवधिमा सेवा क्षेत्र ०.९ प्रतिशतले विस्तार भएको छ । उत्पादन क्षेत्र पनि ०.१ प्रतिशतले बढेको छ। तर निर्माण क्षेत्र भने ०.७ प्रतिशतले खुम्चिएको छ ।
मासिक तथ्यांकअनुसार जुलाईमा अर्थतन्त्र ०.४ प्रतिशतले बढेको थियो। अगस्टमा वृद्धि रोकिएको थियो भने सेप्टेम्बरमा फेरि ०.२ प्रतिशतको विस्तार देखिएको छ ।
तर अर्थतन्त्र बढ्दैमा सर्वसाधारणको आर्थिक अवस्था सहज भएको भने होइन । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा बेलायतमा पेट्रोल र डिजेल महँगिएका छन् । ऊर्जा खर्च र दैनिक उपभोग्य वस्तुको मूल्यले घरपरिवार तथा व्यवसायमाथि दबाब सिर्जना गरिरहेको छ ।
त्यसैले अर्थतन्त्र विस्तार भएको सकारात्मक संकेत देखिए पनि आगामी दिनमा महँगी नियन्त्रण, रोजगारी र आम्दानीमा सुधार ल्याउनु बेलायत सरकारका लागि चुनौतीपूर्ण रहनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



