शनिबार, १४ नोभेम्बर, २०२६
13:20 | १९:०५

नेपलिज वुमन एसोसिएसन यूकेले भोटेकोशी बाढीपीडितका लागि गर्‍यो सहयोग

नेपाली लिङ्क नोभेम्बर १४, २०२६

लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेको छ । एसोसिएसनले च्यारिटी लन्च र व्यक्तिगत चन्दाबाट संकलित रकम २३२५ पाउण्ड (करिब ४ लाख ३८ हजार रुपैयां) दूतावासलाई प्रदान गरेको हो ।

शनिबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित ‘कफी मर्निङ’ कार्यक्रमबीच एसोसिएसन अध्यक्ष आरती श्रेष्ठले कार्यवाहक राजदूत विपिन दुवाडीलाई चेक हस्तान्तरण गरिन् ।

सो रकम दूतावासले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताइएको छ ।

कार्यवाहक राजदूत दुवाडीले विपतपछि प्रधानमन्त्री, मन्त्री, सभामुखदेखि बेलायती जनतासम्मले स्वतस्फूर्त ऐक्यवद्धता र सहयोग गरेको स्मरण गर्दै दुःखमा बेलायतले दिएको सहयोग प्रशंसनीय रहेको बताए ।

साथै, उनले पीडितलाई सहयोग गरेकामा एसोसिएसनप्रति कृतज्ञता व्यक्त गरे ।

दुवाडीले अगष्ट अन्तिम साताको बाढीबाट मुख्य गरि रसुवासहित चार जिल्ला प्रभावित भएका र यसको पुनर्निर्माणमा झण्डै ५ बिलियन डलर खर्च लाग्ने अनुमान गरिएको उल्लेख गर्दै नेपाल सरकारले सो रकम जुटाउन अन्तर्राष्ट्रिय दातृराष्ट्र र निकायसंग समन्वय गरिरहेको बताए ।

कार्यक्रममा एसोसिएसन संरक्षक माया सुवेदीले स्वागत मन्तव्य दिंदै एसोसिएसनले गरेका च्यारिटीसहित सामाजिक कार्यहरुबारे अवगत गराइन् ।

एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि गरेको आर्थिक सहयोग रकम धेरै नभएपनि यसले पीडितहरुप्रति माया, ऐक्यवद्धता र मातृभूमिप्रतिको जिम्मेवारी दर्शाउने बताइन् ।

एसोसिएसन अध्यक्ष आरती श्रेष्ठले सहयोगदाता सबैप्रति आभार व्यक्त गर्दै अहिले प्रदान गरिएको रकम जति नै बार्कलेज बैंकले समेत थपिदिने प्रतिवद्धता व्यक्त गरेको बताइन् ।

चेक हस्तान्तरण कार्यक्रममा सोलिसिटर राजु थापा, लन्डन बरो अफ इलिङ बरोका पूर्व मेयर एवं हाल काउन्सिलर रन्जित धीर, पूर्व मेयर साइमन उडरोफ, पूर्व मेयर भ्यालरी उडरोफ, यती नेपाली एसोसिएसन यूके पूर्व अध्यक्ष समाजसेवी ध्रुव केसी, क्याप्टेन आर एस श्रेष्ठ, एसोसिएसन उपाध्यक्ष पुनम गुरुङ, सचिव प्रसुना कंडेल, अमिका क्षेत्री, पूजा श्रेष्ठ, मिडियाकर्मी लगायत सहभागी थिए ।

पूर्व मेयर एवं काउन्सिलर धीर, पूर्व मेयरद्वय साइमन र भ्यालरीले नेपालको क्षतिप्रति दुःख व्यक्त गर्दै आफूहरु सधैं एकसाथ रहेको बताए । पूर्व मेयरत्रयले इलिङ र नेपालबीच गहिरो एवं मितेरी साइनो रहेको समेत उल्लेख गरे ।

तस्विर- शिव भण्डारी

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू