शुक्रबार, १३ नोभेम्बर, २०२६
15:43 | २१:२८

माइक्रोसफ्टको विश्वव्यापी अवरोधले बेलायतका स्वास्थ्य, शिक्षा र सार्वजनिक सेवा प्रभावित

नेपाली लिङ्क नोभेम्बर १३, २०२६

लन्डन । माइक्रोसफ्टका अनलाइन सेवामा विश्वव्यापी अवरोध आएपछि बेलायतका स्वास्थ्य संस्था, विद्यालय, प्रहरी, स्थानीय निकाय तथा व्यवसायको कामकाज प्रभावित भएको छ । आउटलुक, टिम्स र कोपाइलटलगायत सेवा ठप्प हुँदा इमेल, सन्देश आदानप्रदान र अनलाइन प्रणालीमा समस्या देखिएको हो ।

माइक्रोसफ्टले सर्भरमा सामान्यभन्दा बढी चाप परेपछि समस्या उत्पन्न भएको बीबीसीले जनाएको छ । सेवा क्रमशः पुनःस्थापित भइरहेको भए पनि पूर्ण रूपमा सामान्य हुन कति समय लाग्छ भन्ने स्पष्ट छैन ।

एनएचएस इङ्ल्यान्डले अन्यथा जानकारी नआएसम्म बिरामीलाई निर्धारित भेटघाटमा उपस्थित हुन आग्रह गरेको छ । केही जीपी क्लिनिकले वेबसाइटबाट सन्देश पठाउनुको सट्टा अत्यावश्यक अवस्थामा फोन गर्न वा क्लिनिकमै आउन भनेका छन् ।

फार्मेसी र जीपीबीचको सञ्चार प्रभावित हुँदा औषधिको प्रेस्क्रिप्सनमा समेत ढिलाइ हुन सक्ने बताइएको छ । एम्बुलेन्स तथा एनएचएस सेवामा बिरामीको विवरण पठाउन समस्या भएको कर्मचारी सङ्गठन जीएमबीले जनाएको छ । यद्यपि, जीवन जोखिममा परेका आपत्कालीन घटनाको सेवामा असर नदेखिएको उसको भनाइ छ ।

मेट्रोपोलिटन प्रहरी, ग्रेटर म्यानचेस्टर प्रहरी र पुलिस स्कटल्यान्डले अनलाइन उजुरी प्रणाली प्रभावित हुन सक्ने भन्दै समयमै जानकारी दिनुपर्ने विषयमा फोन गर्न आग्रह गरेका छन् । विद्यालयमा इमेल, पात्रो र विद्यार्थी सुरक्षासम्बन्धी अभिलेख प्रणाली प्रभावित भएका छन् । केही विश्वविद्यालयले असाइनमेन्ट बुझाउने म्याद थपेका छन् वा ढिलाइबापतको जरिवाना हटाएका छन् ।

रोयल मेलका केही अनलाइन सेवा र डेलिभरीसम्बन्धी इमेल सूचनामा असर परे पनि चिठीपत्र सङ्कलन तथा वितरण नियमित रहेको छ । बेलायती संसद् र स्कटल्यान्डको संसद्का इमेल प्रणालीसमेत प्रभावित भएका छन् ।

बेलायत सरकारले सार्वजनिक सेवामा परेको असर मूल्याङ्कन गर्न माइक्रोसफ्टसँग समन्वय गरिरहेको जनाएको छ । कतिपय संस्थाले काम निरन्तर राख्न ह्वाट्सएपजस्ता वैकल्पिक माध्यम प्रयोग गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू