आइतबार, ८ नोभेम्बर, २०२६
10:50 | १६:३५

तिहारमा बेलायती संसद्‌देखि अस्ट्रेलियाका प्रधानमन्त्री र न्यूयोर्क मेयरसम्मको शुभकामना

नेपाली लिङ्क नोभेम्बर ८, २०२६

लन्डन । नेपालीहरूको प्रमुख सांस्कृतिक पर्व तिहारले अब नेपाल मात्र नभई विश्वमञ्चमा पनि विशेष पहिचान बनाउँदै गएको छ । बेलायतको संसद्‌देखि अस्ट्रेलियाका प्रधानमन्त्री र न्यूयोर्कका मेयरसम्मले तिहार तथा दिवालीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बेलायतको संसद्मा नोभेम्बर ४ मा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै फष्ट सेक्रेटरी अफ स्टेट लुइस हेगले दिवाली मनाउने सबैलाई सुखद र शान्तिपूर्ण दिवालीको शुभकामना दिएकी थिइन् । प्रधानमन्त्री एन्डी बर्नहम त्यतिबेला कमनवेल्थ राष्ट्रहरूको बैठकमा सहभागी हुन एन्टिगुआमा रहेकाले हेगले उनको तर्फबाट संसद्मा शुभकामना व्यक्त गरेकी हुन् ।

त्यस्तै, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले नोभेम्बर ७ मा सिड्नीस्थित डार्लिङ हार्बरमा आयोजित नेपाल फेस्टिभलमा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन् । नेपाली ढाकाटोपी र खादा लगाएर कार्यक्रममा पुगेका उनले नेपाली समुदायले अस्ट्रेलियाको विकास र बहुसांस्कृतिक समाजमा महत्वपूर्ण योगदान गरेको बताए ।

उनले सामाजिक सञ्जालमा नेपाली समुदायसँग तिहार मनाउन पाउँदा खुसी लागेको उल्लेख गर्दै ‘विविधता नै हाम्रो शक्ति हो र तपाईंहरूको समुदाय त्यसको महत्वपूर्ण हिस्सा हो’ भनेका छन् ।

यस्तै, न्यूयोर्कका मेयर जोहरान मामदानीले पनि नोभेम्बर ७ मा नेपाली समुदायलाई तिहारको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत लक्ष्मीपूजाका अवसरमा दियो बाल्ने र भाइटीकामार्फत पारिवारिक सम्बन्धको उत्सव मनाउने न्यूयोर्कवासी नेपालीहरूलाई सम्बोधन गर्दै तिहारले समृद्धि, शान्ति र अपनत्वको भावना ल्याओस् भन्ने कामना गरेका छन् ।


विश्वका नेतृत्व तहमा रहेका व्यक्तिहरूबाट तिहारको शुभकामना आउनुले नेपाली संस्कृति र परम्पराको अन्तर्राष्ट्रिय पहिचान विस्तार हुँदै गएको संकेत गर्छ । विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली तथा नेपालीभाषी समुदायको बढ्दो उपस्थिति, सक्रियता र सांस्कृतिक प्रभावका कारण तिहारजस्ता नेपाली पर्वले अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा पाउन थालेका छन् ।

नेपालको सीमाभन्दा बाहिर पनि नेपाली संस्कृति, चाडपर्व र परम्पराको उत्सव मनाइनु विश्वभर फैलिएको नेपाली समुदायको सांस्कृतिक सम्बन्ध र पहिचानको उदाहरण बनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू