सरकार-जेनजी सम्झौता कोसेढुङ्गा- प्रधानमन्त्री कार्की



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधि र सरकारबीच भएको १० बुँदे सम्झौता भविष्यका आन्दोलन र राजनीतिक परिवर्तनलाई निर्देशित गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी छन्।
बुधवार सिंहदरबारमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले जेनजी तथा सहिद परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयनमा समय लागे पनि महत्वपूर्ण दस्तावेजको रुपमा रहने बताइन्।
उनले विश्वभरिका देशहरुमा नेपाल जेनजी आन्दोलनको अग्रज मुलुक रहेको बताउँदै सरकार र जेनजी प्रतिनिधिबीच भएको यस सम्झौतालाई अन्य देशहरुले समेत अनुशरण गर्ने विश्वास व्यक्त गरिन्।
यस सम्झौताले भविष्यमा हुने आन्दोलनलाई हिंसारहित बनाउन मार्गनिर्देशन दिने उनको भनाइ छ।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद र घाइतेहरूका मागहरु पूरा गर्न सरकार अहोरात्र लागिपरेको समेत बताइन्।
‘हिजो ज्यान गुमाउनेहरु शहीद भएका छन्। जेनजीका बीचमा राम्रो सहमति ड्राफ्ट बनेको र यो अरुले पनि अनुकरण गर्न सक्ने होस् भनेर हामीले पनि सहयोग गरेर तयार पारेका छौं,’ कार्कीले भनिन्, ‘हामीले यो अनुकरणनीय र अन्तर्राष्ट्रिय रुपमा स्वीकार हुने दस्तावेज बनोस् भनेर सूर्य ढुंगेलजस्ता विज्ञहरु तथा वरिष्ठ अधिवक्ता राजु चापागाईंको सहयोग लिएर साझा दस्तावेज बनाएर हस्ताक्षर गरेका छौँ।’
युवा शक्तिले यो देशमा उनीहरुको विचारअनुसार चलाउन भनेर यो सम्झौता गरेका दाबी प्रधानमन्त्री कार्कीले गरिन्। ‘हामी हाम्रो सन्तानको भविष्य हेर्न चाहन्छौँ। भदौ २३ र २४ गते जे भयो हामीलाई दुखित तुल्याएको छ। यो सम्झौताले एउटा सानो मुस्कान ल्याएको छ,’ प्रधानमन्त्रीले भनिन्, ‘यो राजपत्रमा छापिन्छ। यो विगतमा माओवादी र अन्य आन्दोलनकारीका बीचमा भएको जस्तै डकुमेन्ट हुन्छ।’
उनले आफू सरकारमा रहेसम्म सहिदहरुका लागि गर्नुपर्ने काम गर्ने अनि घाइतेहरुका लागि पनि सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले युवा मुलुकमै बसुन् अनि यो देश चलाउन् भन्ने इच्छा आफ्नो रहेको भन्दै यो एउटा डकुमेन्टबाट सबैको इच्छा नपुग्ने पनि दाबी गरिन्।
सम्झौता पत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गरेका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



