सोमबार, १८ मे, २०२६
08:13 | १२:५८

नेपाली सेना बोल्यो, आन्दोलनरत समूहलाई वार्तामा आउन आग्रह

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२५

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै आन्दोलनरत समूहलाई वार्तामा आउन अपिल गरेका छन्।

प्रधानसेनापति सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई संयमित रहन अपिल गरे।

सिग्देलले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गरे।

उनले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आम नागरिक र विदेशी कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्नु सबै नेपालीको साझा कर्तव्य रहेकोमा पनि जोड दिएका छन्।

 प्रधानसेनापतिको सम्बोधन :

आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

नेपालको इतिहास देखि नै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहँदै आएको तथ्य हामी सबैलाई सर्वविदितै छ।

नेपालमा हाल भइरहेको आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक संवेदना र सहानुभूति प्रकट गर्दछ।

साथै, घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछौँ। आन्दोलनको क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा जनधनको थप क्षति हुन नदिन र शान्ति, सुरक्षा, अमन चयन एवं राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबै नेपालीको साझा दायित्व हो। वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा, सार्वजनिक एवं नागरिकहरूको सम्पत्ति, आम नागरिक, मित्र राष्ट्रका कूटनीतिक नियोग तथा नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो।

तसर्थ, यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौँ।

जय मातृभूमि ! जय देश !

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू