मंगलबार, ९ सेप्टेम्बर, २०२५
02:04 | ०६:४९

अब यो आन्दोलन जेन जीको मात्रै नभएर आम नेपाली जनताको बन्यो: कुलमान घिसिङ

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२५

काठमाडौँ – उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले जेन जी पुस्ताले सोमबार देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गरेका छन्। 

सोमबार जेन जी पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा राज्यले कम्तीमा २० युवाको ज्यान जाने गरी कलिला युवाहरुमाथि क्रुरतापूर्ण दमन गरेकोले यो आन्दोलनले अब जेन जीको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रुप लिएको उनले बताए। 

सामाजिक संजालमा प्रकाशित पोस्टमा नेपालमा दैनिक  १८ घटनासम्म चलेको लोड शेडिङ हटाउन निर्णायक भूमिका निर्वाह गरेका घिसिङले सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नुपर्ने बताए।  

“आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो। देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द लगायतका विषयलाई लिएर जेन जी पुस्ताले सोमबार देशभर स्वतस्फूर्तरुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भर्त्सना गर्दछु,” घिसिङले भने- “यो आक्रोश युवाहरूको सपना हो, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना । देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्महात भएको छु।”

उनले सरकारी दमनमा परी ज्यान गुमाउने सम्पूर्ण युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू