आइतबार, १४ जुन, २०२६
07:39 | १२:२४

भोजपुरका युवालाई आइटी तालिम दिलाएर जागिर नियुक्ति

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२५

काठमाडौँ– भोजपुर जिल्लाको अरुण गाउँपालिका फालिटारमा शनिबार आयोजित एक विशेष समारोहमा बहुराष्ट्रिय कम्पनी जेनेस सलुशनद्वारा सञ्चालन गरिएको सूचना प्रविधि (आइटी) सम्बन्धी तालिम पुरा गरेका युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

चार महिना पहिले सुरु गरिएको उक्त तालिममा २६ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले स्थानीय युवाहरुलाई आइटी सम्बन्धी सीप सिकाएकोमा जेनेस सलुशनको प्रशंसा गरे। उनले नगरपालिकाले प्रशिक्षित युवाहरुलाई भविष्यमा रोजगारीका लागि प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आआफ्ना धारणा राखेका थिए।

तालिमका सहभागी २६ जनामध्ये ९ जनाले इन्टर्नसीप समेत पूरा गरिसकेका छन्। कार्यक्रममा इन्टर्नसीप पूरा गर्नेहरूलाई कार्यक्रमका सभापति पूर्व एआईजीपी तथा जेनेस सलुशनका कार्यकारी निर्देशक भीम प्रसाद ढकालले प्रमाणपत्र एवं उत्कृष्ट ३ जना युवालाई जेनेस सलुशनमा रोजगारीका लागि नियुक्तिपत्र समेत प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले ठूलो संख्यामा युवाहरु रोजगारीको खोजीमा विदेश गइरहेका बेला जेनेस सलुशनले स्थानीय युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी रोजगारी सिर्जनामा पनि सहयोग गरिरहेको बताए । उनले स्थानीय गाउँपालिका तथा नगरपालिकाहरुलाई प्रशिक्षित युवाहरुलाई रोजगारीमा प्राथमिकता दिन आग्रह पनि गरे ।

सोही कार्यक्रममा जेनेस सलुशनका कार्यकारी निर्देशक भीमप्रसाद ढकाल तथा भोजपुरका प्रमुख जिल्ला अधिकारी राजीव पन्थीले जेनेस सलुशनको भोजपुर कार्यालय उद्घाटन गरेका थिए ।

उक्त अवसरमा ढकालले युवाहरुलाई नियमित रुपमा प्रशिक्षित गर्ने उद्देश्यले जेनेस सलुशनले भोजपुरमा कार्यालय खोलेको जानकारी दिए । उनले उक्त कार्यालयबाट अरुण गाउँपालिका र समग्र भोजपुर जिल्लामा प्रविधि सचेतना, साइबर सुरक्षा, क्लाउड कम्प्युटिंग, एआइ, डिजिटल ट्रान्सफर्मेशन लगायत क्षेत्रमा तालिम प्रदान गर्नुका साथै भोजपुर जिल्लालाई आइटी हब बनाउन काम गर्ने बताए । उनले युवाहरुलाई प्रशिक्षित गर्ने काममा सरकारी निकाय, स्थानीय सरकार तथा निजी क्षेत्रले हातेमालो गर्नु पर्नेमा पनि जोड दिए ।

कार्यक्रममा अरुण गाउँपालिकाका अध्यक्ष शालिक राम खत्रीले गाउँघरका युवाले पनि आइटी सम्बन्धी सीप सिक्ने मौका पाएकोमा खुसी व्यक्त गर्दै जेनेस सलुशन लगायत सबैलाई हार्दिक धन्यवाद दिएका थिए ।

बेलायतमा मुख्यालय रहेको आइटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनका नेपाल, बंगलादेश, नाइजेरिया लगायत १० मुलुकमा कार्यालयहरु रहेका छन्। जेनेस सलुशनले काठमाडौँस्थित कार्यालयमार्फत विभिन्न नगरपालिकाहरुसंग सहकार्य गरी युवाहरुलाई आइटीमा आधारित रोजगारमूलक सीप प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू