आइतबार, १७ अगस्ट, २०२५
04:41 | ०९:२६

रवि लामिछानेलाई नक्खु कारागार सारियो

नेपाली लिङ्क अगस्ट १६, २०२५

काठमाडौँ । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ ।

शनिबार साँझ उनलाई जहाजमार्फत त्रिभुवन विमानस्थल ल्याइ त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए ।

कारागार सरुवाका लागि सभापति लामिछानेले दिएको निवेदनका आधारमा हिजो विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले हिजो राति नै रुपन्देही कारागारमा पठाएको थियो । सोही आधारमा आज उनलाई कारागार सरुवा गरिएको जोशीले बताए ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर लामिछानेलाई जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो ।

लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थिति भएका थिए ।

रेडियो नेपालका अनुसार, भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू