शुक्रबार, चैत १६, २०८०
14:56 | २०:४१

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु

रासस नोभेम्बर १२, २०२०

हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सयपत्री टिप्दै काठमाडौँको नागार्जुन नगरपालिका ईचङगुका किसानहरु । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ ।

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, गौतमले भने । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतबार बिहान ११.२७ बजेसम्म औंशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ ।

बिहान ११. ३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए । मङ्सिर १ गते सोमबार मह्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।

मङ्सिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मङ्सिर १ गते नै गरिन्छ । मङ्सिर २ गते बिहान ७:०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मङ्सिर २ गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीन जना पञ्चाङ्गकारले प्रकाशन गरेका तीन पात्रो (पञ्चाङ्ग) ले पनि मङ्सिर १ गते भाइटीका उल्लेख गरेका छन् ।

सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले समितिको स्वीकृतिमा प्रकाशन गरेको पात्रोमा मङ्सिर १ गते भाइटीका मनाउनुपर्ने उल्लेख छ । यो समुदायका तीनै जना पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पात्रोमा उल्लेख गरेका छन् ।

मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

झिलीमिली उज्यालोको चाड तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरिथरिका बत्ती बाल्न शुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

बेलायतमा भाइटीकाको साइत

बेलायतमा भाइटीकाको साइत सोमबार बिहान १०:२५ मा परेको छ । लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ  मन्दिरका मूल पण्डित ज्योतिषी निलहरि घिमिरेले उक्त समय भाइटीकाको लागि उत्तम रहेको जानकारी दिए ।  

साइतको समयमा टीका शुरु गरेर त्यसपछि आफ्नो सुविधाअनुसार दिनभर नै टीका लगाउन सकिने उनले बताए ।  

भाइटीकाका क्रममा टीका थाप्ने दाजुभाईहरु पश्चिम फर्किन र टीका लगाइदिने दिदीबहिनीहरु पूर्व फर्किन उत्तम हुने ज्योतिषी घिमिरेले बताए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू