बेलायती गृह मन्त्रालयले भिजा प्रक्रिया ढिलाइ गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरू अन्योलमा


लन्डन । बेलायती गृह मन्त्रालय (होम अफिस) ले भिजा प्रक्रिया ढिलाइ गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरू अन्योलमा परेका छन् ।
होम अफिसको ढिलाइका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विश्वविद्यालयका अफर गुमाइरहेका छन् भने उडानहरू पुनः व्यवस्थित गर्न सयौं पाउन्ड तिर्नु परेको छ । भिजा प्रतिक्षा लामो हुंदा विद्यार्थीले आफ्ना पाठ्यक्रमको शुरुका साता समेत गुमाइरहेका छन्।
यहांका शीर्ष विश्वविद्यालयहरू अन्तर्राष्ट्रिय विद्यार्थीको भिजा प्रक्रियामा महिनौं ढिलाइ र गत वर्षको तुलनामा भिजा रिफ्युजल (अस्वीकृति) दर पनि उल्लेखनीय वृद्धि भएकोमा चिन्तित रहेका बेलायती अखबार ‘द इन्डिपेन्डेन्ट’ ले उल्लेख गरेको छ ।
यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले आफ्नो वेबसाइटमा भिजा तीन हप्ता भित्र प्रोसेस गरिने बताएपनि कतिपय अवस्थामा चार महिनासम्म लाग्ने गरेको जनाइएको छ ।
बेलायतका प्रमुख १४२ विश्वविद्यालयहरूको समूह ‘युनिभर्सिटीज यूके’ ले अन्तर्राष्ट्रिय विद्यार्थीहरू बेलायत पढ्न आउन सकेनन् भने यसले अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा बेलायतका लागि वार्षिक करिब ४० अर्ब पाउन्ड बराबरको योगदान दिने गरेका छन् ।
२० वटा व्यावसायिक तथा प्राविधिक विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्ने ‘युनिभर्सिटी एलायन्स’ की प्रमुख कार्यकारी अधिकृत भेनेसा विल्सनले भिजा प्रक्रियामा हुने ढिलाइ र भिजा अस्वीकृत हुने घटनाहरूप्रति आफूहरू निकै चिन्तित रहेको बताएकी छिन्। उनले यसले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना संख्या र विश्वविद्यालयहरूको आर्थिक अवस्थामा समेत असर पारिरहेको उल्लेख गरिन्।
सत्तारुढ लेबर पार्टीले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिजासम्बन्धी कडा नियम लागू गरेपछि सेप्टेम्बर २०२६ अन्त्यसम्म अध्ययन भिजा आवेदनहरू अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले घटेर ३ लाख ५२ हजार ५०० मा झरेको छ ।
बेलायत सरकारले अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानी विद्यार्थीका लागि भिजामा प्रतिबन्ध समेत लगाएको छ ।



