बिहीबार, चैत १५, २०८०
14:20 | २०:०५

घुम्नैपर्ने विश्वका १० उत्कृष्ट गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट

रासस नोभेम्बर १०, २०२०


काठमाडौं  चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट ‘लोन्ली प्लानेट’ ले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ ।

विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ ।

अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने संस्थाले साइटमा लेखेको छ ।

अन्नपूर्ण सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्ला पाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न पनि अन्नपूर्णलाई सुझाएको छ । अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि चर्चित मानिन्छ । 

पर्यटकीय नगरी पोखराबाट उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला १४ हिमाल पर्छन् । जसमा संसारकै दशौँ अग्लो आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल हो । दश दिन लामो पदयात्रामा अन्नपूर्ण दक्षिण र अन्य दर्जनौँ साना मार्ग समेटिएका छन् जुन हिमाली गाउँमा गएर जोडिन्छन् । 

घुम्नैपर्ने १० गन्तव्यको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । त्यस्तै दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुञ्ज परेको छ । लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू