आइतबार, २५ जनवरी, २०२६
03:35 | ०९:२०

भिसी थापाको शालिकका लागि जुट्यो ६४ हजार पाउण्डको सहयोग प्रतिवद्धता

नेपाली लिङ्क मे २३, २०२०

अल्डरसट । बेलायतको अल्डरसटमा निर्माण हुन लागेको भिसी कुलबहादुर थापाको शालिकका लागि ६४ हजार पाउण्ड सहयोग प्रतिवद्धता जुटेको छ । अहिलेसम्म प्रतिबद्धता आएको सहयोगमध्ये २१ हजार पाउण्ड रकम संकलन समेत भइसकेको गोर्खा मेमोरियल प्रोजेक्टले जनाएको छ ।

शनिबार जुममार्फत बसेको अनलाइन बैठकमा ग्रेटर रश्मोर नेपाली कम्युनिटीका कोषाध्यक्ष टोप पल्लीले हालसम्मको कोष संकलनबारे अपडेट गराएका थिए । शालिक निर्माणका लागि १ लाख २५ हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ ।

बेलायती सेनामा अद्वितीय योगदान गर्ने सैनिकलाई प्रदान गरिने प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) विजेता पहिलो नेपाली कुलबहादुर थापाको शालिक निर्माणको काम यही महिनाको अन्त्यदेखि शुरु गर्ने तयारी छ । काम शुरु भएको ७/८ महिना अवधिमा शालिक निर्माण पूरा हुने लक्ष्य राखिएको छ ।

यसअघि शालिक निर्माणको कार्य अघि बढाउन ३ महिनाअघि गोर्खा मेमोरियल प्रोजेक्ट स्थापना गरिएको थियो । प्रोजेक्टमा ग्रेटर रश्मोर नेपाली कम्युनिटीको प्रतिनिधित्व गर्दै मेजर खिम गौचन संयोजक छन् भने गोर्खा वेल्फेयर ट्रस्टका क्याप्टेन ग्यारी घले प्रोजेक्ट मेनेजर छन् ।

स्थानीय रश्मोर बरो काउन्सिल र ग्रेटर रश्मोर नेपाली कम्युनिटीको संयुक्त बैठकको निर्णयअनुरुप अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा भिसी थापाको शालिक स्थापना गर्ने समझदारी भएको छ ।

यसअघि सम्पन्न प्रोजेक्टका विभिन्न बैठकमा रशमोर बरो काउन्सिलका प्रतिनिधिहरुलाई समेत सहभागी गराइएको थियो । गोर्खाहरुको सुनौलो इतिहास बोकेका भिसी कुलबीर थापाले ब्रिटिश आर्मीलाई आफ्नो काँधमा बोकेको शालिक निर्माण हुनेछ । जसको जिम्मा कलाकार यमी गुड्म्यानलाई दिइएको छ ।

शालिक निर्माणका लागि आवश्यक कोष जुटाउन यसअघि नै बेलायतस्थित विभिन्न व्यक्ति, संस्था एवम् समुदायलाई आव्हान गरिएको छ । सहयोगदातामध्ये १ हजार पाउण्ड वा बढी प्रदान गर्ने १ सय जनासम्म व्यक्ति वा संस्थाको नाम ताम्रपत्रमा लेख्ने निर्णय गरिएको छ ।

प्रोजेक्ट संयोजक मेजर खिम गौचनले सञ्चालन गरेको बैठकमा रश्मोर बरो काउन्सिलका काउन्सिल लिडर डेभिड क्लिफोर्ड, यमी गुडम्यान, ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष रामधन राई, पूर्व अध्यक्ष ओमप्रसाद थापा, निवर्तमान अध्यक्ष जीव बेल्बासे, उपाध्यक्ष नेम थापा, महासचिव प्रमिला राई, कोषाध्यक्ष टोप पल्ली, सदस्य बिर बलाल, सल्लाहकार एवम् प्रोजेक्टका सहकोषाध्यक्ष क्याप्टेन ताम ढेगा, क्याप्टेन बिर थापा, मगर संघ रश्मोर शाखाका अध्यक्ष हेमा राना लगायतको सहभागिता थियो ।

बैठकले यहि मे ३१ देखि शालिक निर्माणको काम सुरु गर्न यमी गुडम्यानलाई निर्देशन दिएको छ । शालिक निर्माणका लागि आवश्यक कोष व्यवस्थापनका लागि अन्य संघसंस्थाहरुलाई पत्र पठाएरै आग्रह गर्ने निर्णय गरिएको छ । ताम्रपत्रको डिजाइन, सालिक उद्घाटन मिति, प्रिन्सेस गार्डेनको कुन भागमा सालिक स्थापना गर्ने भन्ने जस्ता विषयमा आगामी बैठकमा छलफल गरिने भएको छ ।

प्रोजेक्ट संयोजक मेजर खिम गौचन र ग्रेटर रश्मेर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईले बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाहरुसमक्ष सहयोगको अपील गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू