सोमबार, १९ अक्टोबर, २०२६
20:20 | ०१:०५

महानवमीमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिन्छ तलेजु भवानी मन्दिर

रासस अक्टोबर १९, २०२६

काठमाडौँको हनुमानढोका दरबार परिसरमा रहेको वर्षमा एकपटक दसैँको रामनवमी दिन खुल्ने तलेजु भवानी मन्दिर दर्शन गर्न लामबद्ध भक्तजनहरु । फाइल तस्बिर- हरिराम भेटुवाल/रासस

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ देखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ देखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार, तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ०७:३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान १०:३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदै छ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ ।

विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइनेछ । त्यसै दिन बिहान ११:५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू