विविध सांस्कृतिक प्रस्तुतिसहित जिगेसाको दशैँतिहार शुभकामना कार्यक्रम

वेलिङ- ग्रीनवीच गोर्खा एक्स सर्भिसमेन एसोसिएसन (जिगेसा) ले विशेष सांस्कृतिक कार्यक्रमसहित वार्षिक भेटघाट तथा दशैँ–तिहार शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार, अक्टोबर १० मा साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स् चर्च हलमा आयोजित कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य चन्द्रबहादुर गुरुङ र खिनमाया आलेलाई प्रमुख अतिथि बनाएर सम्मान गरिएको थियो। संस्थाको इतिहासमै पहिलोपटक ज्येष्ठ नागरिक पुष र महिलालाई प्रमुख अतिथि बनाइएको आयोजकले जनाएको छ। उनीहरूलाई दोसल्ला तथा सल ओढाएर सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष हरिकुमार मल्ल विशेष कारणवश उपस्थित हुन नसकेपछि कार्यवाहक अध्यक्ष लेफ्टिनेन्ट चुत्रबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यवाहक अध्यक्ष श्रेष्ठ र प्रमुख अतिथि गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। नेपाल र बेलायतको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा संस्थाका दिवंगत सदस्यहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा जिगेसाकी उपाध्यक्ष विष्णुमाया गुरुङले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी दिएकी थिइन्। सो अवसरमा बेलायतस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, जिगेसाका सदस्य तथा उनीहरूका परिवारजनको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले जिगेसा केवल संस्था मात्र नभई सदस्यहरूको सुखदुःख जोडिएको भावनात्मक सम्बन्ध, पहिचान र साझा चौतारी भएको बताए।
उनले संस्थाले आफ्ना सदस्यहरूलाई अप्ठ्यारो पर्दा सहयोग गर्नुका साथै नेपालमा बाढी, पहिरो, आगलागी लगायतका विपद्का घटनामा समेत सहयोग गर्दै आएको उल्लेख गरे।
श्रेष्ठले कार्यक्रममा उपस्थित अतिथि, संघ–संस्थाका प्रतिनिधि, कार्यसमिति सदस्य, स्वयंसेवक, सञ्चारकर्मी तथा प्रायोजकलाई स्वागत गर्दै सहयोगका लागि धन्यवाद दिएका थिए। कार्यक्रममा नेपालबाट आएकी दोहोरी गायिका सविता परियारलाई पनि स्वागत गरिएको थियो।
उनले सामाजिक भावना, आपसी सद्भाव र सहभागिता नै संस्थाको मुख्य शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि एकता कायम रहने विश्वास व्यक्त गरे।
कार्यक्रमको अर्को आकर्षण राफल ड्र (भाग्यशाली चिट्ठा) रहेको थियो। विभिन्न व्यवसायी तथा प्रायोजकको सहयोगमा सातवटा पुरस्कार राखिएको थियो।
सियोन ज्वेलर्स, प्लमस्टेडका तर्फबाट प्रजल लिम्बूले प्रायोजन गरेको २७० पाउन्ड बराबरको खुकुरी ब्रोच प्रथम पुरस्कारका रूपमा राखिएको थियो। उक्त पुरस्कार काशीराम तामाङले प्राप्त गरे।
त्यसैगरी, अकला ज्वेलर्सका सञ्चालक मोहन गुरुङ र बनु गुरुङले प्रायोजन गरेको १०० पाउन्डको भौचर दोस्रो पुरस्कारका रूपमा राखिएको थियो। दोस्रो पुरस्कार गुमा श्रेष्ठले प्राप्त गरिन्।
प्लमस्टेडस्थित एभरेस्ट स्टोरका सञ्चालक भगवान श्रेष्ठले प्रायोजन गरेको मःमः पकाउने भाँडो तेस्रो पुरस्कार थियो। जुन पुरस्कार बब्बल जेवेलर्सले प्राप्त गरेको आयोजकले जनाएको छ।
चौथो पुरस्कारका रूपमा प्लमस्टेड ज्वेलर्सका बाबु गौतमले ३० पाउन्ड नगद प्रायोजन गरेका थिए। पाँचौँ पुरस्कार रेड लायन नुडल्स बारका सञ्चालक सुशील प्रजापति र सुरोज मास्केले प्रायोजन गरेको दुई जनाका लागि लन्च वा डिनर कुपन थियो।
छैटौँ र सातौँ पुरस्कारका लागि युकेको स्विटर स्टोर, असिमालाकी निर्मला गुरुङ तथा जिगेसाका तर्फबाट विभिन्न उपहार राखिएका थिए।

कार्यक्रममा पासा पुचः गुठी यूकेका अध्यक्ष सुशील प्रजापति, उपाध्यक्ष मिना गुरुङ, मगर समाजका खर्कबहादुर पुन, बेक्सली नेप्लिज कम्युनिटीकी अध्यक्ष विजिता गौतम, आरजीएनएसका अध्यक्ष ह्यारी गुरुङ, प्रतिभा नक्षत्रका राजेन्द्र खस, चाल्र्टन ठकुरी समाजकी उपाध्यक्ष कल्पना सेन, ओमप्रकाश देव, डा. हरिश जोशी र यम राया लगायतको उपस्थिति थियो।
जिगेसाका उपाध्यक्ष विष्णु थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम महासचिव गमबहादुर गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रमको संयोजन संस्थाकी पूर्वअध्यक्ष तथा सल्लाहकार लीलादेवी गुरुङले गरेकी थिइन्।
विविध सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान र रमाइलो भेटघाटसहित कार्यक्रम साँझ ८ बजे सम्पन्न भएको थियो।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



