फ्रान्समा प्रदर्शन हिंसात्मक बनेपछि कर्फ्यु आह्वान, युरोपभर बढ्दै हिंसा


शनिबार भएको झडपका क्रममा आगोको मुस्लो र पृष्ठभूमिमा आइफेल टावर । तस्विर- एएफपी/गेटी इमेजेज
पेरिस । फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धका प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय स्तरमा कर्फ्यु लगाउन आह्वान गरेका छन् । प्रदर्शनकारीहरूले सोमबार पेरिसस्थित लुभ्र सङ्ग्रहालयको प्रवेशद्वार अवरुद्ध पारेका छन् ।
सप्ताहन्तमा देशभर भएका प्रदर्शनका क्रममा पसलहरूमा तोडफोड र लुटपाट हुनुका साथै सार्वजनिक भवन तथा सवारीसाधनमा आगजनी भएको थियो ।
प्रहरीले अवस्थामाथिको नियन्त्रण गुमाएको गृहमन्त्री लरेन्ट नुनेजले बताएपछि प्रधानमन्त्रीले मन्त्रीहरूसँग सङ्कटकालीन बैठक गरेका थिए ।
आगामी शनिवार पुनः प्रदर्शन गर्ने ‘येलो भेस्ट’ आन्दोलनको घोषणापछि लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार आंशिक तथा स्थानीय कर्फ्यु लगाउन आग्रह गरेका हुन् । उनले सार्वजनिक व्यवस्था पुनः स्थापित गर्न सरकार प्रतिबद्ध रहेको र आवश्यक परे सङ्कटकाल घोषणा गर्नसमेत तयार रहेको बताए ।
गत शनिवार फ्रान्सभर करिब पाँच लाख मानिस जीवनयापनको बढ्दो लागतविरुद्ध सडकमा उत्रिएका थिए । चार सातादेखि जारी प्रदर्शन सुरुमा विद्यालयको वातावरण सुधारको माग गर्दै विद्यार्थीहरूले थालेका थिए । पछि यसले व्यापक जनआन्दोलनको रूप लिएको थियो ।
प्रदर्शनका क्रममा मुखुन्डो लगाएका समूहहरूले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै नगर भवनलगायत सार्वजनिक संरचनामा आगजनी र पसलहरूमा लुटपाट गरेका थिए । प्रहरीको कारबाहीमा प्रदर्शनकारीसमेत घाइते भएका छन् ।
न्याय मन्त्री जेराल्ड डारमानिनका अनुसार, सप्ताहन्तमा दुई हजार ४०० बढी मानिस पक्राउ परेका छन् । यसअघि सार्वजनिक विवरणमा झडपका क्रममा करिब एक हजार सुरक्षाकर्मी घाइते भएको उल्लेख गरिएको थियो ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्री नुनेजको राजीनामा प्रस्ताव अस्वीकार गरेका छन् । यद्यपि, देशभर करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिए पनि सुरक्षा तथा गुप्तचर संयन्त्रमा कमजोरी रहेको उनले स्वीकार गरेका छन् ।
फ्रान्सको चेम्बर अफ कमर्सका अध्यक्ष एलेन डि क्रेसेन्जोका अनुसार, हिंसाका कारण देशभर दुई हजारभन्दा बढी पसल प्रभावित भएका छन् । क्षति सयौँ मिलियन युरो पुग्ने अनुमान गरिएको छ ।
फ्रान्समा मार्चयता डिजेलको मूल्य करिब ४० प्रतिशत र पेट्रोलको मूल्य २५ प्रतिशतले बढेको छ । सन् २०२१ यता खाद्यवस्तुको मूल्य पनि २५ प्रतिशतले वृद्धि भएको छ ।
युरोपेली सङ्घले हिंसाको निन्दा गर्दै शान्तिपूर्ण प्रदर्शनको अधिकारको रक्षा हुनुपर्ने बताएको छ । जर्मनी र बेलायतले पनि हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच, इटाली, बेल्जियम, स्पेन र पोर्चुगलमा पनि जीवनयापन तथा आवासको बढ्दो लागतविरुद्ध प्रदर्शन भइरहेका छन् । फ्रान्समा भने आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा अशान्तिले राजनीतिक तनावसमेत बढाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



