शनिबार, वैशाख ८, २०८१
04:06 | ०८:५१

‘दिल रानी’ बाट चम्किएकी सेलिनाको यात्रा बलिउडसम्म

नेपाली लिङ्क मे २२, २०२०

गायिका सेलिना कुँवर

लन्डन । नेपाली, भोजपुरी, मैथिली र हिन्दी भाषाका गीत गाउन उत्तिकै रुची राख्दै आएकी गायिका सेलिना कुँवरले सांगीतिक क्षेत्रमा लगभग ६ वर्ष व्यतित गरिसकेकी छन् । करिब एक दर्जनभन्दा बढी गीतहरु रेकर्ड गराइसकेकी उनका कतिपय गीत रिलिज हुने क्रममा रहेको उनले बताइन् ।

पछिल्लो समय नेपाली चलचित्र ‘नेप्टे’ को ‘दिल रानी’ बोलको गीतले उनलाई नेपाली सांगीतिक क्षेत्रमा निकै सफलता दिलायो । बलिउडका लोकप्रिय गायक उदित नारायण झासँग स्वरबद्ध उक्त गीतले नेपाली सांगीतिक क्षेत्रमा निकै लोकप्रियता पायो ।

त्यसो त उनले बलिउडकै हस्ती उदित नारायण झा लगायत कुमार सानु, जाबेद अलि, बिनोद राठोर लगायत थुप्रै चर्चित गायकसँग सांगीतिक सहकार्य गरिसकेकी छन् । भोजपुरी गीतका सुपरस्टार मानिने भोजपुरी फिल्मका गायक, अभिनेता तथा टेलिभिजन प्रस्तोता दिनेशलाल यादव (निरहुआ) संग पनि उनले भोजपुरी गीत गाइसकेकी छन् ।

‘धुकुर धुकुर करे’, ‘ए करेजा’, ‘किसन प्यार’ जस्ता गीतहरु उनका लोकप्रिय भोजपुरी गीतमा पर्दछन् । त्यसैगरी, उनले ‘मुटु ढुक ढुक’, ‘क्या जवानी छड्के जवानी’ लगायत केहि गीतहरु गायक राजेश पायल राई, सुगम पोखरेल जस्ता चल्तीका गायकहरुसंग पनि गाइसकेकी छन् । साथै उनले नेपाली सांस्कृतिक पर्वका रुमा मानिने छठ, होली तथा तीज विशेष गीतहरु पनि गाएकी छन् । सांगीतिक कार्यक्रमको शिलशिलामा उनले भारतका विभिन्न शहर लगायत खाडी मुलुकहरुको भ्रमण गरिसकेकी छन् ।

पर्सा जिल्लाको विरगंजमा हुर्किएकी सेलिनालाई तराईको प्रभाव पर्नु स्वभाविक नै हो । प्रायजसो तराईका विभिन्न स्थानहरुमा हुने सांगीतिक कार्यक्रमहरुमा उनलाई भोजपुरी गीत नगाई हुन्न । ‘स्टेजमा मेरो नाम लिनेवित्तिकै दर्शकहरुले भोजपुरी गीतको अपेक्षा गर्छन्, अनि त नेपाली गीतलाई भन्दा भोजपुरी गीतलाई नै प्रथामिकता दिन बाध्य हुन्छु‘ नेपाली लिंकसंगको संवादमा सेलिनाले भनिन् ।

कोभिड १९ को वर्तमान महामारीलाई मध्यनजर गर्दै सेलिनाले मन्त्री प्रभु शाहको परिकल्पनामा चर्चित गायक, संगीतकार तथा निर्देशक सन्तोष राजसंग ‘हाथ से केहु हाथ मिलावना पाट जईहें कोरोना’ बोलको कोरोनासम्बन्धी जनचेतनामूलक भोजपुरी गीत पनि गाएकी छन् ।

उनलाई मैथिली भाषामा समेत गीत गाउन ‘अफर’ आएको छ । मैथिली भाषा बोल्न नआएपनि गीत गाउन सकिने उनले बताइन् । ‘गीत गाउनकै लागि भाषा पनि जान्नुपर्छ भन्ने हुदैन, लिरिक्सको आधारमा गीत गाउन सकिन्छ’, उनले थपिन् ।

हाल उनी आफ्नो ‘बिग’ एल्बमको तयारीमा रहेकी छन् । यो प्रोजेक्टको लागि रमेश कोईरालाको शब्द रचना, सन्तोष राजको संगीतमा बलिउडका हस्तीहरु उदित नारायण झा र कुमार सानुसँग उनले छुट्टाछुट्टै दुईवटा गीत रेकर्ड गरिसकेकी छन् । त्यसैगरी चर्चित बलिउड गायक जाबेद अलीसँग पनि उनले गीत रेकर्ड गराएकी छन् ।

मुम्बाईस्थित साना रेकर्डिङ स्टुडियो र लता मंगेशकर स्टुडियोमा उनले गीत रेकर्ड गराएकी हुन् । उनका यी दुई गीत प्रतिष्ठित एसराज प्रोडक्सन प्रालीको व्यवस्थापनमा तयार हुनेछन् ।

देश-विदेशका सांगीतिक कार्यक्रममा व्यस्त रहँदै आएकी सेलिनाले भोजपुरी गीत, संगीतमा पनि लोकप्रियता कमाइरहेकी छन् ।

हाल आफ्नो ‘बिग’ एल्वमको प्रोजेक्टलाई कोरोना संक्रमणका कारण अघि बढाउन नसकिएको सेलिनाले बताइन् । कोरोनाले विश्वलाई नै आक्रान्त बनाइरहेको बेला अहिले यहि महामारी परास्त गर्नु नै सबैभन्दा महत्वपूर्ण भएको उनी बताउँछिन् ।

एक कलाकार भएको नाताले  नेपालमा कोरोना पीडितहरुको लागि कलाकारहरुको तर्फबाट खासै पहल नगरिएको महशुस सेलिनाले गरेकी छन् । अग्रज र स्थापित कलाकारहरुले यसको पहल गर्नुपर्ने उनको धारणा छ । खासगरी बिहान बेलुका छाक टार्न संघर्ष गर्नेहरुका लागि लकडाउनले नराम्रो असर पारेको उनलाई लागेको छ । कोरोना संक्रमणबाट सुरक्षित रहन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनी बताउँछिन् ।

भोजपुरी भाषामा गाइएको सेलिनाको जनचेतनामूलक कोरोना गीत, 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू