बिहीबार, २२ अक्टोबर, २०२६
19:25 | ००:१०

तमुधीं यूके आजीवन सदस्य रात्रीभोज, संस्थामा योगदान गर्ने सदस्यहरुलाई विशेष सम्मान

नेपाली लिङ्क अक्टोबर २२, २०२६

लन्डन- बेलायतमा हरेक वर्ष आयोजना हुंदै आएको तमुधीं यूकेको आजीवन सदस्य रात्रीभोज विविध कार्यक्रमसहित गत शनिबार सम्पन्न भयो।

अल्डरसटको एम्पायर ब्यांकेटिङमा तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी तथा विशेष अतिथि तमु प्ये ल्हुसंघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ थिए।

सो अवसरमा संस्थालाई महत्वपूर्ण योगदान गर्ने सदस्यहरुलाई आदर्श तमु तथा तमुस्यो शीर्षकको विशेष अवार्ड प्रदान गरिएको छ। यस वर्ष तमुधीं यूकेले आदर्श तमु २०२६ का रुपमा सन्त कुमार गुरुङ, कोलप्रसाद गुरुङ, बेनकुमार गुरुङ, ललितमान गुरुङ, ह्यारी गुरुङ र चन्द्रबहादुर गुरुङलाई सम्मान गरेको छ । त्यस्तै, लिडिया गुरुङ र विन्दु गुरुङलाई “आदर्श तमुस्यो २०२६” अवार्डबाट सम्मान गरियो।

अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि राजदूत विपिन दुवाडी, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, क्याप्टेन राजु गुरुङ र कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा नयाँ आजीवन सदस्यलाई स्वागत तथा सम्मान गरियो । त्यस्तै, कार्यक्रममा उत्कृष्ट तमु पहिरनमा पुरुषतर्फ कुलचन्द्र गुरुङलाई प्रथम र दिक्पाल गुरुङलाई दोश्रो तथा महिलातर्फ बिनु गुरुङलाई प्रथम र यामकुमारी गुरुङलाई दोश्रो पुरस्कार प्रदान गरिएको थियो।
सोही अवसरमा तमुधीं यूकेलाई निरन्तर सहयोग गर्दै आएका साउथ इष्ट रिजनल तमुधीं लन्डनका सेभेन सिस्टर्स नामबाट परिचित दिदीबहिनीहरु पार्बती (माइला) गुरुङ, कमला गुरुङ, बिष्णु गुरुङ, कमला गुरुङ, तारा, कमला, बेनिता, लक्ष्मी गुरुङ, जंगबहादुर गुरुङ र काठमाडौस्थित होटेल व्यवसायी विजय गुरुङलाई विशेष सम्मान गरियो ।

कार्यक्रममा तमुधीं यूकेको परिचय, विगतमा ‘आदर्श तमु र तमुस्यो’ पदकबाट सम्मानित व्यक्तित्व, तमु सांस्कृतिक प्रतिष्ठान नेपालको गतिविधि तथा भोटेकोशी बाढीपीडितलाई राहत वितरण र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्न नेपाल गएको तमुधीं यूकेको ६ सदस्यीय टोलीले गरेका गतिविधिसम्बन्धी भिडियो प्रस्तुत गरिएको थियो।

कार्यक्रममा तमुधीं यूकेका ट्रष्टी, पूर्वप्रधानाध्यापक, साहित्यकार, चलचित्र निर्माता तथा गीतकार एकेन्द्र गुरुङको रचनामा पवित्र गुरुङको स्वर रहेको गीत विमोचन गरिएको थियो। त्यसैगरी तमुधीं लन्डन इकाइका महासचिव तथा युवा साहित्यकार विकास (रक) गुरुङको रचनामा पवित्र गुरुङले स्वर दिएको ‘हे भगवान् के विपत् हो यो’ गीत पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, प्रमुख अतिथि राजदूत विपिन दुवाडी र कार्यक्रमका सभापति तथा अध्यक्ष जुमकाजी गुरुङले शुभकामना मन्तव्य राखेका थिए।
त्यस अवसरमा संस्थाका आजीवन सदस्यहरुका साथै मानार्थ सदस्य, बेलायतका विभिन्न बरोका नेपाली मूलका मेयर तथा काउन्सिलरलगायतको उपस्थिति थियो।
महासचिव डा विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष परशु गुरुङले गरेका थिए।

संस्थाकी सांस्कृतिक सहसचिव बिनु गुरुङको संयोजन गरेको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका गायिका पवित्र गुरुङ र प्रिया गुरुङले सांगीतिक प्रस्तुति गरेका थिए। नेपालबाटै आएका कलाकार शिवदास गुरुङ तथा स्थानीय कलाकारहरूको आकर्षक नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

तस्विरहरु: मिलन तमु/गोर्खा मिडिया

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू