परदेशमा विवाह, नेपाली संस्कृतिको संरक्षण र नयाँ पुस्तालाई प्रेरणा


प्रणय राई र श्रेया राईको विवाहको निम्तो पाएपछि मनमा खुसीसँगै इटाली पुगेर विवाह समारोहमा सहभागी हुने उत्साह जाग्यो । तर, नेपाली पासपोर्टमा विदेश यात्रा गर्नु त्यति सहज कहाँ थियो र ! सेन्जेन भिजाका लागि आवश्यक कागजात जुटाउनेदेखि आवेदन प्रक्रियाका विभिन्न झन्झट पार गर्दै अन्ततः भिसा स्वीकृत भएपछि मात्र टिकट काटियो ।
टिकट हात परेपछि भने बल्ल इटाली यात्रा र विवाह समारोहमा सहभागी हुने उत्साहले वास्तविक रुप लिन थाल्यो। नयाँ देश, नयाँ परिवेश र नयाँ अनुभवसँगै आफन्त तथा आत्मीयजनसँग विवाहको खुसी साट्ने कल्पनाले यात्रा नजिकिँदै जाँदा मनमा कौतूहल र उमङ्ग झनै बढ्दै गयो।
विवाह केवल दुई व्यक्तिको मिलन मात्र होइन, दुई परिवार र पुस्तालाई एउटै सूत्रमा बाँध्ने जीवनको विशेष उत्सव हो। आफ्नो जन्मभूमि भन्दा टाढा इटालीको फानोस्थित भिल्ला युलियामा सम्पन्न प्रणय र श्रेयाको विवाह आधुनिक व्यवस्थापन, इटालियन आतिथ्य, नेपाली पारिवारिक आत्मीयता र किराँती संस्कार–संस्कृतिको अनुपम संगम बनेको थियो। ‘प्रणय’ अर्थात् प्रेम र अनुराग, ’श्रेया’ अर्थात् शुभ, कल्याण र उत्कृष्टता–नामझैँ उनीहरूको वैवाहिक यात्रा पनि प्रेम, सुख र समृद्धिले भरिपूर्ण रहोस् भन्ने शुभकामना।
इटाली प्रस्थान र भिल्ला युलिया (Villa Giulia) मा स्वागत

विवाह समारोहमा सहभागी हुन हामी ग्याटवीक विमानस्थलबाट इजी जेटको उडानमार्फत इटालीतर्फ प्रस्थान गर्यौँ। करिब दुई घण्टाको हवाई यात्रापछि रिमिनी विमानस्थलमा अवतरण भयौं। विमानस्थलमा ओर्लिएपछि अध्यागमन तथा बायोमेट्रिक प्रक्रिया पूरा गर्न केही समय लाग्यो। त्यसपछि आयोजकले व्यवस्था गरेको कोचमार्फत करिब एक घण्टाको यात्रापछि फानोस्थित भिल्ला युलिया पुग्यौं।
आ–आफ्नो कटेजको टुंगो लागेपछि कोठामा सामान राखेर स्विमिङ पुलछेउको बारमा जाने निर्देशन भयो। नीलो कञ्चन स्विमिङ्ग पुलको छेउमा चिटिक्कको सानो बार, अनि अनेक प्रकारका आफ्नो रुचिका पेय पदार्थ। मनमोहक साँझ, पाश्र्वमा मधुरो संगीत र मेरो हातमा जिन एन्ड टोनिक, आहा कति रमाइलो क्षण। यो थियो केवल रिसेप्सन ड्रिन्क्स, अनि साथमा टिपनटापन, बल्ल शुरु भयो मिठो भेटघाट र भलाकुसारी। कोही आफन्त थिए भने कोहि प्रथम पटक बांधिदै थियौं आफन्तको साइनोमा।
परिचय, हाँसो, खुशी र आत्मीय कुराकानीले वातावरण क्या रमाइलो। यो आत्मीय स्वागत पछि हामी मुख्य रेस्टुरेन्टतर्फ लाग्यौँ रात्रीभोजका लागि, जहाँ सजाइएको थियो विभिन्न स्थानिय इटालियन परिकारहरु। भोजनपछि फेरि बारमा विभिन्न पेय पदार्थ सहित रमझम चलिरह्यो बिहानको दुई बजेसम्म। त्यो अविस्मरणीय साँझले भोलिपल्ट हुने विवाह समारोह प्रतिको उत्सुकता झनै बढाएको थियो।
विवाहको मुख्य दिन

८ अक्टोबर, २०२६, विवाहको मुख्य दिन। बिहान ८ देखि १० बजेसम्मको कन्टीनेन्टल ब्रेकफास्टमा थियो अनगिन्ती परिकार र ताजा फलफूल, चिया, कफी, धेरै प्रकारका जुस। विवाहको सबैभन्दा विशेष पक्षमध्ये एक थियो बेहुला, बेहुली र उपस्थित अधिकांश पाहुनाहरू किराँती भेषभूषामा सजिनु।
विदेशी भूमिमा आफ्नै जातीय पहिचान झल्किने पोशाक, संस्कार र परम्परालाई यसरी प्रस्तुत गर्दा झल्किएको थियो स्वदेशी रौनकता। म बेहुला पक्षबाट ‘कलिया’को भूमिका निर्वाह गर्दै थिएं जीवनमा पहिलोपटक । त्यसैले विवाहलाई परम्परागत विधि अनुरुप बेहुला पक्षको कलियाको भूमिका निभाउने जिम्मेवारी आयो ममा। दिउँसोको भोजनपछि सुरु भयो औपचारिक विवाह समारोहको तयारी।
बेहुली पक्षका कलियाका रूपमा बेहुलीकै काका हुनुहुन्थ्यो। प्रथम पटकको जिम्मेवारी वहन गर्ने प्रयास थियो मेरो। त्यसका लागि रेष्टुरेन्टकै काउचमा बसेर कलिया र बेहुलीका बाबासंग जिम्मेवारी र कार्यविधिका विषयमा छलफल भो कफीका साथ । विशेष प्रतिकुल मौसमका कारण पूर्व निर्धारित समय र स्थानमा कार्यक्रम सञ्चालन गर्न नमिले पछि वैकल्पिक स्थानमा नयाँ सेटिङ मिलाउने काम गर्नु पर्दा केही ढिला हुन गएको थियो। तर, त्यहाँका स्टाफहरुको दक्ष कार्यशैलीले गर्दा एकैछिनमा ब्यवस्था गरि केहि ढिला भएपनि कार्यक्रम अगाडि बढाउन वैकल्पिक स्थानमा सेटिङ छिट्टै गरिदिए । बाहिरको मनमोहक दृष्यमा गरिएको योजना सफल नहुंदा अलिकति खल्लो महसुस त भएकै हो तर प्रकृतिको सामु कसैको केही लाग्दैन ।
निर्धारित तालिका अनुसार बेहुला लिएर जन्ती जाने, जन्ती पर्सिने, मण्डपमा जन्ती र बेहुलालाई राखे पश्चात किराँती मुन्धुमी गीतको धुनसंगै बेहुलीको आगमन हुन्छ। बेहुलीको आगमन पश्चात स्वयंवर, औंठी साटासाट, बाग्दत्ता र सिन्दूर पोतेको कार्यक्रम, सम्धी सम्धीनीबीच चिनो साटासाट, साइनो केलाएर ढोगभेट तथा चिनजान र शुभकामना आदानप्रदान लगायतका परम्परागत कार्यहरु किराँती संस्कारमा आधारित प्रक्रियाहरु थिए।
यी विधिहरु केवल विवाहका औपचारिक प्रक्रिया मात्र थिएनन्, तिनमा परिवार र नातागोता बीचको सम्बन्ध, सामाजिक जिम्मेवारी, आशीर्वाद र पुस्तौं देखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचान जोडिएको थियो। विदेशको भूमिमा पनि यस्ता विधिलाई यथोचित सम्मान र व्यवस्थित ढङ्गले सम्पन्न गर्ने सुयोग र साक्षी बन्न पाउँनु हाम्रो अहोभाग्य हो।
विवाहका परम्परागत विधिहरु सकिएपछि स्याम्पेन टावर सेरेमनी भयो, वाह…। बेहुला र बेहुलीको बाहुलीबाट स्याम्पेन बाँढिए पछि चियर्स….कल्पना गरौं त! अब शुरु भयो विवाह उत्सवको वास्तविक पार्टी। सबै जना बारको वरिपरी रमाउंदै नव–विवाहित जोडीसंग फोटो खिच्न केहि बेर ब्यस्त, अनि बन्दै गयो विवाहको उल्लासपूर्ण वातावरण, स्वादिष्ट खानेकुरा, रमाइलो वातावरणले माहोल झन् उत्साहप्रद बन्यो । अनि कार्यक्रम अर्को चरणमा प्रवेश भयो ।
रात्रीभोज र उत्सवले भरिपूर्ण रात

संस्कारी माहोलको विवाहपछिको साँझ थियो औपचारिक रात्रिभोज। भोजका लागि पहिरन फेरेर चिटिक्क सुट तथा सुन्दर पोसाकमा सजिँदै निर्धारित समयमा पुग्यौं तयार गरिएको खुला मार्कीभित्र। त्यहाँ व्यवस्थित सिटिङ प्लानअनुसार आ–आफ्नो टेबलमा बसाइ भयो । सजाइएका थिए टेबलहरु ताजा फूलका गुच्छाहरुले। टेबलमा रेड वाइन र कुलरमा चिसो वाइनले पाहुनाहरुलाई स्वागत गरेको आहा…कति व्यवस्थित प्रितीभोज। दिउँसोको स्याम्पेन समारोहदेखि सुरु भएको उत्सवको रौनकता अझ चुलिंदै गएको थियो साँझपख ।
सबै पाहुनाहरु आ–आफ्नो स्थानमा बसेपछि परिचयबाट कार्यक्रमको शुरुवात भयो। त्यसपछि दक्ष वेटरहरूले पस्किन थाले स्वादिष्ट स्थानीय इटालियन परिकारहरु। क्रमशः स्टार्टर, मुख्य भोजन र डिजर्टसहितको व्यवस्थित भोजले पाहुनाहरूलाई दिएको थियो इटालियन खानपानको स्वाद लिने मौका। भोजनको समयमा भावुक मन्तव्य सुन्यौं बेहुला र बेहुलीका बाबा, आमा, दिदी र साथीहरुबाट। विशेष ज्यादै मिठा र भावुक थिए बेहुला र बेहुलीका विगतलाई उहाँका साथीहरुले खोल्नु भएको सम्झनाका पोकोहरु।
उक्त साँझ बेहुलाको तर्फबाट दिदी शशीकला राई, साथी प्रदीप मगर, दिदी कुसुम राई, बाबा पदम राई तथा बेहुलीको तर्फबाट साथी प्रेरणा कार्की र बाबा दुर्गाबहादुर राईले बोल्नु भएको थियो नोस्टाल्जिक भावनाका लहरहरु। अन्त्यमा विवाहमा उपस्थित भएका सम्पूर्ण पाहुनाहरुलाई अन्तर्मनबाटै बेहुला प्रणयले आभार व्यक्त गर्दै धन्यवाद दिए । उनका शब्दमा स्पष्ट झल्किन्थ्यो परिवार, आफन्त र साथीभाइ प्रतिको सम्मान तथा जीवनको नयाँ मोडमा प्राप्त भएको पारिवारिक साथ र सहयोगको खुसी।
औपचारिक रात्रिभोजपछि उत्सवमा अझ जीवन्त थपिंदै गयो बारको मुख्य हलमा गीत संगीत र नाचगानले। पिउने, नाच्ने, रमाउने र एकअर्कासँग खुसी साट्ने क्रम चलिरह्यो रात निक्कै रात छिप्पिइसक्दा सम्म। के जेठो, के कान्छो, के वालक, के वयस्क, के बृद्ध सबै एउटै स्टेजमा रमाइलो नाचगानसाथ विवाह उत्सव भव्यताका साथ मनायौं, मज्जाले खायौं, पियौं अनि रमायौं।
व्यवस्थापन र पाहुनाप्रतिको सम्मान
यस विवाहको अर्को उल्लेखनीय पक्ष थियो सुरुदेखि अन्त्यसम्मको व्यवस्थापन । आवास, भोजन, यातायात, विवाहका विधि, औपचारिक रात्रीभोज र पाहुनाहरूको सुविधालाई योजनाबद्ध ढङ्गले मिलाइएको थियो। विदेशमा ठूलो सङ्ख्यामा आफन्त र साथीभाइलाई निमन्त्रणा गरेर यस्तो समारोह आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण काम हो। तर यो कुरा बेहुला बेहुलीको संयुक्त प्रयासमा सम्पुर्ण जिम्मेवारी वहन गरी पाहुनाहरुको सुविधामा कुनै कमी हुन नदिनु व्यवस्थापन कलाको एक सवल पक्ष हो।
आवासदेखि यातायातसम्मको व्यवस्था, समयतालिकाको समन्वय र विभिन्न उमेर समूहका पाहुनालाई ध्यानमा राखिएको आतिथ्यले आयोजक परिवारको लगनशीलता र उदारता स्पष्ट झल्किन्छ। पाहुनाको उमेर, रुचि र आवश्यकतालाई ध्यानमा राखेर गरिएको यस्तो व्यवस्थापन साँच्चिकै प्रशंसनीय कार्य हो भन्नुमा अत्युक्ति हुदैन। ५६ जनाका लागि खाने, पिउने, बस्ने सम्पूर्ण कुरा व्यवस्थापन गर्नु सानोतिनो प्रतिद्धता हैन त्यो पनि इटालीको फानोमा।
बोलोग्ना हुँदै बेलायततर्फ
अक्टोबर ९, २०२६ – बिहान ८ देखि १० बजेसम्मको खाजापछि ११ बजे कोठा छोड्ने समय तोकिएको थियो। अन्तिम बिहान पनि सबैजना एकै ठाउँमा भेला भएर सदा झैं खाजा खाने क्रम भयो। कोहि अघिल्लो रातको रमझमले भारी टाउको लिएर कडा कफीको सहारा लिँदै थिए। त्यसबाट लख काट्न सकिन्थ्यो अघिल्लो रातको रमझम कति रमाइलो थियो भनेर।
कोठा वा कटेजका साँचो बुझाएर आ–आफ्नो लगेज लिएर निर्धारित स्थानमा कोचको पर्खाइमा बस्यौं। फर्कने उडान फरक–फरक समयमा भएकाले कतिपय पाहुना ट्याक्सीमार्फत आ–आफ्नो गन्तव्यतर्फ लागे। हामी भने बेहुला–बेहुलीसहित एउटै फ्लाइटमा फर्कने भएकाले व्यवस्था गरिएको कोचद्वारा बोलोग्ना एयरपोर्टतर्फ हानियौं। करिब दुई घण्टाको यात्रापछि बोलोग्ना विमानस्थल पुग्यौँ।
फर्कने क्रममा हामीले ब्रिटिश एयरवेजको उडान रोजेका थियौं। हाम्रो गन्तव्य हिथ्रो विमानस्थल थियो भने अन्य केही पाहुनाको उडान स्टान्स्टेड विमानस्थलका लागि थियो। उडानको समय कुर्दै विमानस्थलमा कफी र केही खानेकुरा खायौं। चेक–इन खुल्ने समय भएपछि लगेज बुझाएर अध्यागमन प्रक्रिया तर्फ लाग्यौं। लामो पङ्क्तिमा बसेर बायोमेट्रिक जाँच पार गरेपछि प्रतीक्षालय पुग्यौं। केही ढिलाइ भए पनि अन्ततः विमानमा चढ्यौं र करिब दुई घण्टापछि हिथ्रो विमानस्थलमा अवतरण भयौं।
त्यहाँ पनि अध्यागमनको लामो लाइन पार गरेर लगेज लिएपछि ट्याक्सीमार्फत प्रिमियर इनतर्फ लाग्यौं। विवाह समारोहमा सहभागी धेरै पाहुनाका लागि बेहुलाले त्यहाँ कोठाहरूको व्यवस्था गरेका रहेछन्। विवाहले इटालीको पहिलो चरणको पूर्णता पाए पनि बेलायत फर्किएपछि किराँती संस्कार अनुसार बेहुलीलाई बेहुलाको घर भित्रयाउने महत्त्वपूर्ण विधि बाँकी नै थियो।
बेहुली भित्रयाउने विधि
बेहुलाका आमाबुबा, दिदी, भेना तथा केही आफन्त पहिलो उडानबाटै आइपुगेर घरमा आवश्यक तयारीमा लागेका थिए। दोस्रो उडानबाट आएका बेहुला बेहुली लगायत हामीलाई दिपक (बेहुलाका भेना) ले प्रिमियर इनमा लिन आए। पुख्र्यौली टेकबहादुर राई र आदर्श राईको अगुवाइ तथा निर्देशनमा बेहुलीलाई सङ्घार र दलानबाट परम्परा अनुसार स्वागत गर्दै घरभित्र प्रवेश गराइयो। त्यसपछि माइती पक्षबाट बाग्दत्ता दिएर बिदा गरी पठाएको छोरीलाई बुहारीका रूपमा नयाँ घरमा स्वागत गर्ने प्रक्रिया सम्पन्न भयो। बुङ्गलावा राई समुदायको रीतिरिवाज अनुसार बेहुलीलाई घरमा भित्रयाउने विधि हेङ्गखुवाको प्रकृयालाई जाने सके सम्म स्थान र परिवेश अनुसार सम्पन्न गरियो। चुलामा चढाउने, धनसार देखाउने, घरको जिम्मेवारी सुम्पने, टीकाटालो गर्ने र आशीर्वाद दिने जस्ता महत्त्वपूर्ण विधिहरु पूरा गरियो।
यी संस्कारले विवाहलाई केवल सामाजिक समारोहमा सीमित नराखी परिवार, पुर्खा, परम्परा र नयाँ सम्बन्धको निरन्तरतासँग जोड्न सफल भएको यो विवाह हामी सबैका लागि विशेष रह्यो। इटालीमा भव्य रुपमा सम्पन्न भएको विवाहलाई बेलायतमा पुख्र्यौली संस्कार अनुसारको विधिले घर भित्रयाएर पूर्णता पाएको थियो। अन्ततः किराँती प्रथा जन्म मृत्युको प्रसाद कोदो कोदोको रक्सी सगुन पिउँदै कार्यक्रमको समीक्षा र दिनभरिका अनुभव आदान प्रदान गरियो। हाँसो, आत्मीय कुराकानी र एक इतिहास रचेको सम्झनाहरु साटासाट गर्दै रात निकै छिप्पिएपछि हामी प्रिमियर इनतर्फ फर्कियौँ।
संस्कृति संरक्षण र नयाँ पुस्ताका लागि प्रेरणा
भोलिपल्ट बिहान पुनः भेटघाट खाजा र धन्यवाद आदान प्रदानसँगै लामो भलाकुसारी सुरु भयो। विवाहका अनुभव, यात्रा, परिवार र भविष्यका योजनाबारे कुरा गर्दै पुरै दिन बिताइयो। दिउँसोको भोजन र बिहे घरको अन्तिम खाना खाएर ट्याक्सीमा आ–आफ्नो घरतर्फ लाग्यौँ। यसरी इटालीको फानोमा सुरु भएको विवाह समारोह, बेलायतमा दोश्रो चरणको बेहुली भित्रयाउने विधि पूरा गर्दाको अनुभव र पारिवारिक भेटघाटले जीवनभर सम्झिरहने अनुपम अवसर हामीलाई प्राप्त भयो।
समग्रमा प्रणय राई र श्रेया राईको विवाह एउटा भव्य समारोह मात्र थिएन। विदेशमा रहेर पनि आफ्नो संस्कार, संस्कृति र पहिचानलाई जीवित राख्न सकिन्छ भन्ने सन्देश दिने ऐतिहासिक र स्मरणीय अवसर थियो। इटालीको सुन्दर वातावरणमा आधुनिक शैलीको विवाह आयोजना गर्दै किराँती परम्पराका विधिहरुलाई उचित स्थान दिनु प्रशंसनीय प्रयास थियो। बाजेबज्यै, आमाबुबा, छोराछोरी र नाति नातिनासम्मका पुस्ता एउटै समारोहमा सहभागी हुनु आफैँमा महत्त्वपूर्ण पक्ष थियो। यस्ता अवसरले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कारसँग परिचित गराउनुका साथै पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्त्व पनि बुझाउँछन्। यो विवाहले बुङ्गलावा परिवारमा एउटा इतिहास लेखिएको छ भन्नुमा कुनै अत्युक्ति नहोला।
विदेशमा यस्तो विवाह आयोजना गर्नु सजिलो काम होइन। विभिन्न समस्याका बाबजुद पनि टाढा टाढाबाट आउने पाहुनाको यात्रा, आवास, खानपान, यातायात, समयतालिका र सांस्कृतिक कार्यक्रमको समन्वय गर्नु चुनौतीपूर्ण काम हो जसलाई सहजरुपमा व्यवस्थित र अविस्मरणीय प्रकारले सफलतापूर्वक समन्वय गरी सम्पन्न गर्नु ज्यादै सह्रानीय र उदाहरणीय काम हो। सम्पूर्ण यात्रालाई सुरुदेखि अन्त्यसम्म सहज बनाउनुमा प्रणय र श्रेयाको परिवार विशेष धन्यवादका पात्र छन्। मृदुभाषी, भद्र तथा सालिन व्यक्तित्व बेहुला प्रणय र बेहुली श्रेयाको यो शुभकार्यमा सहभागी हुन पाउनु हाम्रो सौभाग्य हो। जीवनको यस्तो महत्त्वपूर्ण समारोहमा निमन्त्रणा पाउनु र परिवारको आत्मीयताको हिस्सा बन्न पाउनु हामी सबैका लागि गर्व र खुसीको विषय हो।
अन्त्यमा, प्रिय काका प्रणय र काकी श्रेया तपाईंहरुको वैवाहिक जीवन सधैँ सुखमय, सौहार्दपूर्ण, प्रेमपूर्ण र सुन्दर रहोस्। जीवनका हरेक मोडमा एकअर्काको परिपूरक, सम्मान र विश्वास कायम रहोस्। तपाईंहरुको घरपरिवार सधैँ हाँसो, खुसी, समृद्धि र आत्मीयताले भरिपूर्ण रहोस्। हार्दिक बधाई तथा सुखद दाम्पत्य जीवनका लागि अनन्त शुभकामना ।
-सेमन्त वालाक्पा राई (सेवारा)
संखुवासभा
हाल बेलायत, मेडस्टोन
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



