लन्डनको अर्पिङटन नेप्लिज् सोसाइटीबाट बाढीपीडित राहतमा ५ लाख सहयोग

लन्डन- लन्डन ब्रोम्ली बरोको अर्पिङटन क्षेत्रमा बस्ने नेपालीहरुले पनि नेपालका बाढीपीडितहरुका लागि आर्थिक सहयोग गरेका छन्।
अर्पिङटन नेप्लिज् सोसाइटी यूकेले लन्डनस्थित नेपाली दूतावासमार्फत् २ हजार ५ सय पाउण्ड (करिब ५ लाख ५ हजार रुपैया ) बाढीबाट प्रभावितहरुलाई पठाएको हो।
विहिबार अध्यक्ष जीना थापाको नेतृत्वमा सोसाइटीको टीम दूतावास पुगेर सहयोग चेक कार्यवाहक राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरेको छ।
चेक ग्रहण गर्दै कार्यवाहक राजदूत दुवाडीले सहयोगका लागि सोसाइटी र सम्पूर्ण सदस्यलाई धन्यवाद दिए । उनले सहयोग रकम यथासक्य चांडो प्रभावितहरुसम्म पुर्याउन दूतावासको पहल रहने प्रतिवद्धता जनाए।
सोसाइटी अध्यक्ष जीना थापाले सहयोगदाता सबैप्रति संस्थाको तर्फबाट आभार प्रकट गरिन्।
चेक हस्तान्तरणका अवसरमा सोसाइटीका संस्थापक अध्यक्ष जगतबहादुर गुरुङ, उपाध्यक्ष वासु सापकोटा, सचिव दिलिप गुरुङलगायतका पदाधिकारी एवम् सदस्यहरुको पनि उपस्थिति थियो।
सोसाइटीले नेपालमा बाढीपछि पूर्व निर्धारित तीज कार्यक्रम स्थगन गरी सोही कार्यक्रमको लागि संस्थाका सदस्यहरुबाट संकलित रकम बाढीपीडितलाई सहयोग गरेको उपाध्यक्ष वासु सापकोटाले जानकारी दिए।
लन्डन ब्रोम्ली बरोमा पर्ने अर्पिङटन क्षेत्रमा बस्ने नेपालीहरुलाई एकबद्ध गर्दै सन् २०१८ मा सोसाइटी स्थापना भएको थियो । सोसाइटीले दशैंतिहार, तीज लगायतका नेपाली पर्व र अवसरहरुमा विविध सांस्कृतिक कार्यक्रम, देउसीभैलो आयोजना गर्दै आएको छ।
त्यस्तै, संस्थाले कयौं समयमा च्यारिटीमूलक कामहरुका साथै विभिन्न शैक्षिक तहमा उत्कृष्ट नतिजा हासिल गर्ने स्थानीय नेपाली बालबालिका तथा किशोरकिशोरीहरुको प्रोत्साहनस्वरुप सम्मान पनि गर्ने गरेको छ।
अर्पिङटनमा हाल करिब ४७ नेपाली परिवारको बसोबास रहेको तथ्यांक सोसाइटीसंग छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



