बिहीबार, २२ अक्टोबर, २०२६
21:20 | ०२:०५

लन्डनका अभियन्ता ह्यारी गुरुङलाई आदर्श तमु अवार्ड

नेपाली लिङ्क अक्टोबर २२, २०२६

लन्डन- साउथ इष्ट लन्डनस्थित नेपाली समुदायका सक्रिय एवम् अगुवा समाजिक अभियन्ता ह्यारी गुरुङ आदर्श तमु अवार्डबाट सम्मानित भएका छन्।

बेलायतकै ठूलो नेपाली संस्था तमुधीं यूकेले शनिबार अल्डरसटमा आयोजना गरेको आजीवन सदस्य रात्रीभोजका अवसरमा गुरुङलाई ‘आदर्श तमु २०२६’ का रुपममा सम्मान गरिएको हो।

तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ र प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीबाट ह्यारी गुरुङ र उनकी पत्नी दीता गुरुङले दोसल्ला, फेटा र प्रमाणपत्रसहित सम्मान ग्रहण गरेका थिए।

आदर्श तमु अवार्डबाट सम्मानित ह्यारी बेलायतको नेपाली समुदायमा चिरपरिचित सक्रिय सामाजिक अभियन्ता हुन् । साउथ इष्ट रिजनल तमुधिं यूकेका पूर्व अध्यक्ष उनले सो संस्थामा सन् २०१० देखि नै विभिन्न महत्वपूर्ण भूमिकामा रहेर निरन्तर योगदान गर्दै आएका छन् ।

हाल साउथ इष्ट लन्डनवासी नेपालीहरुको संस्था रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) र हङकङ नेपाली मञ्च यूके दुवैमा गुरुङ अध्यक्षको जिम्मेवारीमा छन् ।

नेपाली युथ एशोसिएन यूकेका संस्थापक अध्यक्ष ह्यारीले एनआरएनए यूकेमा समेत सल्लाहकार, कार्यसममिति सदस्य, खेलकुद संयोजकजस्ता जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

उनीलगायतका युवाहरुको पहल र संयोजनमा नेप्लिज् राइडर्स क्लब यूकेले लन्डनका नेपाली युवाहरुलाई साइक्लिङमा प्रोत्साहन गर्दै आएको छ भने उनीहरुले बेलायत तथा युरोपसम्म च्यारिटी साइकल यात्रा गरेर नेपालमा परोपकारी कामहरु सञ्चालन गर्दै आएका छन् ।

तेक्वान्दोका फोर्थ डान ब्ल्याक बेल्ट प्रशिक्षक ह्यारी लन्डन गोर्खा तेक्वान्दो क्लबका संस्थापक अध्यक्ष एवम् प्रमुख प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो एशोसिएसन यूकेका संस्थापक महासचिव हुन् ।

स्याङ्जा जिल्लाको अर्जुनचौपारीमा जन्मिएका ह्यारीका पिता पूर्व गोर्खा सैनिक थिए । सन् १९९५ देखि १० वर्ष हङकङमा बिताएका ह्यारी सन् २००५ मा बेलायत आएका हुन् । हाल उनी पत्नी दीता र दुई छोरीका साथ साउथ इष्ट लन्डनमा बस्दै आएका छन् ।

बेलायतको नेपाली समुदायमा ह्यारी सामाजिक सेवामा सधैं अग्रसर, सहयोगी र खुलेर बोल्न सक्ने हक्की स्वभावका अभियन्ताको रुपमा चिनिन्छन्।

तस्बिरहरू: मिलन तमु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू