शुक्रबार, ९ अक्टोबर, २०२६
22:13 | ०२:५८

समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा जापानमा काव्ययात्रा र सम्मान

नेपाली लिङ्क अक्टोबर ९, २०२६


टोकियो, ७ अक्टोबर, २० – समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा टोकियोमा ७ अक्टोबरका दिन सम्मान तथा काव्ययात्रा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जापानमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा विशेष योगदान पुरयाएका पाँच जना स्रष्टा तथा सामाजिक व्यक्तित्वलाई ‘समकालीन काव्ययात्रा सम्मान’ द्वारा सम्मानित गरिएको थियो ।

समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंले प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली, म्यामराज राई र पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ललाई सम्मान गरे।

उक्त कार्यक्रममा डा. कुमार बस्नेतले जापानको सुरुवातकालको साहित्यिक गतिविधिका बारेमा जानकारी दिँदै एनआरएनको साहित्यिक गतिविधिबारे बोलेका थिए ।

जापानबाट प्रकाशन हुने पहिलो छापा पत्रिका ‘नेपाली समाचार’ का प्रधानसम्पादक तिलक मल्लले जापानमा तीन लाखभन्दा बढि नेपाली रहेकाले नेपाली भाषा, साहित्य तथा संस्कृति जोगाउन र नयाँ पुस्तामा हस्तान्तरणका लागि अझ बढी सक्रिय हुनेपर्ने बताए ।

साहित्यकार दिनेशराज ज्ञवालीले जापानमा भएका संस्थाहरु एक भएर विभिन्न साहित्यिक गतिविधि गरिरहनु पर्ने बताए।

साहित्यकार प्रकाश पौडेल ‘माइला’ ले समकालीन साहित्य प्रतिष्ठानको कार्यको सह्रना गर्दै जापानका साहित्यकारहरुको एकता र सक्रियताको चर्चा गरे । कवि विष्णु घिमिरेले एनआरएन र जापानको साहित्यिक संस्थाको कार्यबारे जानकारी दिए ।

समाजसेवी शरदकुमार गौचनले नब्बेको दशकदेखिको जापानको नेपाली समाजको गतिविधिबारे जानकारी दिँदै आफूले विभिन्न देशका म्याराथनमा भाग लिएको अनुभव सुनाए ।

कवयित्री गृष्मा पौडेलले आफ्नो लेखन र जापानको साहित्यिक सक्रियताका बारेमा चर्चा गरिन् ।


उक्त कार्यक्रममा टोकियोमा रहेका कवि प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली, म्यामराज राई, मनोज ‘मौसम’ के सी, दीप पाठक, रविन शर्मा, डा. कुमार बस्नेत, सविना रेग्मी, दीपा घिमिरे, गृष्मा पौडेल, विष्णु घिमिरे, सोम खनाल र एल्बेइताले आआफ्ना कविता, हाइकु र गजल वाचन गरेका थिए ।

कार्यक्रममा समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंले प्रतिष्ठानका गतिविधिबारे जानकारी दिँदै जापानमा आयोजित ‘समकालीन काव्ययात्रा’ पाँचौँ श्रृङ्खला रहेको बताए ।

उनले विदेशमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा सक्रिय स्रष्टाहरूको योगदानलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले ‘समकालीन काव्ययात्रा सम्मान’ कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रम अन्य देशमा पनि आयोजना गरिने जानकारी दिए ।

अनेसास जापान च्याप्टरको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा दीपा घिमिरेले स्वागत र मनोज ‘मौसम’ केसीले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू