शनिबार, मंसिर १३, २०७७
16:18 | २२:०३

वायु प्रदुषण उच्च भएका क्षेत्रमा ‘कोभिड १९’ मृत्युदर पनि उच्च

रामहरि पौड्याल अप्रिल १६, २०२०

लेखक रामहरि पौड्याल ।

विश्वका ८० प्रतिशत मानिस उर्जाको लागि जीवाष्म ईन्धनहरूमा निर्भर रहेको पाइन्छ । कार्बन उत्सर्जन पूर्वानुमान प्रायः विश्वव्यापी आर्थिक वृद्धिको अनुमानमा आधारित हुन्छ। गत महिना, ओस्लोमा अन्तर्राष्ट्रिय मौसम अनुसन्धान केन्द्रका अनुसन्धान निर्देशक ग्लेन पीटर्सले यो वर्ष कार्बन उत्सर्जन ०.३ प्रतिशत र १.२ प्रतिशतको बीचमा हुने अनुमान गरेका थिए । यो अध्ययनमा उनले आर्थिक सहयोगका लागि संस्थाको विश्वव्यापी जीडीपी वृद्धिको अनुपात उच्च ‘ओइसीडि’ र न्यून ‘ओइसीडि’ देशहरुबीच तुलना गरे ।

केही दिनपछि, क्यालिफोर्नियाको एक अनुसन्धान केन्द्र, ‘ब्रेकथ्रु इन्सिटच्यूट’ले कार्बन उत्सर्जन ०.२ देखि २.२ प्रतिशतले घट्ने प्रक्षेपण ग‍र्यो, जसले जेपी मोर्गनको वृद्धिको पूर्वानुमानमा यसको गणना गर्दै र दोस्रो आधारमा विश्वव्यापी अर्थतन्त्रको सुधार हुने धारणा राख्यो । ‘हाम्रो अनुमानले संकेत दिन्छ महामारीको मौसमको चाँदीको घेरा एकदमै पातलो छ’, इन्स्टिच्युटका मौसम तथा उर्जा विश्लेषक सीभर वाङ्गले भने ।

प्रदुषणयुक्त धुलोको कण, जसलाई ‘पार्टिकुलेट मेटर’ (पीएम) भनिन्छ । जुन ठोस र हावामा तैरिरहने तरल थोपाको मिश्रण हो । केही कणहरू विशिष्ट स्रोतबाट सीधै बाहिर निस्कन्छन् । जबकि अन्य कणहरू वातावरणमा जटिल रासायनिक प्रतिक्रियाहरूमा विलिन हुन्छन । धुलोको कण विभिन्न आकारका हुन्छन् । १० माइक्रोमीटर व्यासभन्दा कम वा बराबरका कणहरू यति सानो हुन्छन कि ती सजिलै फोक्सोमा जान सक्छन् । जसले सम्भाव्य रूपमा गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउँछन् ।

दश माइक्रोमिटर भनेको एक मानव कपालको चौडाई भन्दा सानो हुन्छ । धुलोका कणहरू (पीएम १०) २.५ देखि १० माइक्रोमिटर व्यासका हुन्छन् । ‘क्रसिंग’ वा ‘ग्राइन्ड’ गर्ने कार्यहरू, कलकारखानाले फाल्ने धुलो, धुवा र सडकहरूमा सवारी साधनहरूद्वारा धुलो फैलिन्छ । फाइन कणहरू २.५ माइक्रोमिटर व्यास वा सानो हुन्छन्, र केवल ‘इलेक्ट्रोन माइक्रोस्कोप’बाट मात्र देख्न सकिन्छ ।

फाइन कणहरू सबै प्रकारका दहनबाट उत्पन्न हुन्छन्, मोटरहरू, पावर प्लान्टहरू, आवासीय काठ जलेर, वन जंगलको आगो, कृषि कार्यमा बाकी रहेका ठुटाहरू जलाउने र केही औद्योगिक प्रक्रियाहरूले गर्दा वातावरणमा फैलिन्छन् । मुटु वा फोक्सोको रोग भएका व्यक्तिहरू, ठूला वयस्कहरू र बच्चाहरू प्रायः वातवरणीय प्रदूषणको जोखिमबाट प्रभावित हुने सम्भावना हुन्छ । जहाँसम्म, तपाईं स्वस्थ हुनुहुन्छ भने पनि, अस्थायी लक्षणहरू देखिन सक्छ यदि प्रदूषण बढी भएको ठाउँमा बसेको खण्डमा ।

असंख्य वैज्ञानिक अध्ययनहरूले प्रदूषण जोखिमलाई विभिन्न स्वास्थ्य मुद्धाहरूमा जोडेका छन् । आँखा, नाक र घाँटीको जलन, खोकी, छातीको संक्रमण र सास फेर्न गार्हो हुने, फोक्सोको कार्य कम हुने, मुटुको धड्कन अनियमित हुने, दम बढ्ने, हृदयघात हुन सक्ने, मुटु र फोक्सो रोगका साथ मानिसमा अकाल मृत्यु समेत हुन सक्छ ।

लन्डनमा आधारित अर्थशास्त्र र व्यवसाय अनुसन्धान केन्द्रको अनुमानअनुसार यस वर्ष विश्वको ‘जीडीपी’ कम्तिमा ४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यो गिरावट वित्तीय संकटको समयमा भएको संकुचन भन्दा दुई गुणा बढी हुनेछ । यो सन् १९३१ पछि ‘जीडीपी’को सबैभन्दा ठूलो वार्षिक गिरावट मानिएको छ ।

वायु प्रदूषणसंगको कोभिड १९ को सम्बन्ध
वायु प्रदूषण धेरै उच्च भएको ठाउँमा ‘कोभिड १९’ को मृत्युदर धेरै पाइएको अध्ययनले पत्ता लगायो भन्ने शीर्षकमा बेलायती पत्रिका द गार्डियनमा डामियन करिङ्ग्टन लेख्छन्, ‘फोहोर हावाले श्वास प्रश्वास सम्बन्धी समस्याहरूको जोखिम बढाउँछ जुन कोरोना भाइरस भएका बिरामीहरूको लागि घातक हुन सक्छ । अध्ययन अनुसार महामारीको अगाडिका वर्षहरूमा वायु प्रदूषणको स्तरमा सानो, एकल एकाई वृद्धि गर्दा मृत्युदरमा १५ ५ वृद्धि भएको थियो । अमेरिकामा गरिएको अनुसन्धानले बताएअनुसार विगतमा म्यानहाटनको हल्का सफा हावाले सयौंको ज्यान बचाउन सक्छ ।’

देशभरि विषाक्त हावाको स्तरमा भएको ठूलो भिन्नतालाई ध्यानमा राख्दै अनुसन्धानले सफा ठाउँमा बस्ने भन्दा प्रदूषित क्षेत्रहरूमा बस्नेहरू कोरोनाभाइरसबाट मर्ने बढी सम्भावना देखाएको छ । वैज्ञानिकहरूले भने फोहोर हावाले तीव्र श्वासप्रश्वासको जोखिम बढाउँछ जुन अत्यधिक घातक छ । ‘कोभिड १९’ सम्बन्धी मृत्युको कारण भाइरसको संक्रमण साथसाथै अन्य श्वासप्रश्वास र मुटुको समस्या पनि हो । इटालीका वैज्ञानिकहरूले छुट्टै रिपोर्टमा देशको उत्तरमा देखिने उच्च मृत्युदर वायु प्रदूषणको उच्च स्तरसँग सम्बन्धित रहेको टिप्पणी गरे ।

वैज्ञानिकहरूले आफ्नो खोजबाट उच्च स्तरको वायु प्रदूषण भएको क्षेत्रले भाइरसको फैलावटलाई कम गर्न र थप प्रकोपको सामना गर्न, स्रोत परिचालन गर्न थप सावधानी अपनाउँदछ भन्ने कुरा सुनिश्चित गर्नमा प्रयोग गर्न सकिने बताए । वायु प्रदूषण पहिले नै व्यापक लकडाउन (बन्दाबन्दी) का कारण खस्किएको छ, तर वैज्ञानिकहरूले भनेका छन् कि भविष्यमा सफा हावा सुनिश्चित गर्नुले ‘कोभिड १९’ को मृत्युलाई कम गर्न मद्दत पुर्‍याउँछ।

बोस्टनको ‘हवार्ड टीएच चान स्कूल अफ पब्लिक हेल्थ’ का अनुसन्धानकर्ताहरूले अमेरिकाका ३ हजार काउन्टी (क्षेत्र) मा अप्रिल ४ सम्मको वायु प्रदूषण र कोभिड १९ को मृत्युको विश्लेषण गरी गरेको अध्ययनमा ९८ प्रतिशत मानिसको सहभागिता थियो । उनीहरुले पीएम २.५ कणहरूमा १ माइक्रो ग्राम प्रति घनमिटरको मात्र वृद्धि ‘कोभिड १९’ मृत्युदरमा १५ प्रतिशत वृद्धिसँग सम्बन्धित रहेको निश्कर्ष निकाले । १५-२० वर्षमा कण प्रदूषणको जोखिममा थोरै वृद्धि हुनु पहिले नै सबै कारणहरूबाट मृत्युको जोखिम बढाउने थाहा थियो, तर नयाँ अनुसन्धानले यो वृद्धि ‘कोभिड १९’ ले हुने मृत्युको २० गुणा बढी बढी हुने देखाउँदछ ।

अनुसन्धानका परिणामहरू संख्याका रूपमा महत्वपूर्ण र सशक्त छन् । अध्ययनले गरीबीको स्तर, धूम्रपान, मोटाई, र ‘कोभिड १९’ परीक्षण र अस्पताल बेडहरूको उपलब्धता सहितको धेरै कारकहरूको डाटा लिएका थिए । उनीहरूले धेरै केसहरू भएको न्यूयोर्क शहर र १० भन्दा कम केसहरु भएका साना काउन्टीहरु दुवैलाई विश्लेषणबाट हटाएर त्यसको प्रभावको पनि मुल्याङ्कन गरेका थिए ।

‘अघिल्लो अनुसन्धानले देखायो २००३ को वायु प्रदुषणको प्रकोपको बेला सार्सबाट मृत्युको जोखिम नाटकीय रूपमा बढायो’, हवार्डको टोलीमध्ये एक रेचेल नेदर्टीले भने, ‘यसैले हामी सोच्छौं यहाँ हाम्रो नतीजाहरू ती खोजहरूसँग अनुरूप छन्।’

अनुसन्धान टोलीका सदस्य जिओ वूले भनेका छन्, ‘यो सूचनाले जनसंख्यालाई उच्च प्रदूषणको जोखिमसहित थप सावधानी अपनाउन र ‘कोभिड १९’ बाट खराब नतिजाहरूको जोखिम कम गर्न थप स्रोतहरू छुट्याउन प्रोत्साहित गरेर तयार गर्न मद्दत गर्दछ। यो सम्भावना छ कि ‘कोभिड १९’ लामो समयसम्म हाम्रो जीवनको एक हिस्सा हुनेछ, भ्याक्सिन वा उपचारको लागि हाम्रो आशाको बाबजुद। यसको प्रकाशमा हामीले कोभिड १९ को मृत्यु हुने संख्या घटाउन प्रदूषणको जोखिमबाट आफूलाई जोगाउन थप उपायहरू विचार गर्नुपर्छ ।’

अनुसन्धानदाताहरुको नतिजाले विद्यमान वायु प्रदूषणसम्बन्धी नियम कानुनहरूको नियमन गर्ने आवश्यकताअनुसार संशोधन गर्नुपर्ने बताए । त्यस्तो असफलताले सम्भाव्य रूपमा ‘कोभिड १९’ ले मर्नेहरूको संख्या बढाउन सक्छ । तिनीहरूले उल्लेख गरे कि अमेरिकी पर्यावरण संरक्षण एजेन्सीले २६ मार्चमा वातावरणीय कानूनहरूको कार्यान्वयन स्थगित गर्यो।

लन्डनको क्वीन मेरी युनिभर्सिटीका प्रोफेसर जोनाथन ग्रिग्सले भने “यो अध्ययन विधिगत रुपमा राम्रो र प्रशंसनीय थियो, तर यसको केही सीमितता पनि छन् । उदाहरणका लागि धूम्रपान जस्ता महत्वपूर्ण तत्वहरु व्यक्तिगत स्तरमा नापेका थिएनन्।“ यो अध्ययनमा उल्लेख भए अनुसार उत्तरी इटाली युरोपको सबैभन्दा प्रदूषित क्षेत्रहरूमध्ये एक हो र उत्तरी लोम्बार्डी र इमिलिया रोमाग्ना क्षेत्रहरूमा मार्च २१ सम्म मृत्युदर १२ ५ रिपोर्ट गरिएको छ भने बाँकी इटालीको ४ .५ प्रतिशतको तुलनामा तीन गुणा बढी देखिन्छ ।

“स्पष्ट छ, हामीलाई तुरुन्तै अझ बढी अध्ययनको आवश्यकता छ, किनकी स्थानीय तवरबाट पैदा गरिएको वायु प्रदूषण लकडाउन सकिएपछि फेरि बढ्नेछ,“ उनले भने । जबकि लकडाउनले वायु प्रदूषण नाटकीय ढंगले खस्केको छ, २०१२ मा प्रकाशित व्यापक विश्वव्यापी समीक्षाले पत्ता लगायो कि लामो अवधिमा वायु प्रदूषणले मानवको प्रत्येक अंग र वस्तुतः हरेक कोषलाई हानी पुर्‍याइरहेको छ ।

नेपालको सन्दर्भ
‘रियल टाइम एअर क्वालिटी इन्डेक्स’का अनुसार अप्रिल १६ मा बिहानको ९ बजेसम्मको तथ्यांकअनुसार काठमाडौँको ‘एयर क्वालिटी इन्डेक्स’ (पी एम २.५ ) अनुसार १६८ रहेको छ । जुन अस्वस्थ मानिन्छ मानव स्वास्थ्यका लागि । यसरी लकडाउनमा सबारी साधन र मान्छेहरुको आवतजावत नभएको समयमा समेत ९ बजेको यो तथ्यांकले आश्चर्य बनाएको छ । धुलिखेलमा मा ११२, चितवनमा ८० , सिमरामा ५८ , धनकुटामा ८०, लुम्बिनीमा ६८ देखिन्छ भने यो मात्रा दमक, दाङ्ग र नेपालगन्जमा अपेक्षाकृत कम देखिन्छ जहाँ क्रमशः ५१, ६५ र ३४ रहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुदैन तर काठमाडौंमा भने छ गुणाको हाराहारीमा वायु प्रदुषण बढिसकेको छ । तथापि यो लकडाउनले वातावरणमा ठूलो परिवर्तन ल्याएको छ । धुलो धुवाँले छोपिने देशका शहरहरुमा , देशका नदीनालाहरु , खोल्सा कुलेशाहरु संग्लिएका छन् । वनजन्तु, वनस्पतिमा देखिने धुलो पुछिएको छ । आकाश सफा भएको छ । यो लकडाउनको सकारात्मक पाटो हो । धर्तीलाई पनि कहिलेकाहीं श्वास फेर्ने समय मिलेको छ । यो अनुभबबाट हामीले सिक्दै महिनाको १/२ पटक सडकमा सवारी साधनहरुलाई रोक्ने , सहरका भित्रि भागहरुमा गाडी गुड्न नदिने, साइकल लेनको अनिवार्य व्यवस्था गर्ने ।

देशका ९५ प्रतिशत मान्छेहरु सार्वजनिक साधन र पैदल हिंड्ने देशमा ५ प्रतिशत जनताले थोपरेको गाडीको धुलो धुवा अस्तव्यस्त ट्राफिक जामको शिकार ९५ ५ जनता हुँदा पनि उनीहरुको बारेमा यो दुई तिहाईको सरकारले गर्न नसकेको यो विकराल समस्याको समाधान कहिले होला? लकडाउनको यो समयमा समेत देशको धेरै ठाउँमा वनको डढेलो सल्केको समचार आएका छन् । कतै जंगली जनावरहरु मारिएका सुनिएका छन् । यो समय प्रचण्ड गर्मी हुने र वनमा आगो लागेको घटना बढ्ने गर्छन् । संसार कोरोनाको प्रकोपले रोइरहेको बेला नै भएपनि प्रकृति, वन्यजन्तु र अमुल्य वनस्पतिको अनुपम महत्वलाई हृदयंगम गर्न नसक्नु दुर्भाग्यपूर्ण छ । विश्वका यस्ता घटनाहरुको कारण प्रकृतिको विनास र चरम दोहन हो भने सत्यलाई समयमै चिन्नु आवश्यक छ ।

नेपालले समयमै वातावरणीय प्रदुषणको यो दर्दनाक स्थितिलाई सन्तुलन ल्याउन नविकरणीय उर्जाको अनुपातलाई बढाउनै पर्छ । ग्यासलाई बिजुलीले, पेट्रोलियमलाई इलेक्ट्रिकल गाडीहरुले विस्थापित गर्न सके देशको बढ्दो वैदेशिक डेफिसिटको ठुलो खाडललाई कम गर्न सकिन्थ्यो । बढ्दो कार्बन उत्सर्जनमा कमी आए देशका जनताको स्वास्थ्य स्थिति सुदृढ हुन्थ्यो । बिजुलीमा २० अर्ब र पेट्रोलियम मा २ खर्ब , ग्यासमा ३० अर्ब मात्र हामीले विदेशमा खन्याएका छौं । छिमेकीको डर्टी कोइलले बनेको बिजुली हजारौं किमि पार गर्दै ल्याइनु किमार्थ सस्टेनेबल मानिदैन । न त बिजुली बेचेर देश धनी हुन्छ । बिजुलीको खपत बढाउनु र औद्योगिक वस्तु बेच्नु बुद्धिमानी हो । रोग लागेपछि त्यसको उपचारमा हारगुहार गर्नु भन्दा त्यसका सुक्ष्म कारणहरुलाई समयमै चिनेर स्थायी समाधान खोज्नु ठूलो बुद्धिमानी हुनेछ ।

जनस्वास्थ र प्रदुषणसंगै देशका यावत उर्जा जलवायु , वनस्पति र वन्य जन्तुबीचको अन्योन्याश्रित सम्बन्धलाई समयमै चिनेर नीति नियम र विकासका खाकाहरु बनाउनु राम्रो हुन्छ । वायु प्रदुषण नियन्त्रणका लागि तत्कालिन, अल्पकालीन र दीर्घकालीन रणनीति निर्माण गर्नुपर्छ । उद्योगधन्दाबाट सिर्जना हुने प्रदुषण नियन्त्रणका लागि मापदण्ड बनाइ कडाइका साथ लागू गर्नुपर्छ । जनचेतना अभिवृद्धि गर्ने तथा प्रत्येक घरपरिवारले प्रदुषण नियन्त्रणका लागि आफ्नो जिम्मेवारी बोध हुने गरी उनीहरूको संलग्नता अनिवार्य गर्ने व्यवस्था मिलाउनु जरुरी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू