शुक्रबार, वैशाख १४, २०८१
05:31 | १०:१६

न्यूयोर्कमा सुर सुधासंग मन्त्रमुग्ध भए अमेरिकी दर्शक पनि

नेपाली लिङ्क नोभेम्बर २४, २०२२


न्यूयोर्क- नेपालको लोकप्रिय सांगीतिक समूह सुर सुधाले आफ्नो सुमधुर संगीतमार्फत न्यूयोर्कवासीलाई मन्त्रमुग्ध पारेको छ ।

न्यूयोर्क उडसाइडस्थित धर्म हाउसमा १२ नोभेम्बर शनिबार आयोजित गाला डिनरसहितको सांगीतिक कार्यक्रममा सुर सुधाले प्रस्तुत गरेको मौलिक गीत संगीतमा नेपालीमात्र होइन्, अमेरिकी पनि रमाए । 

उक्त कार्यक्रममा सुर सुधाका संस्थापक सुरेन्द्र श्रेष्ठ (तबला), रमन महर्जन (बांसुरी), सरस्वती खत्री (गायन) र विकास सुनार (गीतार) ले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । 

आफ्नो प्रस्तुतिका क्रममा सुर सुधाका संस्थापक श्रेष्ठले आयोजकप्रति धन्यवाद दिंदै दर्शकको माया, ताली र प्रशंसा नै आफूहरुको सम्पत्ति रहेको बताए । 

उनले दर्शककै मायाका कारण विगत ३० वर्षदेखि संगीत सृजना गर्ने अवसर प्राप्त भएको पनि उल्लेख गरे । 

उक्त कार्यक्रम बुद्ध ट्याक्स एण्ड अकाउण्टिङ, नमस्ते ग्रुप, रेभल इभेन्ट्स इंक र नवराज केसीको संयुक्त आयोजनामा भएको हो । 

कार्यक्रममा आयोजकका तर्फबाट पशुपति श्रेष्ठले सुर सुधाको सांगीतिक यात्राबारे बताए । त्यस्तै अन्य आयोजकहरु रेभल इभेन्ट्स इंककी इत्ना कार्कीले स्वागत र नवराज केसीले धन्यवाद मन्तव्य दिए । 

नेपाली अमेरिकन आर्टिष्ट एसोसिएसनकी उपाध्यक्ष समेत रहेकी इत्नाले नेपाली कला संस्कृतिलाई विदेशमा समेत जगेर्ना गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको प्रष्ट्याइन् । 

नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले नेपाल कला संस्कृतिको धनी देश भएको स्मरण गर्दै सुर सुधाको संगीत सुन्ने अवसर प्रदान गरेकामा आयोजकलाई धन्यवाद दिएका थिए । 

कार्यक्रममा न्यूयोर्क सिटी डेमोक्रेटिक नोमिनी स्टेभेन रेगासहित सयौं नेपाली तथा अमेरिकी सहभागी थिए । सो अवसरमा हांस्यकलाकार महादेव त्रिपाठीले पनि आफ्नो कलामार्फत दर्शक हंसाएका थिए ।  

सुर सुधा समूह झण्डै तीन महिना लामो सांगीतिक टुरमा यतिखेर विभिन्न राज्यमा आफ्नो प्रस्तुति दिन व्यस्त छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू