बिहीबार, चैत १५, २०८०
18:07 | २३:५२

यूकेमा सेक्युरिटी लाइसेन्स लिन कडाइ, टपअप कोर्स र फर्स्ट एड तालिम अनिवार्य

अप्रिल १ देखि लागू हुँदै नयाँ नियम

नेपाली लिङ्क मार्च ४, २०२१

लन्डन । बेलायतमा सेक्युरिटीको क्षेत्रमा काम गर्ने सेक्युरिटी पर्सनलहरुले लिनुपर्ने तालिम र योग्यतामा परिवर्तन हुने भएको छ । 

सेक्युरिटीमा काम गर्न आवश्यक योग्यताको लागि लिइने तालिम आगामी अप्रिल १ तारिखदेखि परिवर्तन गर्ने घोषणा सेक्युरिटी इन्ड्रस्टी अथोरिटी (एसआइए) ले गरेको छ । 

त्यस्तै, पहिले नै तालिम लिइसकेका र सेक्युरिटी लाइसेन्स नवीकरण गर्नेहरुका लागि पनि ‘टपअप कोर्स’ अनिवार्य गर्ने गरी आउँदो अक्टोबर १ देखि परिवर्तनहरु हुने भएका छन् । 

नयाँ नियमले सेक्युरिटीमा काम गर्ने सबैका लागि प्राथमिक उपचारसम्बन्धि (फर्स्ट एड) तालिमलाई पनि अनिवार्य गराउने भएको छ । तालिम लिनका लागि आवश्यक समय पनि पहिलाभन्दा बढ्ने भएको छ । 

नयाँ तालिम लिन बढी समय लाग्ने 

अप्रिल महिनामा शुरु हुने नयाँ नियमअनुसार सेक्युरिटी क्षेत्रका फरक फरक योग्यताका लागि फरक फरक अवधिको तालिम आवश्यक हुनेछ । जुन अवधि सेल्फ स्टडी (स्वअध्ययन) सहित र बिना स्वअध्ययन पनि फरक पर्नेछ । 

सेल्फ स्टडीसहित ‘सेक्युरिटी अफिसर’ को लागि ४ दिनमा ३० घण्टा, ‘डोर सुपरभाइजर’ का लागि ६ दिनमा ४४ घण्टा, ‘क्यास भेइकल इन ट्रान्जिट’ का लागि ४ दिनमा २४ घण्टा, ‘पब्लिक स्पेस सर्भेइलेन्स’ (सिसिटीभी) का लागि तीन दिनमा २२ घण्टा, ‘भेइकल मोबिलाइजेसन’ का लागि ४ दिनमा २९ घण्टा र ‘क्लोज प्रोटेक्सन’का लागि १२ दिनमा १ सय ४० घन्टाको तालिम आवश्यक पर्नेछ । 

सेल्फ स्टडीबिना भने ‘सेक्युरिटी अफिसर’ लाई ५ दिनमा ३८ घण्टा, ‘डोर सुपरभाइजर’ का लागि ७ दिनमा ५२ घण्टा, ‘क्यास भेइकल इन ट्रान्जिट’ का लागि ४ दिनमा २७ घण्टा, ‘पब्लिक स्पेस सर्भेइलेन्स’ ( सिसिटीभी) का लागि ४ दिनमा तीस घण्टा, ‘भेइकल मोबिलाइजेसन’ का लागि ५दिनमा ७ घण्टा र ‘क्लोज प्रोटेक्सन’ का लागि १२ दिनमा १ सय ४० घन्टा लामो तालिम चाहिनेछ ।

अहिलेसम्म लागू नियमको तुलनामा नयाँ नियमअनुसार सेक्युरिटी तालिमका लागि लाग्ने समयको अवधि पनि बढ्ने भएको छ । उदाहरणको लागि धेरै नेपालीहरुले लिने ‘डोर सुपरभाइजर’ तालिमलाई यसअघि ४ दिनमा ३२ घण्टा लाग्नेमा आउँदो अप्रिलदेखि ६ दिनमा ४४ घण्टा लाग्ने भएको छ । 

प्राथमिक उपचार तालिम अनिवार्य

आउँदो अप्रिल १ तारिखदेखि बेलायतमा सेक्युरिटीमा काम गर्न आवश्यक योग्यताको लागि लिइने तालिम परिवर्तन हुँदैछ । जसअनुसार सेक्युरिटी तालिम लिनुअघि प्राथमिक उपचारसम्बन्धि (फर्स्ट एड) तालिम ‘इमर्जेन्सी फस्र्ट एड एट वर्क ट्रेनिङ’ अनिवार्य हुनेछ । 

तालिम शुरु हुने बेलामा प्राथमिक उपचारसम्बन्धि तालिम प्राप्त गरेको प्रमाणपत्रको म्याद कम्तीमा एक वर्षलाई भ्यालिड रहेको हुनुपर्नेछ । सेक्युरिटी तालिम लिने नयाँ प्रशिक्षार्थीहरुसंग पहिले नै प्राथमिक उपचार तालिम लिएको सर्टिफिकेट हातमा हुनुपर्नेछ । 

त्यस्तै, अक्टोबर १ देखि सेक्युरिटी लाइसेन्स नविकरण गर्नेहरुले पनि प्राथमिक उपचार तालिम अनिवार्य रुपमा लिएको हनुपर्नेछ । 

नवीकरण गर्दा टप अप कोर्स अनिवार्य

सेक्युरिटी लाइसेन्स नवीकरणका लागि पनि आउँदो अक्टोबर १ देखि टप अप कोर्स अनिवार्य हुने भएको छ । 

‘डोर सुपरभाइजर’ र ‘सेक्युरिटी गार्ड’ लाइसेन्सको नवीकरणका लागि आवेदन दिनुअघि टप अप गरिसकेको हुनुपर्नेछ । टप अप कोर्स र प्राथमिक उपचार तालिम पूरा गरेको प्रमाणपत्र पेश गरेर मात्र लाइसेन्स नविकरण गराउन सकिनेछ । 

अहिलेको नियममा नभएका यी दुवै मापदण्ड नयाँ नियममा थप गरिएको हो   

नयाँ नियमअनुसार अप्रिलदेखि शुरु भएका नयाँ सेक्युरिटी तालिमहरुमध्ये कुनै एक लिएको वा पुरानो तालिम लिएर टप अप तालिम गरेको हुनुपर्ने भनिएको छ । 

टप अप कोर्सका लागि डोर सुरपरभाइजरको लागि २ दिनको तालिम आवश्यक पर्नेछ भने सेक्युरिटी गार्डको लागि डेढ दिन लाग्नेछ । दुवै टप अप कोर्स लिनुअघि प्राथमिक उपचारसम्बन्धि तालिम भने पूरा गरिसकेको हुनुपर्नेछ । प्राथमिक उपचार तालिम १ दिनमै लिन सकिन्छ । 

सेक्युरिटी गार्डको टप अप कोर्सपछि एउटा जाँचमार्फत प्रशिक्षार्थीको मुल्यांकन गरिनेछ । डोर सुपरभाइजरको हकमा भने डोर सुपरभाइजरसम्बन्धि ज्ञान र फिजिकल इन्टरभेन्सनसम्बन्धि ज्ञानको मुल्यांकनका लागि दुई छुट्टाछुट्टै जाँच लिइनेछ । 

समयमै बुझौं र ढुक्क भएर बसौं  

गोर्खा सेक्युरिटी सर्भिसेजका अपरेशन निर्देशक विष्णु तामाङ

बेलायतमा सेक्युरिटी क्षेत्रमा काम गर्ने नेपालीको संख्या ठूलो छ । बेलायती सेनाबाट अवकाश लिने अधिकांश गोर्खाहरु मात्र होइन, उल्लेख्य संख्याका सिभिलियन नेपालीले पनि यही पेशालाई आफ्नो रोजीरोटी बनाएका छन् । 

तसर्थ सेक्युरिटी कामसम्बन्धि तालिम र योग्यतमा ल्याउन लागेको नयाँ नियमले यस क्षेत्रमा कार्यरत धेरै नेपाली पनि प्रभावित हुने भएका छन् । 

बेलायतमा सेक्युरिटी सर्भिस प्रदान गर्दै आएको गोर्खा सेक्युरिटी सर्भिसेजका अपरेशन निर्देशक विष्णु तामाङ नयाँ नियमका बारेमा बेलैमा जानकारी लिन र अपडेट हुन सुझाव दिन्छन् । 

‘नयाँ नियम घोषणा भइसक्यो । अबको एक महिनाभन्दा अगाडि नै कार्यान्वयन हुंदैछ । त्यसैले के के परिवर्तन हुंदैछ, आफ्नो योग्यता र कामलाई कस्तो असर गर्दैछ भनेर समयमै बुझ्न आवश्यक छ’, तामाङ भन्छन्, ‘नयाँ नियमअनुसार आफ्नो योग्यतालाई पनि अपडेट गर्दै लैजानको लागि कुनै ढिलाई गर्नुहुँदैन ।’

विगत १६ वर्षदेखि बेलायतमा सेक्युरिटी पर्सनलहरु उपलब्ध गराउँदै आएको गोर्खा सेक्युरिटी सर्भिसेजले सेक्युरिटी क्षेत्रमा काम गर्न आवश्यक योग्यताका लागि तालिमहरु पनि दिंदै आएको छ । बेलायतको फार्नबरोस्थित आफ्नो मुख्य कार्यालयबाट तालिमहरु उपलब्ध गराइरहेको जानकारी दिंदै तामाङले भने, ‘कयौं दाजुभाइ, दिदीबहिनीहरुले यही पेशामा आबद्ध रहेपनि नयाँ नियमहरुबारे अपडेट नलिनुभएको हुन सक्छ । मेरो सल्लाह छ, लास्ट मिनेटसम्म नपर्खिनुहोस् । आफूलाई चाहिने योग्यताका लागि समयमै तालिम लिएर ढुक्क भएर बस्नुहोस् ।’

गोर्खा सेक्युरिटी सर्भिसेजबाट ‘डोर सुपरभाइजर’ र ‘सेक्युरिटी गार्ड’ का साथै टप अप कोर्स र प्राथमिक उपचार तालिम समेत दिइरहेको उनले जानकारी दिए ।  

‘तपाईंलाई कुनै तालिम वा सहयोग आवश्यक छ भने हामीसंग आउनुहोस् । तर्पांलाई आवश्यक पर्ने सबै तालिमहरु गोर्खा सेक्युरिटी सर्भिसेजमा एकमुष्ट रुपमा लिन सक्ने व्यवस्था पनि मिलाएका छौं’, उनले भने । 

नयाँ नियमबारे जानकारी वा आवश्यक तालिमहरुको लागि गोर्खा सेक्युरिटी सर्भिसेजको सम्पर्क: 

टेलिफोन:  012525107070

ईमेल: [email protected]

वेबसाइट: gss4u.co.uk

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू