शुक्रबार, वैशाख ७, २०८१
14:58 | १९:४३

बेलायतमा कार्यरत विदेशी स्वास्थ्यकर्मीलाई ‘एनएचएस शुल्क’ सहुलियत दिइने

नेपाली लिङ्क मे २२, २०२०

लण्डन । बेलायतमा बस्ने आप्रवासीहरुका लागि लिइँदै आएको ‘एनएचएस सरचार्ज’  (स्वास्थ्य सेवा शुल्क) यहाँ कार्यरत आप्रवासी स्वास्थ्यकर्मीका लागि छुट दिइने भएको छ ।

बेलायतको कोभिड १९ महामारीविरुद्धको लडाईंमा आप्रवासी स्वास्थ्यकर्मीहरुले उल्लेखनीय भूमिका खेलिरहेको भन्दै प्रशंसा भइरहेका बेला सरकारले उनीहरुको लागि ल्याएको विशेष सहुलियत सार्वजनिक भएको हो ।

प्रधानमन्त्री बोरिस जोन्सनका एक प्रवक्ताले बेलायतको ‘हेल्थ एण्ड सोसल केयर’ मा कार्यरत सबै आप्रवासीहरुले ‘एनएचएस सरचार्ज’ शीर्षकमा बुझाउँदै आएको शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।

नयाँ व्यवस्थाका लागि आवश्यक प्रक्रिया मिलाउन प्रधानमन्त्री जोन्सनले होम अफिसलाई निर्देशन गरिसकेको ती प्रवक्ताले बताएका छन् ।

यसअघि बेलायतमा बस्ने हरेक गैरयुरोपेली आप्रवासीले यहाँको स्वास्थ्य सेवा लिएबापत अनिवार्य रुपमा वार्षिक ४ सय पाउण्डका दरले ‘एनएचएस सरचार्ज’ बुझाउनुपर्ने व्यवस्था छ । जुन शुल्क आउँदो अक्टोबरदेखि बढाएर ६ सय २४ पाउण्ड बनाउने तयारी छ ।

यो शुल्कमा यहाँको स्वास्थ्य सेवामा कार्यरत आप्रवासीहरुलाई सहुलियत दिने व्यवस्थाका लागि अहिले सम्बन्धित सरकारी निकायले तयारी अघि बढाएको छ । यो सहुलियतबारे बिस्तृत जानकारी निकट भविष्यमा सार्वजनिक गरिने बताइएको छ ।

बीबीसीका अनुसार स्वास्थ्य सेवा शुल्कको सहुलियतबाट यहाँको ‘एनएचएस’ मा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीका साथै इन्डिपेन्डेन्ट स्वास्थ्यकर्मी र सोसल केयरमा कार्यरत आप्रवासीहरु लाभान्वित हुनेछन् ।

स्वास्थ्य सेवामा कार्यरत आप्रवासीहरुलाई विशेष संरक्षण प्रदान गर्न पछिल्लो समय प्रधानमन्त्री बोरिस जोन्सनमाथि आफ्नै दलका सांसद र अन्य राजनीतिक दलबाट समेत दबाब पर्दै आएको थियो । स्वास्थ्यकर्मीहरुको लागि ‘एनएसएस सरचार्ज’ हटाउनका लागि दिइएका सुझाव यसअघि प्रधानमन्त्री जोन्सनले अस्वीकार गर्दै आएका थिए ।

हालै कोरोना भाइरस संक्रमणपछि उपचारका क्रममा आफैले समेत आप्रवासी स्वास्थ्यकर्मीबाट सेवा लिएका प्रधानमन्त्रीले आफ्नो पुरानो अडानमा पुनर्विचार गर्दै यो शुल्क सहुलियत दिने निर्णयमा पुगेको ठानिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू