शुक्रबार, चैत १६, २०८०
00:51 | ०६:३६

लिम्पियाधुरासहित नेपालको नक्सा पारित गर्ने सरकारको निर्णय

रासस मे १८, २०२०

काठमाडौं    सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको छ । सोमबार  बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो । 

बैठकको निर्णय सार्वजनिक गर्दै  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तरराष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको बताए   

नक्सा नेपालको सबै किसिमका प्रशासनिक र सबै प्रबन्धमा प्रयोग गरिने गरी सरकारले अघि बढाएको पनि मन्त्री खतिवडाले जानकारी दिए   

नयाँ नक्सामा अन्तरराष्ट्रिय सिमानाहरुमा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको उनको भनाइ छ । यो नक्सामा संघीयता अनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । अरु अन्तरराष्ट्रिय सीमा यथावत रहेको पनि उनले बताए ।

अब यो नक्साबमोजिम निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्सा, विद्यालयमा पाठ्यपुस्तकहरु सबै सार्वजनिक प्रयोगमा हुने नक्सा नै अद्यावधिक हुने मन्त्री खतिवडाले बताए । सरकारले तोकिएको दिनमा नै बजेट संसद्मा पेश गर्ने गरी तयारी अघि बढिरहेको उनको भनाइ थियो । 

अहिले दैनिक कोरोना जोखिम बढिरहेको अवस्था भएकाले एक महिना वा एक साता पहिले गरिएको आर्थिक क्षेत्रको अनुमान अहिले फरक पर्ने पनि उनले बताए । सरकारले परिस्थितिको नजिकबाट अनुमान गर्दै अबको एक दुई दिनभित्र आगामी वर्षको बजेटको एउटा आकार ल्याउने उनले बताए ।  

भारतले गत नोभेम्बरमा नक्सा सार्वजनिक गरेसँगै नेपालमा सीमाका विषयमा विभिन्न स्तरमा छलफल भएको थियो । भारत सरकारले लिम्पियाधुरा क्षेत्रमा निर्माण भएको सडकको उद्घाटन गरेसँगै नेपालमा लिम्पियाधुरासहितको नक्साका लागि सबै पक्षबाट तीव्ररुपमा माग भएको थियो ।

भारतले नेपालको भूमि अतिक्रमण गरेसँगै सरकारले केही दिन पहिले मात्रै दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा सीमा निगरानी चौकी स्थापना गरेको थियो ।

यसअघि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पेश भएको सरकारको नीति तथा कार्यक्रममा पनि सो विषय उल्लेख थियो । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले समेत यस क्षेत्र समेटेर नक्सा सार्वजनिक गर्न निर्देश गरेको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू