शुक्रबार, वैशाख १४, २०८१
22:31 | ०३:१६

लकडाउनपछि बेलायतका डिजे गायनतिर

नेपाली लिङ्क मे ७, २०२०

सपनकुमार राई,हेम बिष्ट,विशाल तामाङ

लन्डन । बेलायतमा चर्चित एकजना डिजे हेम बिष्टको दिनचर्या अहिले बदलिएको छ । कुनै बेला एकै दिन चारवटासम्म इभेन्ट भ्याउने बिष्ट लकडाउनपछि अहिले घरैबाट गायनतिर लागेका छन् ।

‘यो फूर्सदिलो समय अलिक क्रियटिभ काम गरौं भनेर गीत रेकर्ड गराइरहेको छु’, बुधबार सांझ बिष्टले नेपाली लिंकसंग भने, ‘समस्या सबैतिर छ, चिन्ता भन्दा लकडाउन समय थप रचनात्मक बनाउं भन्ने मेरो सोच हो ।’

उनले भर्खर वर्तमान विषम परिस्थितिसंग मेल खाने गरि पप गीत ‘म हांस्न सिक्दै छु, म बांच्न खोज्दै छु…’ रेकर्ड गराए । अरु केही गीत पाइपलाइनमा छन् ।

विगत तीन दशकदेखि क्रियाशिल साउण्ड इन्जिनियर हेम बिष्टको पेशा पनि यतिखेर संकटमा छ । नेपाली नयां वर्षमा मात्र तय भएका करिब आधा दर्जन इभेन्ट र जुनसम्मका साना ठूला करिब डेढ दर्जन कार्यक्रम रद्द भएका बिष्टले बताए । ‘अब यो वर्षभरि मनोरन्जनात्मक कार्यक्रम हुने छांट देखेको छैन्’, बिष्टले भने, ‘कोरोना भाइरसका कारण विक्षिप्त मनहरु छिट्टै रमाइलो गर्न उद्यत होलान् भन्ने विश्वास कमै छ । अर्को कुरा सरकारले पनि सहज रुपमा पहिलेकै जसरी खुल्ला गर्ला झैं लाग्दैन् ।’

बेलायतमा साना ठूला सामाजिक, सांस्कृतिक, धार्मिक वा च्यारिटी इभेन्ट होस् वा पारिवारिक जमघट । साउण्ड सिस्टम चाहिएका बेला बिष्टको ‘हाइ डिमाण्ड’ थियो । बेलायतमा उनले हजारौं कार्यक्रम गरिसके । ‘कार्यक्रम सफल असफल हुने कुरा साउण्ड सिस्टममा पनि भर पर्छ’, बिष्टले सुनाए, ‘यूट्युबका गीत बजाउने डिजे र वर्षौं यसैमा समर्पित साउण्ड इन्जिनियरहरुमा कयौं अन्तर भएको आयोजकले पनि बुझ्नुपर्छ ।’

बेलायतमा साउण्ड सिस्टममा अर्को चर्चित नाम हो- सपनकुमार राई । सपनका पनि धेरै कार्यक्रम रद्द भए । उनकै शब्दमा तत्काल यो पेशा पूर्ववत अवस्थामा फर्कने सम्भावना न्यून छ । यस क्षेत्रमा लागेको करिब तीन दशकमा सपन अहिलेको विषम परिस्थिति ‘सपना’ जस्तो ठान्छन् । ‘विश्व नै आक्रान्त भएका बेला हामी संयमता अपनाउनुबाहेक अन्य विकल्प रहेन’, राईले भने, ‘अप्ठेरोबीच आफूलाई खुशी राख्नु वुद्धिमता हुने भएकाले जे छ त्यसैमा रमाउन सिक्नुपर्छ ।’

गायक पनि हुन् सपन । लकडाउनको फूर्सदमा उनले हरेक दिन फेसबुक लाइभबाट दर्शकलाई मनोरन्जन दिलाइरहेका छन् । १६ औं श्रृंखलामा भेटिएका सपनले यसलाई केही समय निरन्तरता दिने सोच बनाएको सुनाए । शुरुमा आफ्नी जीवनसंगिनी मन्जु गुरुङ राईसंग फेसबुक लाइभमा झुल्किएका सपनलाई पहिलो कार्यक्रमबाटै ‘वान्स मोर’ आयो । दर्शक आग्रह स्वीकारेर प्रत्येक आइतबार सपनको जोडी लाइभमा दुई तीन घण्टा बिताउन थाल्यो । अहिले सपनले एक्लै लाइभलाई निरन्तरता दिइरहेका छन् । ‘लकडाउनको पट्यारलाग्दो समयमा मेरा फेसबुक साथीहरुलाई मनोरन्जन दिने प्रयास हो’, राईले भने, ‘भारतीय समुदायबाट पनि मलाई डिमाण्ड आउन थालेको छ । मैले जुममार्फत धेरै इण्डियन साथीहरुको ‘बर्थ डे’ अवसरमा पनि गीत गाइदिने गरेको छु ।’

पछिल्लो समय युवामाझ छाइरहेको चांद म्यूजिक वल्डका डिजे विशाल तामाङले पनि जुलाइसम्मका इभेन्ट रद्द गर्नुपरेको सुनाए । व्यवसायिक संकट कहिले पार लाग्ने हो उनी अनुमान गर्न सक्ने अवस्थामा छैनन् । साताको कम्तीमा दुई इभेन्ट गुमाउंदा आर्थिक मार खेपेका छन् विशाल । कोभिड १९ महामारीबाट मुक्ति पाएपछि रमाइलो गर्ने बेला आउने विश्वास उनमा छ । विशालले यस क्षेत्रका आफ्ना अन्य सहकर्मी पनि संकटमा रहेको बताए ।

हरेक कार्यक्रममा गीत संगीत र साउण्ड सिस्टमले महत्व राख्छन् । अहिले बेलायतमा नेपाली संघसंस्था उल्लेख्य रुपमा बढिरहंदा साउण्ड इन्जिनियरहरुको माग पनि बढेको थियो । डिजे पनि यत्रतत्र देखिन थालेका थिए । तर, ‘कोभिड १९’ को ताण्डवले अन्य क्षेत्र तहसनहस भएजस्तै मनोरन्जन क्षेत्र पनि प्रभावित बन्यो र यसको मार खेप्दैछन् डिजेहरु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू