शनिबार, वैशाख ८, २०८१
23:21 | ०४:०६

‘वसुन्धराश्री’ र ‘मानश्री’ पुरस्कार डा गौतम र सरुभक्तलाई

नेपाली लिङ्क अप्रिल १८, २०२०

यस वर्षको ‘वसुन्धराश्री’ र ‘मानश्री’ पुरस्कार क्रमशः वरिष्ठ साहित्यकारहरु डा. ध्रुवचन्द्र गौतम र सरुभक्तलाई प्रदान गरिने भएको छ ।

लण्डन । ‘वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान’ ले हरेक वर्ष प्रदान गर्दै आएका ‘वसुन्धराश्री’ र ‘मानश्री’ पुरस्कार यस वर्ष क्रमशः वरिष्ठ साहित्यकारहरु डा. ध्रुवचन्द्र गौतम र सरुभक्तलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले एक वक्तव्य जारी गर्दै प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शनिबार बसेको विशेष बैठकले गौतम र सरुभक्तलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएका छन् ।

‘उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकहरुको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गरेकोमा वरिष्ठ साहित्यकार डा. गौतमलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको’ प्रतिष्ठानले बताएको छ । पुरस्कारको साथमा नगद ७५ हजार रुपिंयासहित सम्मानपत्र प्रदान गरिनेछ ।

वि.सं. २००१ पुस २ गते वीरगञ्जमा जन्मिएका विशिष्ट साहित्यकार डा. गौतमका ‘अन्त्यपछि’, ‘बालुवामाथि’, ‘डापी’, ‘कट्टेलसरको चोटपटक’, ‘अलिखित’, ‘निमित्त नायक’, ‘एक शहरमा एक कोठा’, ‘स्व. हीरादेवीको खोज’, ‘दुबिधा’, ‘अग्निदत्तंअग्निदत्त’, ‘फूलको आतङ्क’, तथाकथित’,’बाढी’, ‘उपसंहार अर्थात् चौंथो अन्त्य’, ‘मौन’, ‘भीमसेन- ४ को खोजी’ र ‘घुर्मी’ (उपन्यास), ‘आकाश विभाजित छ’, ‘देहमुक्त’, ‘अवतार विघटन र ज्यागा’ (संयुक्त उपन्यास), ‘अँध्यारो द्वीपमा’, ‘संरक्षक’, ‘कथादृष्टि’, ‘गौतमका एकाउन्न कथा’, ‘गौतमका प्रतिनिधि कथा’, ‘जेलिएको’ र ‘साठी वर्षमा हृदयाघात’ (कथासंग्रह) र ‘त्यो एउटा कुरा’, ‘भष्मासुरको नलिहाड’ र ‘श्री कृष्णलीला’ (नाटक) कृतिहरु प्रकाशित भएका छन् ।

त्यस्तै, ‘आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्धारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेकोमा चर्चित साहित्यकार सरुभक्तलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको’ प्रतिष्ठानले बताएको छ । यो पुरस्कारको साथमा नगद ५० हजार रुपियासहित सम्मानपत्र प्रदान हुनेछ ।

वि.सं. २०१२ मंसिर १२ गते पोखरामा जन्मिएका चर्चित साहित्यकार सरुभक्तका ‘बन्द खामभित्र’ र ‘हजार बुद्धहरु’ (मुक्तकसंग्रह) ,’बोक्सीको आह्वान र घोषणापत्र’, ‘कवि, प्रेमी र पागल’, ‘प्रयोगशालाभित्र’ र ‘इथर समय’ (कवितासंग्रह), ‘मनभरि माटोभरि’ (गीतसंग्रह), ‘ज्यानमारा’, ‘कापुरुष’, ‘कुरुप मसिहा’ र ‘झुमा’ (खण्डकाव्य), ‘एक अभिनवको आत्मकथा’, ‘छोरी ब्रह्मण्ड’ र ‘यामागल’ (कथासंग्रह), ‘युद्ध: उही ग्यासच्याम्वरभित्र’, ‘इतिहासभित्रको इतिहास’, ‘शिशिरका अन्तिम दिनहरु’, ‘ईथर’, ‘एसोधम्मो सनन्तनो’, ‘गाउँघरका नाटकहरु’, ‘गाउँको कथा यस्तै हुन्छ है’, ‘बालबालिकाहरुको नाटक’, ‘निमावीय’, ‘असमय अमौसम’, ‘जस्तो दन्त्यकथा’, ‘सिरुमा रानी’ (नाटकसंग्रह) र ‘पागल बस्ती’, ‘समयत्राशदी’, ‘तरुनी खेती’, ‘चुली’, ‘अँध्यारो कोठा’ र ‘प्रतिगन्ध’ (उपन्यास) प्रकाशित छन् ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (वि.सं.२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा (वि.सं. २०६२),वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि श्री मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), वरिष्ठ कवि श्री वैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार अम्वर गुरुङ्ग (वि.सं. २०७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४) वरिष्ठ गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५) र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६) लाई सम्मान गरिएको छ ।

त्यसैगरी, प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार विनय रावल (वि.सं २०५८), नाटककार अशेष मल्ल (वि.सं २०५९), गजलकार ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार मञ्जुल (वि.सं. २०६१), कथाकार मधुवन पौडेल (वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार सनत रेग्मी (वि.सं. २०६६), कवि विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह (वि.सं. २०७१), गायक दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (वि.सं. २०७४), गायक भक्तराज आचार्य (वि.सं. २०७५) र कलाकार हरिवंश अचार्य (२०७६) लाई सम्मान गरेको थियो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी ( दुबसु क्षेत्री) का मातापिताका नाममा स्थापित ‘वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान’ ले विगत २ दशकदेखि हरेक वर्ष यी  पुरस्कारहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू