मंगलबार, वैशाख १८, २०८१
07:12 | ११:५७

फ्रान्सका राष्ट्रपति सङ्क्रमित, यूरोपका अन्य नेताहरु ‘सेल्फ आइसोलेसन’ मा

रासस/एएफपी डिसेम्बर १७, २०२०

फ्रान्सका राष्ट्रपति (दायां) र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज । तस्बिर एएफपी

पेरिस, २ पुस– फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

उनलाई कोरोना सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनीसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि सङ्क्रमित भएको आशङ्कापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहन र परीक्षण गर्न सुझाब दिइएको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा पनि उहाँको नाम थपिएको छ । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई पनि कोरोनाभाइरसले सङ्क्रमित बनाएको थियो ।

राष्ट्रपति म्याक्रोँलाई लक्षणका आधारमा शङ्का लागेपछि परीक्षण गरिएकोमा सङ्क्रमण देखिएको हो । उनी अब कम्तीमा सात दिन “सेल्फ आइसोलेसन”मा बस्ने बताइएको छ ।

फ्रान्समा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि कम्तीमा सात दिन सेल्फ आइसोलेसनमा बस्नु पर्ने नियम छ ।

उनले सङ्क्रमण पुष्टि भएर सेल्फ आइसोलेसनमा बसेपनि आफ्नो कामलाई निरन्तरता दिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

म्याक्रोँ गत हप्ता पेरिसमै आयोजना गरिएको युरोपेली सम्मेलनमा पनि सहभागी भएका थिए । आर्थिक सहकार्य तथा विकासका लागि संगठन (ओइसीडी) द्वारा आयोजित सो सम्मेलनमा सहभागी अन्य नेताहरु पनि सङ्क्रमित भएको आशङ्का गरिएको छ ।

सम्मेलनको अध्यक्षता गरेका युरोपेली परिषद्का अध्यक्ष चार्स मिसेल पनि सङ्क्रमितसँग कार्यक्रममा रहेकोले उनी पनि अन्य व्यक्तिबाट अलग बसेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

त्यसैगरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र एन्टेनियो कोस्टा पनि क्वारेन्टीनमा बसेको उनको कार्यालयका अधिकारीहरुले जनाएका छन् ।

म्याक्रोँसँग सम्पर्कमा भएकै कारणले फ्रान्सकै प्रधानमन्त्री जाँ कास्टेक्स र सभामुख रिचार्ड फरान्ड पनि सेल्फ आइसोलेसनमा छन् । उनीहरूलाई सङ्क्रमणको कुनै लक्षण भने देखिएको छैन् ।

म्याक्रोँकी श्रीमतीलाई समेत कुनै लक्षण नदेखिएपनि सेल्फ आइसोलेसनमा राखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरूलाई सङ्क्रमण भएको थाहा पाएपछि विभिन्न देशका नेताले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फ्रान्समा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ५९ हजार ३०० भन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू