सोमबार, २३ नोभेम्बर, २०२६
10:27 | १६:१२

नेपाल र भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर

नेपाली लिङ्क नोभेम्बर २३, २०२६

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भारत र नेपालबीच अन्तरिक्ष प्रविधि,सुरक्षा तालिम,निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, दिगो सहरी विकास तथा कृषिसहितका विभिन्न क्षेत्रमा आठवटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका नेपाली समकक्षी बालेन्द्र शाहबीच भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि उक्त समझदारीपत्र आदानप्रदान गरिएको हो।

अन्तरिक्ष तथा सञ्चार क्षेत्रमा सहकार्य

अन्तरिक्ष तथा सञ्चार क्षेत्रमा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) सञ्जाल स्थापना गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रहरी तथा फरेन्सिक विज्ञानमा सहकार्य

प्रहरी तथा फरेन्सिक विज्ञानको क्षेत्रमा सहकार्य विस्तार गर्न दुईवटा सम्झौता भएका छन्। गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (एनएफएसयू) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी सम्झौता भएको छ। त्यस्तै,भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच पनि सहकार्यसम्बन्धी सम्झौता भएको छ।

निजामती कर्मचारीको क्षमता अभिवृद्धि

संस्थागत सुशासन सुदृढ बनाउने उद्देश्यले भारतको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गत रहेको सुशासनका लागि राष्ट्रिय केन्द्र (एनसीजीजी) र नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी भएको छ।
यसअन्तर्गत नेपाली निजामती कर्मचारीका लागि क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गरिनेछ।

स्वास्थ्य तथा परम्परागत चिकित्सा क्षेत्रमा सम्झौता

स्वास्थ्य क्षेत्रमा दुई देशबीच दुईवटा सम्झौता भएका छन्। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा औषधिसम्बन्धी क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

त्यस्तै,आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिमा सहकार्य गर्ने विषयमा पनि दुई देशका सरकारबीच सम्झौता भएको छ। यसैगरी,दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य तथा पशुपालन र मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसअघि भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय द्विपक्षीय वार्ताका लागि नेपाली समकक्षी शाहलाई हैदराबाद हाउसमा स्वागत गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू