बेलायतमा अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले लगातार तेस्रो वर्ष जित्यो स्वर्ण पदक


लन्डन- नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा तेस्रो वर्ष पनि स्वर्ण पदक प्राप्त गरेको छ ।
३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।
निकै कठोर मानिने यो अभ्यासमा नेपाली सेनाले सन् २०२४ देखि लगातार तीन वर्ष स्वर्ण पदक जित्न सफल भएको छ ।
उक्त अभ्यास बेलायती सेनाको गस्तीसम्बन्धी प्रमुख अभ्यास मानिन्छ । यसको आयोजना ‘मुख्यालय १६०औँ (वेल्स) ब्रिगेड’ ले गरेको हो ।
टिम म्यानेजर लेफ्टीनेन्ट कर्णेल निश्चल पाठक र पट्रोल कमाण्डर लेफ्टीनेन्ट प्रवीण पाण्डेको नेतृत्वमा नेपाली सेनाको १० सदस्यीय टोली अहिले बेलायतमा छ।
पदक वितरण समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलको पनि उपस्थिति थियो ।
प्रधानसेनापति सिग्देलले विजेता टोलीलाई प्रधानसेनापति पदक प्रदान गरेका थिए ।
साथै गोर्खा १ आरजीआरका २ जना कर्मचारीलाई पनि प्रधानसेनापति पदक प्रदान गरियो।
बेलायती सेना प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल १९ असोजदेखि २५ गतेसम्म बेलायतको औपचारिक भ्रमणमा छन् ।
सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ ।
यस अभ्यासमा नेपाली सेनाले वर्षेनी उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो नाम अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको छ ।
गत वर्ष नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । उक्त अभ्यासमा गत वर्ष कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए ।
अघिल्लो वर्ष २०२४ मा पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त अभ्यासमा कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी थिए ।
यसअघि सन् २०१७ र २०१९ मा समेत नेपाली सेनाले स्वर्ण पदक जितेको थियो ।
यो अभ्यासमा मानसिक र शारीरिक चुनौती सामना गर्नुपर्ने ब्रिटिश आर्मीको भनाइ छ ।
अभ्यासमा सहभागी टोलीको लडाईं तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।
८ चरणमा विभाजित हुने अभ्यासमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पौण्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



