बिहीबार, ८ अक्टोबर, २०२६
14:05 | १८:५०

बेलायतबाट केसीको अवतार डाइनिङमार्फत् बाढी राहतमा ११ लाख ११ हजार १ सय ११

नेपाली लिङ्क अक्टोबर ८, २०२६

लन्डन- बेलायतस्थित सक्रिय युवा सामाजिक अभियन्ता एवम् सफल व्यवसायी सुरेश केसीले नेपालका बाढीपीडितहरुको लागि ११ लाख रुपैया बढीको सहयोग जुटाएका छन्।

बेलायतको लेष्टर, मार्केट हार्बरोस्थित अवतार डाइनिङ सञ्चालक केसीले बाढीपीडित राहतमा ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्न लागिएको जानकारी दिए। सहयोग रकम केही दिनभित्रै लन्डनस्थित नेपाली दूतावासमार्फत् नेपालको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने उनले बताए ।

केसीले बाढीपीडित सहयोगार्थ गत सोमबार अवतार डाइनिङमा एक च्यारिटी डिनर आयोजना गरी संकलन गरेको कोषमा आफ्नो व्यक्तिगत सहयोगसमेत थप गरी नेपाल पठाउन जानकरी दिए।

‘अवतार डाइनिङमा सम्पन्न च्यारिटी डिनरबाट ८ लाख रुपैया बढी (४ हजार पाउण्ड) जुटाउन सफल भएका थियौं । स्थानीय समाजेवीहरु साइमन र सार्लोटको तर्फबाट मात्रै तीन लाख रुपैया बढी (१५ सय पाउण्ड) को सहयोग गर्नुभएको थियो । उक्त रकममा रेष्टुरेन्टका तर्फबाट १ हजार पाउण्ड र स्टाफका तर्फबाट करिब ५ सय पाउण्ड सहयोग थप गरेका छौं’, केसीले भने ।

च्यारिटी डिनरमा स्थानीय बेलायती समुदायका सदस्य तथा रेष्टुरेन्टका ग्राहकहरु गरी १ सय भन्दा बढीको सहभागिता थियो ।

उक्त अवसरमा सञ्चालक केसीले मातृभूमि नेपालमा बाढीका कारण ठूलो विपद उत्पन्न भएका बेला सक्दो सहयोग जुटाउने कोशिस गरेको बताए । च्यारिटी डिनरका सहभागी, सहयोगदाता, स्वयंसेवक, कर्मचारी तथा शुभेच्छुक सबैलाई उनले आफ्नो र अवतार डाइनिङका तर्फबाट धन्यवाद ज्ञापन गरे ।

सोही अवसरमा बेलायतस्थित दि मोनफोर्ट विश्वविद्यालयका प्राध्यापक तथा समाजसेवी डा मिलन ज्ञवालीले नेपालमा बाढीबाट भएको क्षति तथा राहत र पुनस्र्थापना लागि सहयोगको आवश्यकताबारे जानकारी गराएका थिए।

गुल्मी स्थायी घर भएका केसी सन् २००२ देखि बेलायत बस्दै आएका छन् । उनले बेलायतको लेष्टर मार्केट हार्बरोमा सन् २०१५ मा स्थापना गरेका थिए अवतार डाइनिङ । रेष्टुरेन्टको अर्को शाखा लटरवर्थमा सञ्चालन हुंदै आएको छ ।

अवतार डाइनिङ र सञ्चालक केसी यसअघि पनि थुप्रै च्यारिटी तथा सामाजिक अभियानहरुमा संलग्न रहंदै आएका छन् । गत वर्ष मात्रै केसीकै संयोजनमा सम्पन्न गुल्मी जिल्ला समाज यूकेको अपांगता दिवस च्यारिटीमा करिब ११ हजार पाउण्ड जुटाइएको थियो ।

व्यक्तिगत स्तरबाट समेत नियमित सामाजिक तथा मानवीय सहयोग गर्दै आएका केसीले अवतार डाइनिङमार्फत् ‘लिंक्स टु नेपाल’, ‘न्यू फयुचर अफ नेपाल’ जस्ता कैयौं च्यारिटी संस्थाका लागि च्यारिटी डिनरलगायतका कार्यक्रम गरी कोष जुटाइदिएका छन् ।

गुल्मी जिल्ला समाज यूके, साझा नेपाली समाज यूके, एनआरएनए यूकेलगायतका बेलायतका अगुवा सामाजिक संस्थाहरुमा केसीले विभिन्न नेतृत्वदायी भूमिका समेत निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू