बेलायतका नेपाली पण्डितले निकाले दशैँ तिहार साइत


लन्डन– नेपाली पण्डित सङ्घ, यूकेले बेलायतमा बसोबास गर्ने नेपालीका लागि २०८३ सालको बडादशैँ, तिहार तथा दीपावलीका प्रमुख पर्वहरूको शुभ मुहूर्त एवं साइत सार्वजनिक गरेको छ।
सङ्घका अध्यक्ष पण्डित चिरञ्जीवी ढकालको अध्यक्षतामा गत २८ सेप्टेम्बरमा बसेको कार्यसमिति बैठकको निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष ज्योतिष पण्डित निलहरि घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय मुहूर्त निर्धारण उपसमितिले बेलायत र नेपालका विद्वान् ज्योतिषाचार्यहरूसँगको परामर्श, शास्त्रीय मान्यता, तिथि गणना र स्थानीय समयलाई आधार मानेर यी मुहूर्तहरू तय गरेको हो।
मुहूर्त निर्धारण उपसमितिले घटस्थापनाको लागि ११ अक्टोबर २०२६ (आइतबार) प्रातः कालीन शुभ मुहूर्त बिहान १०ः१५ मिनेटमा तथा सायंकालीन समय बेलुका ७ः१५ बजे निधारण गरेको छ ।
त्यस्तै फूलपाती १७ अक्टोबर शनिबारका दिन प्रातःकालीन शुभ समय बिहान १०ः०५ बजे र सायंकालीन समय बेलुका ७ः३१ बजे र महानवमी मंगलबार २० अक्टोबरमा शुभ मुहूर्त बिहान १०ः११ बजे रहेको जनाएको छ ।
यसै गरी मुहूर्त निर्धारण उपसमितिले विजया दशमी तथा टीका ग्रहणका लागि २१ अक्टोबर बुधबार विशेष टीकाको शुभ मुहूर्त बिहान ८ः४५ बजे रहेको र टीका ग्रहण गर्दा पश्चिमतर्फ फर्केर बस्ने सुझाव दिएको छ ।
मुहूर्त निर्धारण उपसमितिले लक्ष्मी पूजाका लागि ८ नोभेम्बर आइतबार सायमकाल रहेको जनाएको छ भने ११ नोभेम्बर बुधबार भाइटीकाका रहेको जनाएको छ उपसमितिले भाई टिकाको लागि विशेष शुभ मुहूर्त भने बिहान १०ः४५ बजे उपयुक्त रहेको र टीका ग्रहण गर्दा पश्चिमतर्फ फर्केर बस्न सुझाव दिएको छ ।

टीका ग्रहण गर्न शुभ साइत पर्खिनु नपर्ने
निर्धारित समय अनिवार्य नभई विशेष शुभ साइतमा टीका ग्रहण गर्न चाहनेहरूका लागि प्राथमिकता दिन सकिने सङ्घले स्पष्ट पारेको छ । पारिवारिक अनुकूलता र परिस्थितिअनुसार विजया दशमीको दिन वा दशमीदेखि पूर्णिमासम्म पनि टीका, जमरा तथा मान्यजनको आशीर्वाद ग्रहण गर्न सकिन संघले जानाएको छ ।
स्थानअनुसार पञ्चाङ्गीय गणनामा भिन्नता आउन सक्ने भएकाले नेपालको समयलाई जस्ताको तस्तै प्रयोग नगरी बेलायतको स्थानीय समयलाई आधार मान्न आग्रह गर्दै संघले बेलायतवासी नेपालीहरूले आफ्ना धार्मिक पर्वहरू वैदिक मर्यादा र पारिवारिक परम्पराअनुसार सहजतापूर्वक सम्पन्न गर्नसकून भन्ने उद्देश्यले यो जानकारी सार्वजनिक गरिएको सङ्घका अध्यक्ष पण्डित चिरञ्जीवी ढकाल र महासचिव पण्डित शेखर शाण्डिल्य काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सङ्घले सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँ, दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ।।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


