सोमबार, ५ अक्टोबर, २०२६
00:17 | ०५:०२

तमु समाज यूकेले लन्डनमा मनायो स्थापनाको गौरवपूर्ण १९ औं वार्षिकोत्सव

नेपाली लिङ्क अक्टोबर ४, २०२६

लन्डन । तमु समाज यूकेले स्थापनाको १९ औं वार्षिकोत्सव एक भव्य कार्यक्रमबीच मनाएको छ ।

२०औँ वर्षमा प्रवेश गरेको अवसरमा ३ अक्टोबर शनिबार लन्डन वेम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा वार्षिकोत्सव मनाइएको हो ।

समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ (घले) को अध्यक्षता तथा समाजका ज्येष्ठ नागरिक प्रेमबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सदस्य, अतिथि तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा रोयल बरो अफ ग्रीनवीचका पूर्व मेयर तथा काउन्सिलर जीत रानाभाट, सोही बरोकी काउन्सिलर गौमाया गुरुङ रानाभाट, बार्नेटका काउन्सिलर कमल गुरुङ, स्वीन्डनका काउन्सिलर ज्ञानप्रसाद गुरुङ, गोर्खा जिल्ला कोने, घोण्डे, घोताने तमु समाज यूकेका अध्यक्ष टक बहादुर गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष तथा धादिङ–नुवाकोट समाज यूकेका निवर्तमान अध्यक्ष धनबहादुर तामाङ, एभरेस्ट टाइम्स्का सम्पादक डा. दुत पुन (चिम्खोले काइँला) तथा नेपाली लिंकका प्रधान सम्पादक नवीन पोखरेल, सम्पादक ध्रुवराज अर्याल लगायतको विशेष सहभागिता थियो ।

समारोहमा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्षहरू शिवशरण गुरुङ, अर्जुन कुमार गुरुङ, शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ तथा निवर्तमान अध्यक्ष उमादेवी गुरुङ, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ, सल्लाहकार तथा बेलायतका विभिन्न स्थानबाट आएका सदस्यहरू पनि सहभागी थिए ।

अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, प्रमुख अतिथि प्रेम बहादुर गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए ।

महासचिव सुब घलेले सञ्चालन गरेको कार्यक्रममा सुरक्षासम्बन्धी जानकारी दिइनुका साथै आसनग्रहण गराइएको थियो। त्यसपछि वरिष्ठ उपाध्यक्ष भीम बहादुर गुरुङले स्वागत मन्तव्य दिए । महासचिव घलेले संस्थाको स्थापना, ऐतिहासिक पृष्ठभूमि र हालसम्मका उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गरे ।

शुभकामना मन्तव्यका क्रममा पूर्व अध्यक्ष शिवशरण गुरुङले १९ वर्षअघि रोपिएको सानो बिरुवा आज भाषा, संस्कृति र साझा पहिचानको संरक्षण गर्ने विशाल वृक्ष बनेको बताए । प्रवासमा रहे पनि आफ्नो माटो र संस्कारप्रतिको आत्मीयता कायम रहेको उल्लेख गर्दै उनले अग्रजहरूले बसालेको जगमा संस्थाको यात्रालाई अघि बढाउने जिम्मेवारी युवा पुस्ताको रहेको धारणा व्यक्त गरे ।

समाजद्वारा प्रदान गरिएको सम्मानलाई योगदानप्रतिको कृतज्ञता र प्रेमको प्रतीकका रूपमा व्याख्या गर्दै उनले एकता, संस्कार र आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि सबैलाई मिलेर अघि बढ्न आह्वान गरे ।

संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले भाषा, संस्कार र संस्कृति संरक्षण, सदस्यहरूको सुख–दुःखमा साथ दिने तथा नेपाल र अन्तर्राष्ट्रिय स्तरमा मानवीय सहयोग पुर्‍याउने कार्यमा संस्थाले खेलेको भूमिकाको चर्चा गरे । उनले युवा पुस्तालाई संस्थाको नेतृत्व र सांस्कृतिक निरन्तरताको जिम्मेवारी लिन आग्रह गरे ।

काउन्सिलर जीत रानाभाटले समाजको आतिथ्य, समाजसेवा, युवा प्रोत्साहन तथा स्थानीय सरकारसँगको सहकार्यको प्रशंसा गरे । काउन्सिलर गौमाया गुरुङ रानाभाटले अध्यक्ष बिन्दु गुरुङको नेतृत्वको सराहना गर्दै महिलाहरूलाई समाजसेवा र स्थानीय नेतृत्वमा अघि बढ्न तथा परिवारलाई उनीहरूको सहभागितामा साथ दिन आग्रह गरिन् ।

काउन्सिलर कमल गुरुङले प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउन संस्थाले पुर्‍याएको योगदानको चर्चा गर्दै सञ्चारमाध्यमलाई समाजका गतिविधिको प्रचारप्रसार गर्न आग्रह गरे । अर्का काउन्सिलर ज्ञानप्रसाद गुरुङले संस्थापक तथा वर्तमान नेतृत्वको योगदान र महिला नेतृत्वको कदर गर्दै आवश्यक सहयोग र सहकार्य गर्न आफू तत्पर रहेको बताए ।

कार्यक्रममा नयाँ आजीवन सदस्यहरू रन बहादुर घले, श्रीमती प्रितिमाया घले, इन्द्र बहादुर गुरुङ, श्रीमती हुम कुमारी गुरुङ र श्रीमती देविसरी गुरुङलाई स्वागत गर्दै प्रमाणपत्र, ब्याज र खादा प्रदान गरिएको थियो।

त्यस्तै, उच्च शिक्षा तथा व्यावसायिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने युवाहरूलाई पनि सम्मान गरियो।

अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले चार्टर्ड इन्जिनियरको व्यावसायिक मान्यता प्राप्त गरेका सिभिल इन्जिनियर दिवस गुरुङ तथा पत्रकारिता र फोटोग्राफीमा स्नातकोत्तर हासिल गरेका निरञ्जन घलेलाई सम्मान गर्दै उज्ज्वल भविष्य र थप सफलताको शुभकामना दिए ।

समाजको सामुदायिक भवनमा नेपालको गाउँघर र मौलिक जनजीवनको झल्को दिने भित्तेचित्र तयार गरी सहयोग पुर्‍याएकी समाजसेवी तथा व्यावसायिक चित्रकार इन्दिरा मोक्तानलाई ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२६ प्रदान गरिएको थियो।

नेपालबाट आएका चर्चित कलाकारहरू शर्मिला गुरुङ, दुर्गा गुरुङ र शर्मिला (सरु) गुरुङलाई कलाक्षेत्रमा पुर्‍याएको योगदानका लागि सोही सम्मान प्रदान गरियो।

यसै अवसरमा कलाकार शर्मिला (सरु) गुरुङले संस्थाका अग्रजहरूलाई नेपाली ढाका टोपी तथा तमु समाज यूकेलाई मायाको चिनो प्रदान गरिन् । उक्त मायाको चिनो अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले संस्थाको तर्फबाट ग्रहण गरेकी थिइन् ।

संस्थाको प्रगति र उन्नतिमा विशेष योगदान पुर्‍याउने आजीवन सदस्यहरू सल्लाहकार क्याप्टेन चन्द्र बहादुर गुरुङ, सल्लाहकार मिठु गुरुङ, आमा समूहकी सचिव रमिला गुरुङ तथा युवा सदस्य निश्चल गुरुङलाई पनि उक्त सम्मानद्वारा अभिनन्दन गरिएको थियो।

नेपाल तथा बेलायतका विभिन्न संघसंस्थामा सक्रिय रही सामाजिक योगदान पुर्‍याएका धनबहादुर तामाङ र पत्रकारितामार्फत समुदायमा योगदान पुर्‍याएका एभरेस्ट टाइम्सका सम्पादक तथा मगर संघ यूकेका पूर्व अध्यक्ष डा. दुत पुन (चिम्खोले काइँला) लाई पनि ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२६ प्रदान गरिएको थियो।

त्यसैगरी, नवनिर्वाचित काउन्सिलरहरू जीत रानाभाट र गौमाया गुरुङ रानाभाट, काउन्सिलर ज्ञानप्रसाद गुरुङ तथा उनकी धर्मपत्नी, गोर्खा जिल्ला कोने, घोण्डे, घोताने तमु समाज यूकेका अध्यक्ष टक बहादुर गुरुङ तथा उनकी धर्मपत्नीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

सम्मान कार्यक्रमछि समाजले १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको शुभ अवसरमा प्रमुख अतिथिले समाजको लोगो अङ्कित केक काटेका थिए । सहभागीहरूले सामूहिक रूपमा खुसीयाली मनाउनुका साथै स्याम्पेन खोलेर समाजको उत्तरोत्तर प्रगतिको कामनासहित ‘टोस्ट’ गरे ।

प्रमुख अतिथि प्रेम बहादुर गुरुङले समाजलाई आत्मीय परिवारका रूपमा आपसी माया, एकता र सहयोग कायम राख्दै अघि बढ्न शुभकामना दिए । संस्थाको बीसौँ, पचासौँ र सयौँ वार्षिकोत्सव पनि एकसाथ मनाउन पाइयोस् भन्ने कामना गर्दै उनले सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा उपस्थित सबैमा सुस्वास्थ्य, सुख, शान्ति र दीर्घायुको शुभकामना व्यक्त गरे ।

अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले संस्थाको १९ वर्षको यात्रा सामूहिक संघर्ष, समर्पण, एकता र सेवाभावको प्रेरणादायी इतिहास भएको बताइन् । आपसी विश्वास र सहकार्यलाई समाजको प्रमुख शक्ति भन्दै उनले सामाजिक सेवा तथा भाषा, संस्कार र संस्कृति संरक्षणमा योगदान दिने सबैप्रति आभार व्यक्त गरिन् ।

नेपालको रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीका पीडितहरूको राहतका लागि करिब २५ लाख रुपैयाँ जुटाउन सफल भएको उल्लेख गर्दै उनले सम्पूर्ण सहयोगदातालाई धन्यवाद दिइन् ।

रकम सङ्कलनमा विशेष भूमिका निर्वाह गर्ने निवर्तमान महासचिव तथा वर्तमान सल्लाहकार धरमबल गुरुङ, नेपालमा राहत हस्तान्तरणको व्यवस्था मिलाउने काउन्सिलर ज्ञानप्रसाद गुरुङ तथा समाजको प्रतिनिधित्व गर्ने टोलीप्रति अध्यक्षले विशेष आभार व्यक्त गरिन् ।

उक्त टोलीमा आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ, पूर्व प्रथम महिला विष्णुमति गुरुङ, समाजसेवी माया (डोल्मा) गुरुङ, समाजसेवी तथा सामाजिक अभियन्ता चन्द्र बहादुर गुरुङ र वरिष्ठ पत्रकार डण्ड गुरुङ थिए ।

अध्यक्ष घलेले सम्मानित व्यक्तित्वहरूलाई बधाई, नेपालबाट आएका कलाकारहरूलाई स्वागत तथा विभिन्न प्रायोजन र सहयोग गर्ने महानुभाव एवं संस्थाहरूलाई धन्यवाद दिइन् । उनले कार्यक्रमको तयारी, सम्मान, खानपान, हल सजावट, सञ्चालन तथा तस्बिर र भिडियो अभिलेखीकरणमा योगदान दिने कार्यसमिति, सल्लाहकार, आमा समूह, युवा समूह, स्वयंसेवक र सञ्चारकर्मीहरूप्रति पनि आभार प्रकट गरिन् ।

नयाँ सदस्यहरूलाई स्वागत गर्दै घलेले अग्रजहरूको अनुभव र युवा पुस्ताको ऊर्जालाई जोडेर समाजलाई अझ सुदृढ र सेवामुखी बनाउन आग्रह गरिन् । नयाँ पुस्तामा भाषा, संस्कार, संस्कृति र सामुदायिक भावना हस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा संस्थालाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

यस वर्ष संस्थाले पुरुष सदस्यहरूलाई समाजको लोगो अङ्कित टाई तथा सबै सदस्यहरूलाई परिमार्जित नयाँ ब्याज वितरण गरेको थियो।

सांस्कृतिक कार्यक्रममा युवा समूहकी सुबिना घलेको आकर्षक नृत्य, नेपालबाट आएका अतिथि कलाकारहरूको सांगीतिक प्रस्तुति तथा डीजे प्रज्वलमान गुरुङको प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।

साँझ ६ बजे सुरु भएको कार्यक्रम राति १०ः४५ बजेसम्म उत्साहपूर्ण वातावरणमा सञ्चालन भएको थियो ।

-शिवकुमार गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू