बाढीपीडित राहतमा लन्डन पशुपतिनाथ मन्दिरबाट ५० लाख रुपैया बढी सहयोग

लन्डन- लन्डनस्थित पशुपतिनाथ मन्दिरले नेपालका बाढीपीडितका लागि ५० लाख रुपैया बढीको राहत सहयोग गरेको छ ।
विहीबार लन्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रमबीच मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डे, ट्रष्टी संयोजक नरेन्द्र कंडेललगायत पदाधिकारीले सहयोग चेक कार्यवाहक राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरे।
२४ हजार ७ सय ७५ पाउण्ड (करिब ५० लाख ३६ हजार रुपैया) सहयोग रकम दूतावासको खातामा जम्मा गराइसकिएको मन्दिरका कोषाध्यक्ष रामकृष्ण अर्यालले जानकारी दिए।
सहयोग चेक ग्रहण गर्दै कार्यवाहक राजदूत दुवाडीले पशुपतिनाथ मन्दिर लन्डनबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरे।
मन्दिरको सहयोगलाई यथासक्य चांडो लक्षित समुदायसम्म पुर्र्याउन कोशिश गर्ने वचन उनले दिए।
यतिबेला प्रारम्भिक राहतको व्यवस्थापन भइसकेको उल्लेख गर्दै कार्यवाहक राजदूत दुवाडीले अब दिर्घकालिन पुनर्स्थापना र पुननिर्माणको लागि सहायता जरूरी रहेको बताए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले बाढीपीडितका लागि संकलन गरिएको सहयोग रकम वास्तविक पीडितसम्म प्रभावकारी रूपमा पुगोस् भन्ने उद्देश्यले नेपाली दूतावासमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको बताए।
जनैपूर्णिमा, कृष्णाष्टमी, तीजजस्ता विभिन्न कार्यक्रम र भक्तजनबाट प्राप्त भेटी तथा सहयोग रकम संकलन गरी कोष जुटाएको जानकारी दिँदै उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण भक्तजन, दाता, ट्रस्टी, आजीवन सदस्य, कार्यसमिति तथा मन्दिर परिवारप्रति धन्यवाद ज्ञापन गरे।
चेक हस्तान्तरणका क्रममा मन्दिरका ट्रष्टी संयोजक नरेन्द्र कंडेलले देशलाई विपद परेको बेला सक्दो मद्धत गर्नु सबैको कर्तव्य ठानेर मन्दिरले राहत सहयोग जुटाएको बताए। युरोपकै पहिलो नेपाली मन्दिर रहेको लन्डन पशुपतिनाथले विगतमा गरेका उल्लेखनीय कार्यहरुबारे उनले जानकारी गराए।
पण्डित निलहरि घिमिरेले मन्दिरका धार्मिक गतिविधिहरु र दूतावाससंगको सहकार्यबारे मन्तव्य दिए।
उपाध्यक्ष एवं तीज कार्यक्रम संयोजक तारा भट्टराईले बाढीपीडित राहत संकलनका लागि मन्दिरले चलाएको अभियानबारे जानकारी गराइन्। राहत अभियानमा आर्थिक संकलनको संयोजन सचिव भोजराज कँडेलले गरेका थिए।

सो अवसरमा मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्षहरु दासुराम पाण्डे र गोपाल अर्याल, ट्रष्टीहरु कर्ण शाही, विनोद ज्ञवाली, सुरज केसी, संरक्षक कल्पना त्रिपाठी, व्यवस्थापन समिति उपाध्यक्ष एवं तीज कार्यक्रम संयोजक तारा भट्टराई, कोषाध्यक्ष रामकृष्ण अर्याल, सहसचिव गुनाखर गौतम, कार्यसमिति सदस्यहरु मञ्जु गौतम, सिआरके खरेल, दिलिप अधिकारी, सदस्य उदय लम्साललगायतको पनि उपस्थिति थियो।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


