एभरेस्ट इन ग्रुपद्वारा बाढी प्रभावित परिवारका लागि ४१ लाख ५० हजार बढी सहयोग


लन्डन। बेलायतस्थित एभरेस्ट इन ग्रुपले गत २६ अगस्टमा नेपालको उत्तरी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि २० हजार पाउन्ड (रू. ४१ लाख ५० हजारभन्दा बढी) सहयोग रकम हस्तान्तरण गरेको छ।
ग्रुपले आफ्ना हाइथ, आशफोर्ड र ब्ल्याकहीथस्थित रेस्टुरेन्टहरूमा च्यारिटी डिनर आयोजना गरी उक्त रकम जुटाएको हो।
“यस मानवीय कार्यका लागि हाम्रा कर्मचारी तथा कम्पनीले पनि थप रकम योगदान गरेका छन्,” ग्रुपका निर्देशक यादव भण्डारीले भने।
ग्रुपले नेरु. ४१ लाख ५० हजारभन्दा बढी रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिसकेको छ।
हाल नेपालमै रहेका एभरेस्ट इन ग्रुपका अध्यक्ष पशुपति भण्डारीले अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायलाई बैंकमा रकम जम्मा गरिएको भौचरको प्रतिलिपि हस्तान्तरण गरे। उनले नेपालको दुखसुखमा प्रवासी नेपालीहरु सधैँ नेपाल र नेपालीसंगै रहेको बताए।

यसैगरी, बुधबार लन्डनमा आयोजित एक कार्यक्रममा एभरेस्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीलाई रकम हस्तान्तरण गरिएको भौचर बुझाए।
उक्त अवसरमा नेपाल भ्रमणमा रहेकी सांसद् विदुषी राणाको पनि उपस्थिति रहेको थियो। कार्यवाहक राजदूत दुवाडीले संकटको यो घडीमा नेपाल र नेपालीप्रति देखाएको उदार सहयोगका लागि भण्डारी तथा सम्पूर्ण एभरेस्ट इन परिवारलाई धन्यवाद व्यक्त गरे।
“यस परोपकारी कार्यमा सहभागी हुनुहुने, दान गर्नुहुने, सहयोग पुर्याउनुहुने तथा नेपाल र नेपालीलाई सधैँ माया गर्नुहुने नेपालका मित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। यहाँहरूको दया र उदारता हाम्रा लागि अत्यन्तै मूल्यवान् छ,” निर्देशक भण्डारीले भने।
एभरेस्ट इन ग्रुपले यसअघि सन् २०१५ को महाभूकम्प तथा कोभिड–१९ महामारीका समयमा पनि यस्तै सहयोग प्रदान गर्दै आएको थियो।
साथै, ग्रुपले लन्डनका स्थानीय परोपकारी संस्थाहरूलाई पनि निरन्तर सहयोग गर्दै आएको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


