शान्ति नेपाली समाज बेलायतमा नयाँ नेतृत्व चयन तयारी, निर्वाचन तालिका सार्वजनिक

लन्डन- शान्ति नेपाली समाज बेलायतको यही अक्टोबर ५ तारिख सोमबार हुने अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ।
समाजले आसन्न आठौँ अधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दैछ।
नयाँ कार्यसमिति निर्वाचनको लागि पूर्व मेयर भीम सारुको संयोजकत्वमा केशव भण्डारी सदस्यसचिव र विष्णु चालिसे सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन भएको छ।
सोही समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार अक्टोबर १ तारिख बिहान १० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । उम्मेदवारको पहिलो नामावली २ अक्टोबर बिहान १० बजे प्रकाशन गरिने र सोही दिन विधान अनुसार योग्य नभएमा दाबीविरोध र दोस्रो नामावली प्रकाशनको कार्यक्रम तय गरिएको छ।
उम्मेदवारी फिर्ता लिने समय ४ अक्टोबर बिहान १० बजेसम्म तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो १२ बजे प्रकाशन गरिनेछ। ५ अक्टोबरमा निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिति घोषणा गरिने समाजले जनाएको छ।
समाजको विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता एक–एक जना तथा १३ जना कार्यसमिति सदस्य चयन गरिनेछ।
अध्यक्ष पदमा उम्मेदवारी दिन कार्यसमितिमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्नेछ। अन्य पदका लागि समाजको सदस्य भएको कम्तीमा तीन महिना पूरा भएको हुनुपर्ने व्यवस्था छ। उम्मेदवार राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने पनि जनाइएको छ।
समितिले अध्यक्ष पदको लागि ५ सय पाउन्ड, उपाध्यक्ष पदको लागि ४ सय पाउन्ड, महासचिव पदका लागि ३ सय ५० पाउन्ड, सचिव तथा कोषाध्यक्ष पदका लागि ३ सय पाउन्ड, सहकोषाध्यक्ष र प्रवक्ताको लागि २ सया ५० पाउन्ड र कार्यसमिति सदस्यका लागि ८५ पाउन्ड उम्मेदवारी शुल्क तोकेको छ।
उम्मेदवारी दर्ताका लागि तोकिएको फाराम भरी निर्वाचन समितिले उपलब्ध गराएको इमेलमार्फत पठाउनुपर्नेछ। निर्वाचनसम्बन्धी थप जानकारी समाजले आवश्यकताअनुसार सार्वजनिक गर्ने जनाएको छ।
यसैबीच, समाजका अध्यक्ष रामप्रसाद न्यौपानेले सम्पूर्ण सदस्यलाई तोकिएको सदस्यता डेडलाइन सेप्टेम्बर ३० को मध्यरातसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन आग्रह गरेका छन्। नयाँ सदस्यता लिन परिवारको एक मूल सदस्यका लागि १० पाउन्ड र थप प्रत्येक सदस्यका लागि ५ पाउन्ड शुल्क तोकिएको छ।
तोकिएको समयसीमाभित्र सदस्यता नवीकरण नगर्नेले अधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने जनाइएको छ। नयाँ सदस्यता लिनेहरूलाई पनि यसपटकको अधिवेशनमा नयाँ कार्यसमिति चयन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


