सोमबार, २८ सेप्टेम्बर, २०२६
13:09 | १७:५४

गोर्खा मिडियाले मनायो छैटौँ वार्षिकोत्सव, ६ व्यक्तित्व सम्मानित

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२६

लन्डन- बेलायतस्थित गोर्खा मिडिया लिमिटेड यूकेद्वारा सञ्चालित गोर्खामिडियाडटकमले आफ्नो छैटौँ वार्षिकोत्सव विशेष समारोहबीच मनाएको छ। वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ६ जना व्यक्तित्वलाई विशेष सम्मान गरिएको छ।

‘सूचना र सामाजिक सेवा सँगसँगै’ भन्ने उद्देश्यका साथ सञ्चालित गोर्खा मिडियाले आइतबार मिचेटस्थित तमु धीं यूकेको भवनमा वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेने विशेष अतिथिका रूपमा सहभागी थिए।

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य सल्लाहकार एकेन्द्र गुरुङ, सह–सम्पादक प्रकाश गुरुङलगायत अतिथि, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति थियो। प्रमुख अतिथि दुवाडी, विशेष अतिथि सेने, मुख्य सल्लाहकार गुरुङ र प्रबन्ध निर्देशक तमुले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो।

कार्यक्रममा नेपालका बाढीपीडित तथा हालै पाकिस्तानमा हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पुर्जा (एमबीई)को सम्झनामा मौनधारण गरिएको थियो। त्यसपछि गायिकाद्वय प्रिया गुरुङ र निता थापाले राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गरेका थिए।

मुख्य सल्लाहकार एकेन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए भने त्यसपछि गोर्खा मिडियाको स्थापनादेखिको यात्रा र गतिविधि समेटिएको भिडियो प्रस्तुत गरिएको थियो।

वार्षिकोत्सवका अवसरमा विश्वकीर्तिमानी डा. हरि बुढामगर, एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरुङ, स्वास्थ्यकर्मी तथा समाजसेवी मञ्जु गुरुङ राई, अभिनेत्री मिरुना मगर तथा गायिकाद्वय प्रिया गुरुङ र सुनिता थापामगरलाई सम्मान गरिएको थियो।

उनीहरूलाई प्रबन्ध निर्देशक मिलन तमु, प्रमुख अतिथि दुवाडी र मुख्य सल्लाहकार एकेन्द्र गुरुङले दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए। सम्मानित व्यक्तित्वहरूको योगदान समेटिएको छोटो भिडियो बायोग्राफीसमेत प्रस्तुत गरिएको थियो भने सह–सम्पादक प्रकाश गुरुङले प्रशंसापत्र वाचन गरेका थिए।

सम्मानपछि बोल्दै एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी सूर्य गुरुङले गोर्खा मिडियाले बेलायतमा रहेका नेपाली समुदायका गतिविधि, समस्या र आवाजलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको बताए। सूचना प्रवाहसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले गोर्खा मिडियाको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरे।

अन्य सम्मानित व्यक्तित्वहरूले पनि गोर्खा मिडियाबाट सम्मानित हुन पाउनु आफूहरूका लागि गौरवको विषय भएको बताए।

प्रमुख अतिथि एवं कार्यवाहक राजदूत विपिन दुवाडीले छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेकोमा गोर्खा मिडियालाई बधाई तथा शुभकामना दिए। उनले बेलायतमा रहेर सूचना प्रवाह र सामाजिक सेवाका माध्यमबाट नेपाली समुदायमा गोर्खा मिडियाले पुर्‍याएको योगदानको प्रशंसा गरे।

विशेष अतिथि विमला सेनेले पनि गोर्खा मिडियाले नेपाली पत्रकारिताको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरिन्। बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपी र एनआरएनए यूकेका पूर्वअध्यक्ष पुनम गुरुङले पनि शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा गायिका प्रिया गुरुङ र निता थापाले विभिन्न गीत प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए।

समापनमा प्रबन्ध निर्देशक मिलन तमुले कार्यक्रममा उपस्थित अतिथि, पाठक, दर्शक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। पाठक, दर्शक र शुभेच्छुकको माया, विश्वास तथा सहयोगकै कारण गोर्खा मिडिया छैटौँ वर्षसम्म आइपुगेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि तथ्यपूर्ण सूचना प्रवाह र सामाजिक सेवाको अभियानलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सत्य र निष्पक्ष पत्रकारितामार्फत बेलायत तथा डायस्पोरामा रहेका नेपाली समुदायको आवाजलाई प्राथमिकता दिने र सामाजिक सेवालाई समेत सँगसँगै अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू